+

संसद्‍मा सत्तालाई सचेत गराइरहेका निश्कल

आमा बितेपछि एक्लो बुवालाई साथ दिन गाउँ फर्किएका निश्कल राई जिल्लावासीको आवाज बोकेर फेरि काठमाडौं आएका छन्। नेविसंघको राजनीतिपछि प्राध्यापनमा रहेका उनले पार्टीभित्रकै वरीयताको अग्लो पर्खाल मात्रै भत्काएनन्, वामपन्थी गढबाट कांग्रेसको ढोका उघारे। 
पूरा सूची
Shares
निश्कल राई
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै सदनमा मौन धारणको प्रस्ताव गर्नुभयो।
  • सचेतक राईको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उभिएर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दा सत्तारुढ दलका सांसद र सभामुख डीपी अर्याल आफ्नो स्थानमै बसिरहेका थिए।
  • इलाम–१ बाट निर्वाचित ३५ वर्षीय युवा नेता राईले आफ्नो तार्किक प्रस्तुति र संसदीय अभ्यास मार्फत प्रतिपक्षी दलको प्रभावकारी भूमिका निर्वाह गरिरहनुभएको छ।

प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने क्रममा सांसदहरूले बनाएको नियमावलीका आधारमा सभामुखले विवेक प्रयोग गर्नु संसदीय परम्परा हो। तर, गत २६ जेठको प्रतिनिधिसभा बैठकमा एउटा दुर्लभ र अर्थपूर्ण दृश्य देखियो।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुख डीपी अर्यालकै अनुमतिमा बैठकको कार्यसूचीलाई नै चुनौती दिंदै पाँच मिनेट बढी समय लिएर सत्ता पक्षलाई नैतिक संकटमा पारिदिए।

दिउँसो १ बजे शुरु भएको बैठकमा सभामुख अर्यालले सचेतक निश्कललाई बोल्न ३ मिनेटको समय दिएका थिए। आफूले पाएको समयभित्र राईले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति, सभामुख अर्यालकै भूमिका र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको देशभक्तिप्रति गम्भीर प्रश्न उठाए।

आफ्नो भनाइ टुंग्याउँदै उनले मौन धारणको अपिल गरे। ‘प्रजातन्त्र तथा नागरिक स्वतन्त्रताका लागि भएका विभिन्न क्रान्तिका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका शहीदहरू सम्झन चाहन्छौंसमय हेर्दै राईले भने, ‘नेपाली कांग्रेसका सदस्यहरू यस गरिमामय सदनमा पाँच मिनेट उभिएर उहाँहरूको सम्मानमा मौन धारण गर्नेछौं।’

राईको यो घोषणासँगै कांग्रेस सांसदहरूलाई विपक्षी बेन्चतर्फका नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले पनि साथ दिए र आ-आफ्नो स्थानमा उभिए।

राईको यो चलाखीले सभामुख अर्याललाई धर्मसङ्कटमा पार्‍यो। संसद् सचिवालयका कर्मचारीले सभामुखलाई मौन धारणका लागि उभिनबाट रोकेका थिए। तर, सांसदहरूको एउटा ठूलो हिस्साले उभिएर शहीदहरूको सम्झनामा शिर झुकाइरहँदा मन्त्रीहरू, सत्तारुढ रास्वपाका सांसदहरू र सभामुख अर्याल भने कुर्सीमै बसिरहेको दुर्लभ दृश्य संसद्को अभिलेखमा रह्यो।

संसद्‌मा उनको शैली चर्को स्वरभन्दा गहकिलो प्रश्नमा अभिव्यक्त हुन्छ। संसद्को फ्लोरबाटै शहीदप्रति मौनधारणको उद्घोषण गरेर सत्तापक्ष र सभामुखलाई समेत आफ्नो एजेन्डामा डोर्‍याएका उनी शक्तिशाली सरकारलाई लोकतान्त्रिक मूल्य सम्झाइरहेका छन्।

कार्यसूचीमै नभएको विषयतर्फ बैठकलाई मोड्नुको पछाडि प्रधानमन्त्री शाह र सभामुख अर्यालको कार्यशैली मुख्य कारण थियो। १७ जेठमा प्रधानमन्त्री शाहले सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए।

विपक्षीहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै लगातार रुलिङ मागिरहेका थिए। तर, माग सम्बोधन नभएपछि सचेतक राईले यो जुक्ति लगाएका थिए।

यो घटना प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई निश्कलले कसरी नेतृत्व गरिरहेका छन् भन्ने एउटा सानो उदाहरण हो। ३५ वर्षको उमेरमै छोटो संसदीय अवधिमा उनले आफ्नो अभिव्यक्ति शैली, तर्क, समझदारी र अडान मार्फत संसद्भित्र छुट्टै उपस्थिति जनाएका छन्।

