News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच भएको एकताले राजपत्रमा सूचना प्रकाशित भएसँगै पूर्ण कानुनी वैधता प्राप्त गरेको छ।
- रास्वपाले विवेकशील साझाका साथै खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालसँग गरेको एकीकरणलाई पनि निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ।
- राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० अनुसार प्रक्रिया पूरा भएपछि आयोगले एकीकरणसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरी दल दर्ता किताबमा अभिलेख राखेको छ।
११ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भएको एकताले झण्डै ८ महिनाअघि मूर्तरुप पाएको छ ।
२०८२ मंसिर १४ गते रास्वपा र तत्कालीन विवेकशील साझा पार्टीको एकता भएको थियो । रास्वपाबाट तत्कालीन कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले
र विवेकशील साझाबाट तत्कालीन सभपति समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले सहमतिमा हस्ताक्षर गरेका थिए । यी दुई दलमा भएको एकताको सहमतिलाई वैधानिकता दिँदै यही साउन ४ गतेको राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।
राजपत्रमा उक्त सूचना प्रकाशनेसँगै एकताले पूर्ण कानुनी वैधता प्राप्त गरेको हो । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालसँग समेत चुनाव अघि रास्वपाले एकता गरेको थियो । उक्त एकतालाई समेत आयोगले राजपत्रमा प्रकाशन गरि वैधता दिएको छ ।
रास्वपा र तत्कालीन विवेकशील साझा पार्टीले एकीकरणका लागि ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहनेगरी विवेकशील साझाले निःशर्त एकता गरेको थियो । त्यसबेला एकता प्रक्रियामा सामेल नभएका विवेकशील साझाका नेता मिलन पाण्डेसमेत अहिले रास्वपामा समाहित भइसकेका छन् ।
अर्कोतिर, हाम्रो पार्टी नेपालको नेतृत्व गरिरहेका सुनार रास्वपामा समाहित हुँदै २०८२ पुस २० गते रास्वपाको केन्द्रीय सदस्य मनोनित भएका थिए । त्यस दिन बालेन्द्र शाह र उनको पक्षका २६ नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति दिँदा सुनारको नामसमेत सूचीमा थियो ।
तर रास्वपासँगको एकताप्रति असन्तुष्ट हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारसहितको समूहले भने यही जेठ १५ गते कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकीकरण गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० मा दलहरु सम्झौता गरी एकीकरण वा गाभिन सक्ने व्यवस्था छ । यही दफाको उपदफा २ मा यसरी सम्झौता भएको मितिले ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलको विधान, केन्द्रीय समितिको निर्णय र २ दलबीच भएको सम्झौताको प्रतिलिपि समेटेर निर्वाचन आयोगमा निवेदन दिनुपर्छ ।
यसबारे आयोगले जाँचबुझ गरेर एकीकरण र गाभिनेसम्बन्धी सम्पूर्ण कार्यविधि तथा शर्त पूरा भएको देखिएमा ४५ दिनभित्र निर्णय लिने र त्यसको प्रमाणपत्र दिने व्यवस्था उपदफा ४ मा उल्लेख छ । उपदफा ८ मा एकीकरण र गाभिएको निर्णयसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने र दफा ५ अनुसार दल दर्तासम्बन्धी विवरण आयोगको दल दर्ता किताबमा अभिलेखको रुपमा राख्ने व्यवस्था छ ।
प्रतिक्रिया 4