+

कत्थक नृत्यकी अथक् साधक

नम्रता केसीलाई अरूभन्दा पृथक् बनाउने पहिचान हो- ललितकला क्याम्पसकी उपप्राध्यापक र नेपाली शास्त्रीय नृत्यकी स्थापित ‘डान्सर’ हुन्। लखनऊमा कत्थकको साधना गरेर फर्किएकी उनी नृत्यलाई मनोरञ्जनबाट समाजसँग संवाद गर्ने माध्यममा बदल्ने अभियानमा छिन्। ‘राजेन्द्रलक्ष्मी’ जस्तो ऐतिहासिक पात्रलाई अघि सारेर उनले ड्रान्स ड्रामालाई पनि नेपालमा लोकप्रिय बनाउँदैछिन्।   
पूरा सूची
Shares
नम्रता केसी 
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाल्यकालको रहरलाई जीवनको लक्ष्य बनाएकी नम्रता केसी आज नेपालको कत्थक नृत्य क्षेत्रमा स्थापित कलाकार, प्रशिक्षक र डान्स थिएटर अभियन्ताका रूपमा चिनिएकी छिन्।
  • नर्सिङमा असफल भएपछि नृत्य रोजेकी नम्रताले भारतको लखनऊमा कठोर साधना गरी ‘एस्थेटिक डान्स स्टुडियो’ मार्फत नृत्य, थिएटर र सिर्जनालाई जोड्ने कार्य गर्दै आएकी छिन्।
  • ललितकला क्याम्पसकी उपप्राध्यापक नम्रताले नेपालमा नृत्यलाई शैक्षिक विषयका रूपमा स्थापित गर्दै भविष्यमा नृत्यका लागि छुट्टै स्थायी डान्स थिएटर निर्माण गर्ने सपना बोकेकी छिन्।

बाल्यकालको रहरलाई जीवनको उद्देश्य बनाएकी नम्रता केसी आज कत्थक नृत्यकी स्थापित कलाकार, प्रशिक्षक र डान्स थिएटर अभियन्ता हुन्। द्वन्द्वकालको बाल्यकालदेखि भारतको कठोर साधना, आफ्नै स्टुडियो निर्माणदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको उनको यात्रा नेपाली शास्त्रीय नृत्यको विकाससँग जोडिएको छ।

सर्लाहीको हरिवनमा जन्मिएकी नम्रता परिवारकी जेठी छोरी हुन्। उनको बाल्यकाल नेपालमा माओवादी द्वन्द्व चर्कंदै गएको समयसँग जुध्यो।

चुरे–भावर क्षेत्रको गाउँमा असुरक्षा बढेकाले अभिभावकले उनलाई लामो समय घरमा राख्न सकेनन्।

घरमा सबैसँग लामो समय बस्ने अवसर नै पाइएन। द्वन्द्वको त्रास पनि थियो, राम्रो शिक्षाको खोजी पनि‘, उनी सम्झिन्छिन्। कहिले मामाघर, कहिले फुपूको घर त कहिले काठमाडौंमा बसेर उनले पढाइ अघि बढाइन्।

शिक्षिकाकी छोरी नम्रता पढाइमा सधैं अब्बल थिइन्। कक्षामा दोस्रो वा तेस्रो स्थानमा रहने उनी स्वास्थ्य क्षेत्रमा जाने सपना बोकेकी थिइन्।

एसएलसीपछि काठमाडौं आएकी उनले सरकारी नर्सिङ पढ्न लगातार दुईपटक प्रवेश परीक्षा दिइन्। तर, नाम निस्केन। त्यो असफलताले उनलाई केही समय निराश बनायो। तर आज फर्केर हेर्दा उनी त्यही असफलतालाई आफ्नो जीवनको सबैभन्दा ठूलो मोड मान्छिन्।

यदि नर्सिङमा नाम निस्किएको भए शायद नेपाली कत्थकले मलाई पाउने थिएन‘, उनी भन्छिन्।

नर्सिङको ढोका बन्द, कत्थकको संसार खुला

नर्सिङमा सफल नभएपछि बुबाले अर्को बाटो देखाए- तिमीलाई नाच्न मन पर्छ, पद्मकन्यामा डान्स विषय पनि पढाइ हुन्छ, एकपटक त्यो प्रयास गर।

नम्रतालाई बाल्यकालदेखि नै नृत्यप्रति आकर्षण थियो। तर गाउँको सामाजिक परिवेश, द्वन्द्वको अवस्था र अवसरको अभावले त्यो रुचि औपचारिक रूपमा अघि बढ्न सकेको थिएन। मामाले ल्याइदिएको क्यासेट बजाएर उनी घण्टौं एक्लै अभ्यास गर्थिन्। शायद डान्स त्यतिबेलादेखि नै मभित्र थियो, तर मैले त्यसलाई चिन्न मात्रै बाँकी थियो‘, उनी भन्छिन्।

