+
+
Shares

वीरगञ्ज चिनी कारखाना सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययन गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यदल गठन गरिएको छ ।
  • कार्यदललाई कारखानाको वर्तमान अवस्था र भौतिक संरचनाको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
  • उक्त कार्यदलले कारखानाको जग्गा तथा सम्पत्तिसँग जोडिएका समस्या पहिचान गरी समाधानका लागि कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत तयार पार्नेछ ।

१ भदौ, काठमाडौं । वर्षौंदेखि बन्द वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउनेबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार यस्तो कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ । लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्ने जिम्मेवारी गठित कार्यदललाई दिइएको छ ।

खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गरिने छ ।

कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी दिइएको छ। कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सीडीई श्रीकान्त यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि छन् ।

कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्था अध्ययन गरिने छ । पुराना संरचना तथा मेसिनरीलाई प्रयोग गरेर कारखाना पुनः सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि र संरचना आवश्यक पर्ने भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्ने बताइएको छ ।

यससँगै वीरगन्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गरिने भएको छ । सम्पत्तिसँग जोडिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?