+
+
Shares

बाटोमै सुत्केरी, घरमै पुगेर आमा र शिशुको स्वास्थ्य परीक्षण

हिमाले सकुशल सुत्केरी गराएर आमा र नवजात शिशु दुवैको ज्यान बचाइन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ साउन ११ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको गौमुल गाउँपालिकामा स्वास्थ्य चौकी जाँदै गर्दा सुत्केरी व्यथा लागेकी २० वर्षीया कमला बुढाले अनमी हिमा नेपालीको सहयोगमा बाटोमै छोरीलाई जन्म दिइन् ।
  • दुर्गम भेगमा यातायातको अभाव र वर्षाका कारण स्वास्थ्य संस्था पुग्न समस्या भएपछि अनमी हिमाले जोखिम मोलेरै बाटोमै पुगी आमा र शिशुको ज्यान बचाएकी हुन् ।
  • बाजुरामा भौगोलिक विकटता र स्वास्थ्य संस्थाको दूरीका कारण हरेक महिना दुईदेखि तीन जना महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमा बच्चा जन्माउनुपर्ने बाध्यता रहेको छ ।

११ साउन, बाजुरा । बाजुरा गौमुल गाउँपालिका–५, कोटकी २० वर्षीया कमला बुढालाई सुत्केरी व्यथा लागेपछि आफन्तले स्टेचरमा राखेर स्वास्थ्य चौकीतर्फ दौडाए ।

लगातारको वर्षा र असहज बाटोका कारण नक्राडा आधारभूत स्वास्थ्य केन्द्र पुग्न अझै ४० मिनेट जति लाग्ने अवस्था थियो । घरबाट हिँडेको करिब आधा घण्टामै कमलालाई व्यथाले च्याप्यो । बोकेर अगाडि लैजान सम्भव भएन ।

आफन्तले कमलालाई स्टेचरमै राखेर स्वास्थ्यकर्मी बोलाउन गए । बिहान ५ः२० बजे नक्राडा आधारभूत स्वास्थ्य केन्द्रकी अनमी हिमा नेपालीलाई खबर गरे । खबर पाउने बित्तिकै हिमा आवश्यक सुत्केरी सामग्री बोकेर घटनास्थल पुगिन् ।

‘म पुग्दा आमाको अवस्था गम्भीर थियो । एकातिर लगातार वर्षा भइरहेको थियो, अर्कातिर अत्यधिक रक्तस्राव हुने जोखिम थियो,’ अनमी हिमाले भनिन्, ‘तर बाटोमै स्टेचरमा राखेर सुरक्षित सुत्केरी गराउन सफल भयौं ।’ कमलाले आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई बाटोमै जन्म दिइन् ।

हिमाले सकुशल सुत्केरी गराएर आमा र नवजात शिशु दुवैको ज्यान बचाइन् । उनीहरूलाई स्वास्थ्य चौकीमा लगेर २४ घण्टासम्म स्वास्थ्य निगरानीमा राखिएको थियो । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य भएपछि घर पठाइएको स्वास्थ्यकर्मीले बताए ।

आमा र शिशुलाई घर पठाएपछि पनि अनमी हिमा नियमित रूपमा उनीहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेकी छिन् । स्वास्थ्य चौकीबाट कोट गाउँ पुग्न एक घण्टा बढी समय लाग्छ । वर्षायाममा बाटो हिलाम्मे हुने, ठाउँ–ठाउँमा पहिरो जाने र खोलानाला बढ्ने भएकाले सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य चौकीसम्म आउन कठिन हुने गरेको छ ।

‘वर्षा कारण सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य संस्थासम्म आउन निकै समस्या हुन्छ । त्यसैले म घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएकी छु,’ हिमाले भनिन् ।

गौमुल गाउँपालिका–५ कोट गाउँ सदरमुकाम मार्तडीबाट निकै टाढा रहेको तथा बझाङ जिल्लाको सीमासँग जोडिएको दुर्गम बस्ती हो । भौगोलिक विकटताका कारण यहाँका नागरिकले आधारभूत स्वास्थ्य सेवासमेत सहज रूपमा पाउन सकिरहेका छैनन् ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर सेवा दिनु केवल जागिरको जिम्मेवारी नभई मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए । उनले स्वास्थ्यकर्मी हिमा नेपालीको कार्यप्रति उच्च सम्मान व्यक्त गरे ।

कमला जस्तै बाजुराका धेरै महिलाले अझै पनि बाटो वा घरमै बच्चा जन्माउन बाध्य हुने गरेका छन् । स्वास्थ्य संस्था टाढा हुनु, दुर्गम भूगोल र यातायातको अभावका कारण यस्तो समस्या निरन्तर रहेको स्वास्थ्यकर्मी दीपक शाह बताउँछन् ।

उनका अनुसार बाजुरामा हरेक महिना दुईदेखि तीन जना आमाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउने गरेका घटना सार्वजनिक हुने गरेका छन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?