+
+
Shares

कृत्रिम अभाव गराएको भन्दै गृहलक्ष्मी ग्यास र डिलरविरुद्ध पोखरा प्रशासनमा उजुरी

पोखरामा ग्यास अभाव भइरहेका बेला उक्त कम्पनीले मनोमानी ढंगले बागलुङ लगायत जिल्लामा ग्यास पठाएको प्रमाण समेत संघले पेस गरेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलपी ग्यास विक्रेता संघ कास्कीले पोखरामा कृत्रिम अभाव सिर्जना गरेको भन्दै गृहलक्ष्मी ग्यास कम्पनी र त्यसको डिलरविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ ।
  • गृहलक्ष्मी ग्यासले सरकारी निर्देशन अवज्ञा गर्दै बागलुङमा ३०० सिलिन्डर धरौटी लिएर ग्यास वितरण गरी बजारमा अभाव बढाएको संघको आरोप छ ।
  • संघले आधिकारिक डिलर नभएका अन्य कम्पनीका सिलिन्डर उठाएर मनोमानी गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।

२५ साउनकाठमाडौं । पोखरा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको भन्दै एलपी ग्यास विक्रेता संघ कास्कीले गृहलक्ष्मी ग्यास कम्पनी प्रालि र त्यसको एक डिलरविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएको छ ।

संघले प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षणपत्र बुझाउँदै कालोबजारी र कृत्रिम अभाव गराउनेमाथि कडा कारबाहीको माग गरेको हो ।

संघ अध्यक्ष नारायणदत्त दाहालद्वारा हस्ताक्षरित निवेदनमा गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनीले आफ्नै नजिकको ‘शुभचेरिस्मा एम्पोरियम प्रालि’ लाई नयाँ डिलर खडा गरी पोखराको वितरण प्रणाली प्रभावित पारेको आरोप लगाइएको छ ।

पोखरामा ग्यास अभाव भइरहेका बेला उक्त कम्पनीले मनोमानी ढंगले बागलुङ लगायत जिल्लामा ग्यास पठाएको प्रमाण समेत संघले पेस गरेको बताएको छ ।

संघका अनुसार साउन १२ गते बागलुङमा बिल नम्बर २२८ मार्फत ग्यासको बिल बिजक जारी गरी बिक्री गरिएको र ‘कनेक्ट आईपीएस’ मार्फत रकम भुक्तानी लिएको सप्रमाण प्रशासनलाई बुझाइएको छ । यसअघि २०८२ भदौ ३ मा पनि संघले यसै विषयमा प्रशासनमा निवेदन दिएको थियो ।

सरकारी निर्देशन अवज्ञा गर्दै सिलिन्डर धरौटी असुली

सरकारले ग्यास अभाव भएको समयमा कुनै पनि उद्योग वा विक्रेतालाई सिलिन्डर धरौटी (डिपोजिट) नराख्न निर्देशन दिएको छ । तर, शुभचेरिस्मा एम्पोरियमले सरकारी निर्देशनको धज्जी उडाउँदै बागलुङमा ३ सय थान सिलिन्डर डिपोजिट गराएर उपभोक्तालाई ग्यास खरिद गर्न बाध्य पारेको र अनुचित नाफा आर्जन गर्ने उद्देश्य राखेको संघको दाबी छ ।

यसरी बाहिरी जिल्लामा ग्यास पठाउँदा कास्की जिल्लामा समानुपातिक वितरण हुन नसकी कृत्रिम अभाव सिर्जना भएको संघले जनाएको छ ।

त्यस्तै गृहलक्ष्मी ग्यास र उक्त डिलरको मिलेमतोमा आधिकारिक डिलर नै नभएका अन्य कम्पनीका सिलिन्डर समेत उठाएर बजारमा अभाव गराएको आरोप पत्रमा लगाइएको छ ।

यो विषय जिल्ला प्रशासन कार्यालयकै मुचुल्कामा समेत प्रस्टरूपमा देखिइसकेको भन्दै संघले गृहलक्ष्मी ग्यास कम्पनी र उक्त डिलरलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

ग्यास विक्रेता संघ कास्कीले यस उजुरीको बोधार्थ नेपाल आयल निगम लिमिटेड (बबरमहल), एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपाललाई समेत पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?