News Summary
Generated by OK AI. Editorially reviewed.- आज श्रावण शुक्ल पञ्चमीका अवसरमा देशभरि परम्पराअनुसार नागको पूजा गरी नागपञ्चमी मनाइँदै छ।
- घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गर्दा सर्प र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
- काठमाडौंको नागपोखरी र टौदह लगायतका स्थानमा भक्तजनहरूले बिहानैदेखि नागको पूजा गरी दूध र रोटी चढाएका छन्।
४ भदौ, काठमाडौं । आज श्रावण शुक्ल पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी देशभरि नागपञ्चमी मनाइँदै छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।
धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर नागको पूजा गरेका छन् ।

प्रतिक्रिया 4