+
+
Shares

प्रश्नकर्तालाई रास्वपा सांसदको धम्की- ‘हाल्छु, जाक्दिन्छु अनि थाहा हुन्छ’

समस्या सुन्ने क्रममा सांसद केपी खनालले लम्कीचुहा अस्पताल चलाउनुपर्ने र यसका निम्ति स्थानीय सरकार र प्रदेश सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । प्रदेश सरकारले अस्पताल चलाउन सक्दैन भने संघ सरकारले चलाउने उनको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र अस्पताल व्यवस्थापन समिति सदस्य धिरेन्द्र थापाबीच विवाद भएको छ ।
  • सांसद खनालले सार्वजनिक भिडियोमा 'कल्ले भन्यो प्रमाण छ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ' भन्दै आवेशपूर्ण अभिव्यक्ति दिएको सार्वजनिक भएको छ ।
  • अस्पतालमा सुरक्षा व्यवस्था नभएको र कार्यवातावरण नभएको गुनासो राख्दा सांसद खनालले व्यवस्थापन समिति परिवर्तन गर्ने विषयमा प्रतिप्रश्न गरेका थिए ।

११ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल नागरिकका सुझाव लिन र जिज्ञासा सुन्न निर्वाचन क्षेत्रमा छन् । जस अन्तर्गत स्थानीय नागरिकका समस्या सुन्ने र सुझाव लिने गरिरहेका छन् ।

यसक्रममा उनी कैलालीको लम्कीचुहा अस्पतालको सेवा र यसको समस्याका विषयमा छलफलमा सरिक भएका थिए ।

यो विषयमा छलफल गर्ने गरी कार्यक्रम नै तय भएको थियो । अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाका अनुसार सांसदसँग छलफल गर्ने गरी तय भएको थियो ।

उनले अनलाइनखबरसँग भने, ‘हामीलाई यो विषयमा छलफलमा बोलावट भएको थियो । त्यसक्रममा हामीले हाम्रा समस्या राख्यौं । माननीयले पनि त्यसबारे आफ्नो कुरा राख्नुभएको छ ।’

तर सार्वजनिक भिडियोमा यो विषयमाथिको छलफल सौहार्द भएको देखिँदैन ।

सांसद केपी खनालले औंला ठड्याउँदै ‘कल्ले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ’ भनिरहेका छन् ।

खनाल यसमा रोकिँदैनन् । अगाडि भन्छन्, ‘यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन गर्‍यो ? प्रमाण छ तपाईंसँग ?’

खनालसँग रहेका अरूले पनि प्रमाणबिना बोल्न नहुने सुझाइरहेका हुन्छन् ।

यो विषयमा सांसद खनालसँग बुझ्न खोज्दा उनको फोन सचिवालयका सदस्यले उठाए । सचिवालय सदस्यका अनुसार खनाल बर्दियाको कार्यक्रममा व्यस्त छन् । ‘बेलुकीतिर कुरा गर्नुहोला नि है सर’ भनेर ती सचिवालय सदस्यले फोन राखे ।

प्रश्नकर्ता धिरेन्द्र थापा सम्पर्कमा आए ।

‘म अस्पताल व्यवस्थापन समिति सदस्य हो । गएको चैतदेखि कार्यरत छु,’ थापाले भने, ‘अस्पतालकै विषयमा छलफल गर्न बोलाउनुभएको थियो । त्यहाँ कुरा राख्दा नरमगरम भएको हो ।’

आफूले अस्पतालका लागि आवश्यक शान्ति सुरक्षा समेत नभएको र यस सम्बन्धमा सरकारले सुरक्षा दिनुपर्ने विषय राखेको उनले सुनाए ।

उनी भन्छन्, ‘मैले तपाईंको गृह मन्त्रालय के हेरेर बसेको छ ? भनेर सोधेँ । त्यसछि उहाँ (सांसद केपी खनाल)ले त्यस्तो (सार्वजनिक भएको भिडियोमा भनिएको जाक्दिन्छु आदि अभिव्यक्ति) बोल्नुभएको हो ।’

आफूहरूले पाँच महिना भयो, काम गर्ने वातावरण छैन, सहजीकरण गरिदिनुहोला भनेर विषय राखेको उनले बताए ।

जवाफमा आफूहरूले ‘तपाईंको प्रदेश सरकार छ । स्थानीय सरकार तपाईंहरूको छ । किन नगरेको ?’ भनेर प्रतिप्रश्न पाएको उनले सुनाए ।

थापाका अनुसार यही साउन ९ गते अज्ञात व्यक्तिले आएर अस्पतालमा तालाबन्दी गरेका थिए । यसकारण पनि शान्ति सुरक्षाको विषय उठेको हो ।

तालबन्दीको विषयमा सम्बन्धित निकायका पत्राचार समेत गरिएको उनले बताए ।

यो विषयमा आफूहरूले अन्य जनप्रतिनिधिहरूलाई समेत कुरा राख्दै आएको उनले बताए ।

समस्या सुन्नेक्रममा सांसद खनालले अस्पताल चलाउनुपर्ने र यसका निम्ति स्थानीय सरकार र प्रदेश सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । प्रदेश सरकारले पनि अस्पताल चलाउन सक्दैन भने संघ सरकारले चलाउने उनको भनाइ थियो ।

जवाफमा आफूहरूले अस्पताल जसले चलाए पनि चल्नुपर्यो भनेर राखेको थापाले बताए ।

‘त्यसो भए हाम्रो दल रास्वपा पहिलो दल हो । हामीलाई व्यवस्थापन समितिको अध्यक्ष दिनुस् । हामी चालाउँछौं’ भन्नुभयो’ थापाले भने ।

थापाका अनुसार व्यवस्थापन समितिको कार्यकल तीन वर्षको हुन्छ । गत चैतमा व्यवस्थापन समिति बनेको हो ।

यदि व्यवस्थापन समिति हटाएर नयाँ बनाएर अगाडि बढ्न चाहेको हो भने संघीय सरकारले नयाँ कार्यविधि बनाएर हटाउन सक्ने थापाले बताए ।

‘संघीय सरकारले चाहे व्यवस्थापन समिति आफैँ हेरफेर गर्न सक्छ । मन्त्रिपरिषद्ले निर्णय गरेर फेर्न सक्छ । नयाँ आउन सक्छन्’ उनले भने ।

यस्तै विषयमा छलफल गर्दा भएको संवादको एउटा अंश सार्वजनिक भएको थापाले बताए ।

‘मैले जनताको गुनासो राखेको हो । आवेश आएर बोलिदिनुभयो’ थापा दोहोर्‍याउँछन्, ‘आवेशमा आएर जाक्दिन्छु भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?