+
नेपाली क्रिकेट :

लिग २ क्रिकेट : पछिल्लो शृङ्खलापछि नेपालको शीर्ष ६ सम्भावना यस्तो

२०८३ भदौ  १ गते १३:०८ २०८३ भदौ १ गते १३:०८

नेपाल शीर्ष ६ मा पर्ने वा नपर्ने कुरा आगामी शृङ्खलाबाट लगभग टुङ्गो लाग्नेछ । उक्त शृङ्खला सकिँदा शीर्ष ६ मा पर्न नसके नेपालको ढोका बन्द नै हुनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौं स्थानमा झरेको छ ।
  • कप्तान सन्दीप लामिछानेले आगामी खेलहरूमा भएका गल्तीहरू सुधार्दै योजनाका साथ अगाडि बढ्ने बताएका छन् ।
  • नेपालका लागि एकदिवसीय मान्यता जोगाउन बाँकी चारमध्ये कम्तीमा तीन खेल जित्नु अनिवार्य बनेको छ ।

२९ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत हालै सम्पन्न शृङ्खलाका नतिजाहरूसँगै तालिकाको समीकरण रोचक र चुनौतीपूर्ण बनेको छ ।

हालै मात्र स्कटल्यान्ड, क्यानडा र यूएईको शृङ्खला सकिएको छ । स्कटल्यान्डमा भएको उक्त शृङ्खलामा स्कटल्यान्डले ३ जित निकाल्दा यूएईले १ जित निकाल्यो भने २ खेल नतिजाविहीन भए ।

स्कटल्यान्ड र यूएई तथा क्यानडा र यूएईबीचको खेल वर्षाले नतिजाविहीन हुँदा क्यानडासँगको दुवै खेल स्कटल्यान्डले जित्यो । यूएईले क्यानडालाई अर्को खेलमा हराउँदा स्कटल्यान्डसँग भने १ विकेटले पराजित हुन पुग्यो ।

क्यानडाले यस शृङ्खलामा कुनै खेल जित्न सकेन । १ अंक नतिजाविहीन खेलबाट जोडेको क्यानडा लिग २ अंकतालिकामा नेपालभन्दा एक स्थान माथि उक्लिँदा नेपाल सातौंमा झरेको थियो ।

३२ खेलबाट २४ अंक जोडेर सातौं स्थानमा रहेको नेपालका लागि शीर्ष चारभित्र पर्दै सोझै विश्वकप छनोटमा स्थान बनाउने सम्भावना निकै कठिन र जटिल यसअघि नै बनिसकेको छ ।

यद्यपी, शीर्ष ६ भित्र परेर एकदिवसीय मान्यता जोगाउने होडमा भने नेपाल अझै पनि राम्रो स्थितिमा छ ।

अब लिग-२ मा नेपालका अन्तिम ४ खेल मात्र बाँकी छन्, जसमा नेपालले ओमान र क्यानडाविरुद्ध दुई-दुई खेल खेल्नुपर्नेछ । अब हुने अर्को शृङ्खला त्यही नै हो ।

उक्त शृङ्खला सकिँदा नेपाल शीर्ष ६ भित्र अटाउन नसकेमा लिग-२ को अन्तिम तालिकामा सातौं वा आठौं स्थानका लागि ‘लक्ड इन’ हुँदै ओडीआई मान्यता गुमाउने संकटतर्फ धकेलिनेछ ।

गत शृङ्खलामा खराब प्रदर्शन गरेपछि नेपाली टोलीको कप्तान परिवर्तन गरिएको छ भने अब हुन लागेको एसीसी प्रिमियर कप खेल्ने टिममा पनि केही फेरबदल गरिएको छ । रोहित पौडेलको स्थानमा सन्दीप लामिछाने कप्तान नियुक्त भएका छन् ।