अन्ततः उनी पद्मकन्या क्याम्पसमा कक्षा ११ मा डान्सलाई मुख्य विषय बनाएर भर्ना भइन्। कलेजको पहिलो वर्षमै उनले औपचारिक रूपमा नृत्य सिकिन्, स्टेजमा उभिइन् र दर्शकको ताली सुनिन्। पहिलो पटक कसैले उनलाई भन्यो- तिमी राम्रो नाच्छ्यौ।

यही एउटा वाक्यले उनको आत्मविश्वास बदलिदियो। कलेज र विभिन्न संस्थाका कार्यक्रममा नियमित प्रस्तुति दिन थालेपछि स्टेज उनको दोस्रो घर बन्दै गयो।

विद्यार्थीदेखि लखनऊको साधिकासम्म

कलेजमा गुरुहरूले उनको क्षमता चिन्न थाले। डान्स सिक्न थालेको करिब एक वर्षमै उनी काठमाडौंको मेरिडियन स्कूलमा नृत्य शिक्षक बनिन्। कक्षा १२ मै पढ्दै गर्दा मासिक आठ हजार रुपैयाँको जागिर पाउनु उनका लागि संसार जिते जस्तै थियो।

तीन वर्ष स्कूलमा नृत्य सिकाउँदा उनले बालमनोविज्ञान बुझ्ने मौका पाइन्। शिक्षणसँगै उनी लोकप्रिय रियालिटी शो छमछमीको दोस्रो संस्करणमा पनि सहभागी भइन्। भोटिङ प्रणालीका कारण उनी अघि बढ्न नसके पनि त्यसले सार्वजनिक रूपमा उभिने आत्मविश्वास दियो।

यही समय डान्स प्रोजेक्टको सिलसिलामा उनको परिचय मण्डला थिएटर र निर्देशक राजन खतिवडासँग भयो। मण्डलाले उनलाई नृत्यलाई केवल मनोरञ्जनका रूपमा होइन, कथा भन्ने माध्यमका रूपमा बुझ्न सिकायो।

मोडर्न इन्डियन स्कूलमा नृत्य प्रशिक्षकका रूपमा काम गर्दा अनुभवी गुरुहरूले उनलाई स्नातक मात्र गरेर हुँदैन, अझै गहिरो अध्ययन गर्नुपर्छभन्ने सुझाव दिए। उनलाई सानैदेखि कत्थकप्रति विशेष आकर्षण थियो। कत्थक त कथै भन्ने कला रहेछ‘, उनी भन्छिन्।

कत्थकको ऐतिहासिक केन्द्र लखनऊ पुगेर गुरुहरूसँग सिक्ने उनको सपना सहज थिएन। छोरीलाई भारतमा एक्लै पठाउन परिवार तयार थिएन। लगभग एक वर्षको सम्झाइबुझाइपछि बुबा सहमत भए।

तर, सङ्घर्ष बल्ल शुरु भयो। शुरुमा रोजेको विश्वविद्यालयको डिग्रीलाई नेपालमा समकक्षता नदिइने जानकारी पाएपछि उनी निराश हुँदै नेपाल फर्किन्। केही महिनापछि अर्को विश्वविद्यालयको जानकारी आयो।

नेपालको पाठ्यक्रम नमिल्दा भर्ना नपाएकी उनले शिक्षकसँग तीन महिनाको समय मागिन्। बिहानदेखि साँझसम्मको कठोर अभ्यास र अनुशासन देखेर प्रभावित शिक्षकहरूले अन्ततः उनलाई लखनऊ विश्वविद्यालयमा भर्ना दिए।

त्यहाँ उनले प्रख्यात गुरु डा. आकांक्षा श्रीवास्तवसँग दुई वर्ष कत्थकको गहिरो साधना गरिन्। भारतीय गुरु–शिष्य परम्परामा उनले केवल नृत्यका चाल मात्र सिकिनन्, पात्रलाई कसरी बुझ्ने र कथालाई शरीर मार्फत कसरी व्यक्त गर्ने भन्ने गहिरो ज्ञान पाइन्।

एस्थेटिक डान्स स्टुडियो’ को जन्म र सङ्घर्ष

भारतबाट फर्किँदा नम्रतासँग प्रमाणपत्र मात्रै थिएन, नेपालमा डान्स थिएटरलाई नयाँ उचाइमा पुर्‍याउने सपना पनि थियो। उनले एक साथीसँग मिलेर ‘एस्थेटिक डान्स स्टुडियो’ स्थापना गरिन्। उद्देश्य थियो नृत्य, थिएटर, सिर्जना र अनुसन्धानलाई जोड्ने एउटा खुला कलाकेन्द्र बनाउने।

सरुभक्तको काव्यमा आधारित ‘ज्यानमाया’ जस्ता डान्स ड्रामा तयार भए। तर, रिहर्सल गर्ने आफ्नै ठाउँ नहुँदा निकै सास्ती भयो। त्यसपछि परिवारको सहयोगमा बानेश्वरमा ठूलो लगानी गरेर स्टुडियो खोलियो। तर, मासिक ६०-६५ हजार भाडा तिर्नुपर्ने, विद्यार्थी कम हुने र व्यवस्थापनको अनुभव नहुँदा ६-७ महिनामै स्टुडियो बन्द गर्ने अवस्था आयो।

