News Summary
Generated by OK AI. Editorially reviewed.- राइड–सेयरिङ कम्पनी ई–ड्राइभ नेपालले आफ्नो फ्लिटमा ५० युनिट एमजी विन्डसर विद्युतीय कार थप्न जीओ अटोमोबाइल्ससँग सम्झौता गरेको छ।
- कम्पनीले हाल १६ युनिट एमजी विन्डसर ईभी बुझिसकेको र बाँकी गाडीहरू सम्झौता बमोजिम क्रमशः उपलब्ध गराइने जानकारी दिएको छ।
- आकाश गोल्छाले यस सहकार्यले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रति बढ्दो विश्वासलाई प्रतिविम्बित गर्ने बताएका छन्।
२९ साउन, काठमाडौं । राइड–सेयरिङ कम्पनी ई–ड्राइभ नेपालले आफ्नो फ्लिटमा ५० युनिट ‘एमजी विन्डसर’ ईभी थप्ने भएको छ ।
एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र ई–ड्राइभ नेपालबीच ५० युनिट एमजी विन्डसर कम्युट विद्युतीय कार उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता अन्तर्गत ई–ड्राइभ नेपाललाई १६ युनिट एमजी विन्डसर ईभी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । बाँकी पनि सम्झौता अनुसार उपलब्ध गराइनेछन् ।
कम्पनीका अनुसार यो सम्झौताले नेपालमा व्यावसायिक फ्लिटमा विद्युतीय सवारीसाधन प्रयोग बढ्दै गएको संकेत गर्छ । ई–ड्राइभले एमजी विन्डसरलाई आफ्नो राइड–सेयरिङ सेवामा प्रयोग गर्ने छ ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले ५० युनिट एमजी विन्डसर ईभी खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रतिको बढ्दो विश्वास प्रतिविम्बित गर्ने बताए ।
उनका अनुसार आराम, प्रविधि र दक्षता संयोजनका कारण विन्डसर आधुनिक फ्लिट सञ्चालनका लागि उपयुक्त छ ।
ई–ड्राइभ नेपालका प्रतिनिधिले एमजी विन्डसरलाई फ्लिटमा समावेश गरेपछि प्रयोगकर्तालाई प्रिमियम, किफायती र शून्य उत्सर्जनयुक्त यात्रा सेवा उपलब्ध गराउन सहज हुने बताए । यसले काठमाडौं लगायत सहरी क्षेत्रमा स्वच्छ तथा दिगो यातायात प्रवर्द्धनमा समेत योगदान पुग्ने कम्पनीको दाबी छ ।
एमजी विन्डसर ईभीमा ३८ किलोवाट–घण्टाको ब्याट्री र १०० किलोवाट अधिकतम पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने मोटर छ । कम्पनीका अनुसार यसले एक पटक चार्ज गर्दा ३ सय ३० किलोमिटर भन्दा बढी रेन्ज दिन्छ ।
गाडीमा १३५ डिग्रीसम्म रिक्लाइन गर्न सकिने एरो–लाउन्ज सिट, र्यापिड चार्जिङ क्षमता र १ सय ८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । नेपालका विभिन्न सडक अवस्था ध्यानमा राख्दा उच्च ग्राउन्ड क्लियरेन्स उपयोगी हुने कम्पनीको दाबी छ ।
व्यावसायिक प्रयोगका लागि एमजी विन्डसरको हाई–भोल्टेज मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी दिइएको छ । मोटरबाहेक सम्पूर्ण सवारीसाधनमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
ई–ड्राइभ नेपाल सन् २०२२ मा स्थापना भएको विद्युतीय सवारीमा केन्द्रित राइड–सेयरिङ सेवा प्रदायक हो । काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको कम्पनीले हाल अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया 4