News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद केपी खनालले सात दशकदेखि लालपूर्जाको सपना देखाएर राज्यको अर्बौं रुपैयाँ कार्यकर्ता पाल्नमा खर्च गरिएको आरोप लगाएका छन्।
- खनालले सार्वजनिक जग्गा नमासी अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनुपर्ने र ऐलानी जग्गामा बस्नुबीचको भिन्नता बुझ्न राज्यलाई आग्रह गरे।
- उनले २२ वटा आयोगले राज्यको ढुकुटी सिध्याउने बाहेक काम नगरेको उल्लेख गर्दै प्रविधि र माटो बुझ्ने विज्ञ सम्मिलित समिति बनाउन माग गरे।
२५ वैशाख, काठमाडौं । रास्वपा सांसद केपी खनालले सात दशकदेखि लालपूर्जाको सपना देखाएर राज्यको अर्बौं रुपैयाँ कार्यकर्ता पाल्नमा खर्च गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले भन्दै अब त्यस्तो ‘राजनीतिक अखडा’ स्वीकार्य नहुने पनि बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रगति समीक्षाका क्रममा बोल्दै उनले आफू पनि भुइँमान्छेकै छोरा भएको बताए ।
‘मलाई ऐलानी जग्गाको कुरा निकालेर विवादमा ल्याउन खोजियो, तर ती भ्रम छर्नेहरूले बुझेनन् कि म त्यही भुइँमान्छेको छोरो हुँ जसको परिवारले पुस्तौँदेखि माटो सिँच्यो तर स्वामित्व पाएन,’ खनालले भने, ‘म जस्ता लाखौँ युवा आज पनि आफ्नै आँगनमा ‘अनागरिक’ झैं बाँचिरहेका छन् ।’
सार्वजनिक जग्गा नमासी पुस्तौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनुपर्ने उनको भनाइ थियो । सार्वजनिक जग्गा हडप्नु र पुस्तौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा बस्नु बीचको भिन्नता बुझ्न राज्यलाई आग्रह गरे ।
सांसद खनालले पूराना दलहरूले बनाएका २२ वटा आयोगले केवल राज्यको ढुकुटी सिध्याउने बाहेक काम नगरेको उल्लेख गर्दै अब ‘पार्टीको झण्डा’ बोक्ने कार्यकर्ता नभइ होइन, प्रविधि र माटो बुझ्ने विज्ञ सम्मिलित शक्तिशाली समिति बनाउन माग गरे ।
वास्तविक सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबासको अधिकार सुनिश्चित गर्न आग्रह गरे ।
साथै उनले आफू संसदमा कुर्सी ओगट्न मात्र नआएको स्पष्ट पारे ।
‘मैले चुनावमा भनेको थिएँ— म लालपुर्जाको नाममा राजनीति होइन, परिणाम दिन जानेछु । आज म त्यही वाचा पूरा गर्न उभिएको छु । मेरो लागि यो सांसदको लोगोभन्दा ठूलो त्यो ‘रातो पुर्जा’ को कागज हो, जसले मेरो क्षेत्रका र देशभरका दाजुभाइलाई आफ्नै माटोको मालिक बनाउनेछ,’ उनले भने ।
प्रतिक्रिया 4