करिब दुईतिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको सरकारलाई संसदीय परम्परा, लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाप्रति खबरदारी गर्न उनको उपस्थिति प्रभावकारी देखिएको छ ।

स्ववियु सभापतिको अधुरो सपना र रेडक्रसको यात्रा

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघिसम्म निश्कल इलाम कांग्रेसका जिल्लास्तरीय नेता मात्र थिए। सुदूरपूर्व नेपालको सूर्योदय नगरपालिका–४, श्रीअन्तुमा ७ फागुन २०४७ मा जन्मिएका उनी नेविसंघ पृष्ठभूमिका नेता हुन्।

उनको राजनीतिक सक्रियता डेढ दशकभन्दा लामो छ। २०६५ सालतिर काठमाडौं आएर शंकरदेव क्याम्पसमा भर्ना भएदेखि नै उनी नेविसंघमा सक्रिय भए। स्नातक पढ्दा नेविसंघको सेक्सन कमिटीमा आबद्ध उनलाई सङ्गठनले स्ववियु सदस्यको उम्मेदवार बनायो, तर उनी जम्मा सात मतले पराजित भए।

त्यो पराजयले उनलाई स्ववियु सभापति बन्ने सङ्कल्प दियो। ‘जब सात मतले पराजित भएँ, मेरो विद्यार्थी राजनीतिको औपचारिक यात्रा त्यहीँबाट शुरु भयो’, उनी भन्छन्।

तर, २०७४ सालसम्म पर्खिंदा पनि स्ववियु निर्वाचन नभएपछि उनको त्यो सपना अधुरै रह्यो। ‘चिया खाएर समय बिताउनुभन्दा पढौं भनेर एमबीएस भर्ना भएँ, कोर्स पूरा गरेंउनी भन्छन्, ‘तर स्ववियु निर्वाचन कहिल्यै भएन।’

विद्यार्थी राजनीतिसँगै उनी युवा रेडक्रसमा पनि उत्तिकै सक्रिय थिए। गाउँकै स्कूल पढ्दा रेडक्रसमा आबद्ध उनी शंकरदेव क्याम्पसमा युथ रेडक्रस सर्कलको सभापति बने।

एचआईभी/एड्स विरुद्ध अभियान, सामाजिक जागरण र विपद् व्यवस्थापन जस्ता गतिविधिमा उनी सहभागी भए। रेडक्रसकै माध्यमबाट उनी सन् २०१३ मा दक्षिण कोरिया र सन् २०१४ मा हंगेरी पुगे। कालीकोट पुगेर करिब एक महिना युवा र सचेतना सम्बन्धी गतिविधि सञ्चालन गरे।

सांसदको हैसियतमा आजभोलि राईले उठाउने विषयवस्तु र प्रस्तुत गर्ने शैली रेडक्रसकै अभ्यासबाट सिकेका अनुभव हुन्। ‘विभिन्न वर्कशप, तालिम, पार्टीभित्र हुने छलफल र युवा साथीहरूसँगको संवादले मलाई विषयवस्तु चयन गर्ने चेत दियोउनी भन्छन्, ‘जहाँसम्म नम्र शैलीको कुरा छ, यो त हाम्रो राई–लिम्बू समुदायको परम्परा नै हो।’

प्राध्यापन छाडेर गाउँ फिर्ती

स्ववियु निर्वाचन नहुने निश्चित भएपछि निश्कलले प्राध्यापन पेशा शुरु गरे। २०७४ सालदेखि उनी शंकरदेव क्याम्पसका कक्षाकोठाहरूमा व्यस्त हुन थाले। ‘बिहान साढे ६ देखि साढे ९ बजेसम्म एमबीएसलाई क्लास लिने, दिउँसो बीबीए, बीबीएम र बीबीए फाइनान्स, अनि बेलुका एमबीए पढाउँथें’, उनी भन्छन्।

तर, यो करिअरलाई बिट मार्दै उनी २०७९ सालमा इलाम फर्किए। आमा गुमाउनुपरेपछि गाउँमा बुवा एक्लो हुनु उनका लागि मुख्य कारण बन्यो। ‘बहिनी काठमाडौंमै पढ्दै थिइन्, भाइ देशबाहिर थिएउनी भन्छन्, ‘एक्लो बुवालाई साथ दिन मैले काठमाडौंको करिअर छाडें।’ पारिवारिक कारण बाहेक गाउँमै बसेर केही गर्नुपर्छ भन्ने उनको आफ्नै सोच पनि थियो।