त्यही समय उनले रंगकर्मी सोमनाथ खनालसँग विवाह गरिन्। सोमनाथको सल्लाह र मण्डला थिएटरको अभ्यास हल प्रयोग गर्न पाउने व्यवस्थाले एस्थेटिकको यात्रा बचायो।

यसपछि उनीहरूले ‘राजेन्द्रलक्ष्मी’ जस्तो ऐतिहासिक पात्रमा आधारित डान्स ड्रामा तयार पारे। हाउसफुल शो र दर्शकको अपार माया पाएको यो प्रस्तुतिले नेपालमा पनि दर्शक टिकट काटेर डान्स हेर्न आउँछन् भन्ने प्रमाणित गर्‍यो। त्यो हाम्रो लागि आर्थिक हिसाबले मात्र होइन, आत्मविश्वासका हिसाबले पनि ठूलो सफलता थियो‘, नम्रता भन्छिन्।

त्यसपछि ‘मोक्षदा’, ‘जून’ जस्ता डान्स ड्रामा तयार भए भने एस्थेटिकले भारतको राष्ट्रिय स्तरको थिएटर फेस्टिभलमा दुईपटक छनोट हुने अवसर पायो।

लकडाउनको सङ्कट र नयाँ स्टुडियो

२०७६ चैतमा कोरोना महामारीका कारण लकडाउन भयो। वैशाखमा उनले पहिलो सन्तानलाई जन्म दिइन्। स्टुडियो र कार्यक्रम सबै बन्द भए। तर, हार नमानेकी नम्रताले बच्चा जन्मेको दुई–तीन महिनामै अनलाइन कत्थक कक्षा शुरु गरिन्। शिशुलाई काखमा राखेरै कक्षा लिएको त्यो समयले उनलाई आर्थिक र मानसिक रूपमा बलियो बनायो।

आज नम्रता ललितकला क्याम्पसकी उपप्राध्यापक हुन्। नेपालमा नृत्यलाई पूर्ण शैक्षिक विषयका रूपमा अध्ययन-अध्यापन गराउन पाउँदा उनी खुशी छिन्।

अहिले अनामनगरमा एस्थेटिकको आफ्नै नयाँ स्टुडियो छ। जहाँ २५० जति विद्यार्थीले प्रशिक्षण लिइरहेका छन्। अधिकांश प्रशिक्षक एस्थेटिककै पूर्वविद्यार्थी हुन्। जब आफ्नै विद्यार्थी प्रशिक्षक बन्छन्, तब लाग्छ- साधना सही दिशामा रहेछ‘, उनी मुस्कुराउँछिन्।

एस्थेटिकमा ६ वर्षका बालबालिकादेखि ५० वर्ष नाघेका महिला पनि एउटै कक्षामा भेटिन्छन्। कोही बाल्यकालको रहर पूरा गर्न, कोही तनाव बिर्सन त कोही आफ्नो पहिचान खोज्न यहाँ आउँछन्।

म डान्सर हुँ’ भन्न नहिचकिचाओस्

आज नम्रता ललितकला क्याम्पसकी उपप्राध्यापक हुन्। नेपालमा नृत्यलाई पूर्ण शैक्षिक विषयका रूपमा अध्ययन-अध्यापन गराउन पाउँदा उनी खुशी छिन्।

कला पनि विश्वविद्यालयमा गहिरो अध्ययन हुने विषय हो भन्ने सोच विकास हुनु आवश्यक छ‘, उनी भन्छिन्। उनको स्टुडियोमा पनि अहिले कत्थक मात्र नभई लोकनृत्य, थिएटर, योग, संगीत र सैद्धान्तिक अध्ययनलाई पाठ्यक्रममा समेटिएको छ।

अझै पनि समाजमा डान्स सिक, तर पेशा नबनाऊ भन्ने सोच व्याप्त रहेको उनी महसुस गर्छिन्। एउटा समय यस्तो पनि थियो, जब उनी म डान्सर हुँभन्न हिचकिचाउँथिन्। तर आज उनको सबैभन्दा ठूलो अभियान नै कलाकारलाई ‘मनोरञ्जन गर्ने व्यक्ति’ होइन, समाज निर्माणमा योगदान दिने सर्जकका रूपमा सम्मान दिलाउनु हो।

विवाह र सन्तानपछि महिला कलाकारको जीवन सकिन्छ भन्ने भाष्यलाई आफ्नै जीवनले गलत साबित गरिरहेकी उनी ७०-८० वर्षको उमेरसम्म पनि नाचिरहन चाहन्छिन्।

विश्वविद्यालयमा पढाउने र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति दिने नम्रताको एउटा सपना अझै अधुरो छ- नेपालमा डान्सका लागि छुट्टै स्थायी प्रस्तुति स्थल (डान्स थिएटर) बनाउने। जहाँ नियमित रूपमा नृत्यका कार्यक्रम मात्रै होऊन्।

एक दिन हाम्रो आफ्नै डान्स थिएटर पक्कै हुनेछ‘, उनी आशावादी छिन्।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।