News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गर्दै शानदार विरासत छाड्ने इच्छा व्यक्त गरेका छन् ।
- रोनाल्डोले फुटबलपछिको जीवनमा परिवारसँग समय बिताउने, यात्रा गर्ने र प्याडेल खेल्ने योजना रहेको बताएका छन् ।
- रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले १० वर्षको सम्बन्धपछि भर्खरै निजी रूपमा विवाह गरेका छन् ।
१ भदौ, काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । रोनाल्डोले सम्भवतः यो आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुने भन्दै मैदानबाट उत्कृष्ट विरासत छाड्ने इच्छा व्यक्त गरेका छन् ।
आफ्नो विवाहको अवसरमा भोग म्गागजिन सँग गरेको कुराकानीमा रोनाल्डोले फुटबलपछि आफ्नो जीवनका लागि योजना बनाइसकेको बताएका हुन् । उनले खेलाडी जीवनपछि परिवारसँग बढी समय बिताउने, यात्रा गर्ने तथा आफूलाई मन पर्ने प्याडेल खेल्ने योजना रहेको बताए ।
‘सायद यो मेरो फुटबलको अन्तिम वर्ष हो र म शानदार विरासत छाड्न चाहन्छु,’ रोनाल्डोले भने, ‘मेरो भविष्यको योजना बनिसकेको छ। मलाई व्यस्त राख्ने धेरै कुरा छन्। फुटबलबाट ठूलो खालीपन आउन सक्छ, त्यसैले त्यसलाई एउटा मात्रै कुराले होइन, विभिन्न गतिविधिबाट भर्नुपर्छ ।’
उनले फुटबलपछि थप रमाइलो गर्ने, धेरै यात्रा गर्ने तथा आफूलाई मन पर्ने प्याडेल खेल्ने र आफूले अहिलेसम्म कमाएको उपलब्धिको आनन्द लिने बताए । रोनाल्डोले फुटबल करियरका २५ वर्ष त्याग र संघर्षपूर्ण रहेको पनि उल्लेख गरे ।
४१ वर्षीय रोनाल्डो अहिले साउदी अरबमा व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले नयाँ सिजन अगस्ट १५ बाट सुरु गर्ने तयारीमा रहेको बताएका छन्। करियरको अन्त्य नजिकिँदै गर्दा परिवारसँग बढी समय बिताउने उनको चाहना पनि कुराकानीमा स्पष्ट देखिएको छ ।
रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले अगस्ट ११ मा विवाह गरेका छन् । उनीहरूले पहिलोपटक भेटेको १० वर्ष पुगेको अवसर पारेर विवाह गरेका हुन्। उनीहरूको विवाह भव्य समारोहमा नभई घरकै बैठक कोठामा पारिवारिक वातावरणमा भएको थियो ।
विवाहपछि रोनाल्डो र जर्जिना पोर्चुगलको फातिमा पुगेका थिए। रोनाल्डोले आफू भीडभाडबाट टाढा रहन रुचाउने भएकाले निजी रूपमा विवाह समारोह आयोजना गरिएको बताएका छन् ।
रोनाल्डोले करियरपछि परिवारसँग बढी समय बिताउने संकेत गरे पनि फुटबलबाट पूर्ण रूपमा टाढिने आफ्नो योजनाबारे विस्तृत जानकारी दिएका छैनन् । तर ‘सम्भवतः अन्तिम वर्ष’ भन्ने उनको भनाइले विश्व फुटबलमा उनको खेलाडी जीवन अब अन्तिम मोडमा पुगेको संकेत गरेको छ ।
यसैबीच, रोनाल्डो र जर्जिनाले भविष्यमा थप सन्तानको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् । जर्जिनाले अहिले थप सन्तानका लागि घरमा धेरै व्यस्तता रहेको बताउँदै भविष्यमा आफूहरू अझै युवा हुने भएकाले त्यसबारे सोच्न सकिने बताएकी छन् ।
प्रतिक्रिया 4