गाउँ फर्किएपछि उनले पार्टी राजनीतिलाई निरन्तरता दिए। १२औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि मात्र रहेका उनी १३औं महाधिवेशनमा इलाम–१ (ख) को सहसचिव र पछि सचिव बने। १४औं महाधिवेशनमा उनी प्रदेश निर्वाचन क्षेत्रीय सभापति निर्वाचित भए।

नेतृत्व परिवर्तन र टिकटको अवसर

नेपालको राजनीतिक कोर्स २३–२४ भदौ २०८२ को ‘जेनजी विद्रोह’ ले पूरै बदलियो। कांग्रेस–एमालेको दुईतिहाइ सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बन्यो।

यसको असर कांग्रेसभित्र पनि पर्‍यो। तत्कालीन सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशन मार्फत विस्थापित गर्दै गगन थापा पार्टी नेतृत्वमा आए। थापाले टिकट वितरणमा परम्परा तोड्दै थुप्रै युवालाई उम्मेदवार बनाए।

यही परिवर्तनको प्रत्यक्ष लाभ निश्कलले पाए। पूर्वराज्यमन्त्रीहरू केशव थापा र बेनुपराज प्रसाईँ, जिल्ला सभापति डम्बर खड्का सहित ९ जनाको नाम इलाम-१ बाट सिफारिस भएको थियो। ती सबै उनीभन्दा ‘सिनियर’ थिए। तर, टिकट निश्कलले पाए। ‘यदि पार्टीमा नेतृत्व परिवर्तन भएको थिएन भने मैले यो अवसर पाउने थिइनँ’, उनी निर्धक्क भन्छन्।

विशेष महाधिवेशनको कित्तामा उभिएका निश्कललाई सभापति थापाले टिकट दिंदै परिणाम ल्याउन भनेका थिए। निश्कलले पनि आत्मविश्वासका साथ सक्छुभनेर जिम्मेवारी लिए।

वाम किल्लामा जित र सचेतकको जिम्मेवारी

वामपन्थीहरूको बलियो पकड रहेको इलाम–१ मा कांग्रेसले २०५६ सालमा (बेनुपराज प्रसाईँ) बाहेक कहिल्यै जितेको थिएन। त्यसमाथि २१ फागुनको चुनावमा नयाँ दलहरूको लहर चलेको थियो, जसले पुराना दलहरूलाई रक्षात्मक बनाएको थियो।

तर, यस्तो प्रतिकूल अवस्थामा पनि निश्कलले चुनाव जिते। श्रम संस्कृति पार्टीका विनोद लिम्बू (१३,६३२ मत) लाई पछि पार्दै उनले १४,५४३ मत ल्याएर ऐतिहासिक जित दर्ता गराए। स्वयं सभापति गगन थापाले समेत चुनाव हारेको त्यो परिस्थितिमा निश्कलको जितले राष्ट्रिय राजनीतिमा उनको चर्चा बढायो।

चुनाव जितेपछि युवाहरूले भरिएको रास्वपा सरकारलाई बलियो प्रश्न राख्न सक्ने नेताका रूपमा निश्कलले आफूलाई अगाडि सारे। पार्टीले पनि उनको परिपक्वता, ज्ञान र तर्कको सम्मान गर्दै प्रमुख प्रतिपक्षी दलको सचेतक जस्तो महत्त्वपूर्ण जिम्मेवारी दियो।

पुराना अनुभवी नेता भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता र आफूलाई सचेतक बनाइएकोमा उनी सन्तुष्ट छन्। ‘पुरानाको अनुभव, ज्ञान र इतिहास सँगसँगै युवाहरूको ऊर्जालाई एकाकार गरेर कांग्रेसलाई अगाडि बढाउने हो’, उनी भन्छन्।

अहिले निश्कलको काँधमा रास्वपाको शक्तिशाली सरकारबाट लोकतन्त्र, संसदीय प्रणाली र संविधान जोगाउने र सरकारलाई जनताप्रति जवाफदेही बनाउने प्रमुख प्रतिपक्षी दायित्व छ।

हामी पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौं। यो सरकारले राम्रो गरोस् भन्ने चाहन्छौंनिश्कल भन्छन्, ‘सरकारले राम्रो गर्‍यो भने हामीलाई पनि राम्रो गर्न दबाब पर्छ, अरू दललाई पनि पर्छ। त्यसले स्वस्थ प्रतिस्पर्धा जन्माउँछ।’

विकृत बन्दै गएको दल र राजनीतिक अभ्यासलाई सच्याउनुपर्ने दायित्व नयाँ पुस्ताको काँधमा आएको उनी ठान्छन्। ‘हामी सरकार र सत्तारुढ दलका प्रतिस्पर्धी हौं, शत्रु होइनौंउनी स्पष्ट पार्छन्, ‘स्वच्छ र प्रतिस्पर्धी राजनीति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।