News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद केपी खनालले ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन्।
- खनालले किसानहरूले मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।
- उनीहरूले कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने र नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गरे।
१ जेठ, काठमाडौं । रास्वपा सांसद केपी खनालले विद्युत् प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार कृषि समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
‘विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर हाम्रो भोक मेटाइरहेका नागरिकहरुले मलको माग गर्दै सिंहदरबार आउनुपर्ने आवश्यकता छ,’ खनालले भने, ‘आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ । तर यसका लागि कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ ।’
कृषि मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नुपर्ने समेत बताउँदै सांसद खनालले इजरायलको उदाहरण दिँदै नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताए ।
‘बालुवा मात्रै भएको इजरायले सुन फलाउनसक्छ भने हामी पहाड, हिमाल र तराई भएको देशका नागरिक हौं हामीले के फलाउन सक्दैनौं ? त्यसकारण यसतर्फ लागौं,’ उनले भने ।
सांसद खनालले नेपाल कृषिप्रधान देश भएको भन्दै मल र बीउका लागि राज्यसँग हात जोड्नुपर्ने अवस्था रहेकोप्रति चिन्ता व्यक्त गरे ।
‘नेपाल कृषिप्रधान देश हो । तर विडम्वना, यही कृषिप्रधान देशका ती भाग्यमानी हातहरू, जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, तिनै हातहरू आज मल र बीउका लागि राज्यसँग भिख मागिरहेका छन्,’ खनालले भने ।
प्रतिक्रिया 4