+
+
Shares

४८ वर्षपछि प्रबलीकरण गरियो धनकुटाको सामुदायिक भवन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटा सदरमुकामस्थित ४८ वर्ष पुरानो सामुदायिक भवनको ९७ लाख १४ हजार ५ सय १५ रुपैयाँ खर्चेर पुनर्निर्माण तथा प्रबलीकरण गरिएको छ।
  • सघन सहरी तथा भवन निर्माण आयोजनाको सहयोगमा जीर्ण भवनको संरचना सुधार, रंगरोगन र अपांगमैत्री शौचालय निर्माण गरी पुन: प्रयोगयोग्य बनाइएको छ।
  • २०७८ सालदेखि धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको उक्त भवन अब सभा, सम्मेलन तथा निर्वाचनका काममा सहज रूपमा प्रयोग गरिने भएको छ।

२८ साउन, धनकुटा । धनकुटा सदरमुकामस्थित पुरानो सामुदायिक भवन ४८ वर्षपछि पुनर्निर्माण तथा प्रबलीकरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, धनकुटामार्फत ९७ लाख १४ हजार ५ सय १५ रुपैयाँ खर्चेर भवनको मर्मतसम्भार गरिएको हो ।

२०३५ सालमा तत्कालीन नगर विकास आयोजनाबाट निर्माण भएको भवन लामो समयदेखि जीर्ण अवस्थामा थियो । भित्ता चर्किनुका साथै छानाबाट पानी चुहिने र शौचालय जीर्ण हुँदा भवनमा कार्यक्रम सञ्चालन गर्न समस्या हुँदै आएको थियो ।

कार्यालयका इन्जिनियर राजकुमार मिश्रका अनुसार मर्मतका क्रममा भवनको बाहिरी तथा भित्री संरचना सुधार गरिएको छ । भवनमा रंगरोगन, दुवैतर्फ पर्खाल निर्माण, पुरानो छाना परिवर्तन तथा भुइँमा टायल, मार्बल र ग्रेनाइट लगाइएको छ । जीर्ण शौचालयसमेत सुधार गरिएको छ ।

भवनलाई अपांगमैत्री बनाउन शौचालयको बाहिरी भागमा आवश्यक संरचना निर्माण गरिएको छ । मर्मतपछि भवन सभा, सम्मेलन, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालनका लागि पुन: प्रयोगयोग्य बनेको छ ।

करिब ३ सय जना अट्ने क्षमताको सभाहल रहेको यो भवन धनकुटाको सार्वजनिक गतिविधिको प्रमुख केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ । राजनीतिक दलका सभा तथा सम्मेलन, सांस्कृतिक कार्यक्रम, विवाह तथा सामाजिक समारोहका साथै विभिन्न संघसंस्थाका कार्यक्रम यहाँ सञ्चालन हुँदै आएका छन् ।

निर्वाचनका समयमा पनि भवन प्रयोग हुँदै आएको छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा मतगणना केन्द्रका रूपमा समेत भवन प्रयोग गरिएको छ ।

धनकुटा नगरपालिकाले भवन प्रयोग गरेबापत दैनिक २ हजार रुपैयाँ शुल्क लिँदै आएको छ । नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सिताराम गौतमका अनुसार भवनलाई व्यवस्थित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न प्रयोगकर्ताबाट शुल्क लिने गरिएको हो ।

सुरुमा नगर विकास समितिको स्वामित्वमा रहेको भवन २०७८ सालदेखि धनकुटा नगरपालिकाको स्वामित्वमा आएको हो । स्वामित्व हस्तान्तरणपछि नगरपालिकाको जिम्मेवारीमा रहेको भवनको अहिले प्रबलीकरण तथा मर्मत सम्पन्न गरिएको हो ।

मर्मतपछि भवनको स्वरुप र भौतिक अवस्था सुधारिएको स्थानीय भुपेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार जीर्ण अवस्थामा पुगेको भवन पुन: प्रयोगयोग्य भएपछि स्थानीयस्तरमा हुने सभा, सम्मेलन तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

नियमित मर्मतसम्भार र प्रभावकारी व्यवस्थापन गर्न सके पुरानो सामुदायिक भवन आगामी दिनमा पनि धनकुटाको सार्वजनिक तथा सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा प्रयोग गर्न सकिने नगरपालिकाको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?