प्रिमियर कपका लागि टोलीका केही मुख्य खेलाडीहरू बाहिर रहेका छन् । सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्कीजस्ता खेलाडीहरू बाहिर राखिएका छन् । अब हुने लिग २ शृङ्खलामा भने कुन टोली जान्छ भन्ने निश्चित भइसकेको छैन ।

कप्तान फेरिएको अवस्थामा अबको चुनौती भनेको बाँकी खेलहरू जितेर ओडीआई मान्यता जोगाउनु नै हुनेछ । कप्तान सन्दीपले आगामी खेलहरूमा गल्तीहरू सुधारेर अघि बढ्ने बताएका छन् ।

‘हामीले पछिल्ला दुई भ्रमणमा जसरी खेल्नुपर्ने थियो, त्यसरी खेल्न सकेनौं । हामीले आफ्नोतर्फबाट उत्कृष्ट प्रयास गरेका थियौँ, तर केही कारणले चुक्यौँ,’ उनले भनेका छन्, ‘अब भएका गल्तीहरूलाई सुधार गर्दै आगामी भ्रमणमा राम्रो योजनाका साथ अगाडि बढ्नेछौं ।’

अंक तालिका

हाल स्कटल्यान्ड ३६ खेलबाट ४५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । स्कटल्यान्डले आफ्नो सबै खेल खेलिसकेको छ । अमेरिका ३२ खेलमा ४३ अंकका साथ दोस्रो र नेदरल्यान्ड्स ३२ खेलमा ३८ अंकका साथ तेस्रो स्थानमा छन् । यी तीनै टोली गणितीय रूपमै नेपालको पहुँचभन्दा बाहिर पुगिसकेका छन् ।

चौथो स्थानमा रहेको ओमानको २८ खेलमा ३१ अंक छ भने पाँचौंमा रहेको नामिबिया ३२ खेलमा २८ अंक, छैटौंमा रहेको क्यानडाको ३२ खेलमा २५ अंक छ । सातौंमा रहेको नेपालको ३२ खेलमा २४ अंक छ भने र युएई २८ खेलमा १८ अंकसहित आठौं स्थानमा रहेको छ ।

अब ओमान, क्यानडा र नेपालको शृङ्खलापछि अमेरिका, नामिबिया र यूएईबीचको शृङ्खला हुनेछ । त्यसपछि यूएई, नेदरल्यान्ड्स र ओमानबीचको शृङ्खला हुनेछ ।

शीर्ष ४ को झिनो सम्भावना

नेपालका लागि शीर्ष चारमा पर्दै सोझै विश्वकप छनोट खेल्ने चौथो स्थानको ढोका मात्र खुला छ, जसका लागि ओमान (३१ अंक) लाई पछाडि पार्नुपर्ने हुन्छ । तर यसका लागि नेपालले आफ्ना सबै खेल जित्नुका साथै अन्य टोलीको नतिजामा पूर्ण रूपमा निर्भर हुनुपर्नेछ ।

पहिलो भनेको, नेपालले आफ्ना बाँकी चारै खेल (ओमानविरुद्ध २ र क्यानडाविरुद्ध २) जितेर अधिकतम सम्भावित ३२ अंक पुर्‍याउनैपर्छ । १ खेलमा मात्र हार बेहोरेमा नेपाल शीर्ष ४ को होडबाट पूर्ण रूपमा बाहिरिनेछ ।

यस्तै २८ खेलबाट ३१ अंक जोडिसकेको ओमानका ८ खेल बाँकी छन् । नेपालले ओमानलाई दुवै खेलमा हराए पनि ओमानसँग अन्य ६ खेल बाँकी रहन्छन् । नेपाल ३२ अंकमा पुगेर चौथो हुनका लागि ओमानले ती ६ खेलबाट अधिकतम १ अंक मात्र जोड्न पाउनेछ, अर्थात् कम्तीमा ५ खेल हार्नै पर्नेछ ।

ओमानले आगामी शृङ्खलामा १ खेल मात्र जितेमा पनि नेपाल शीर्ष ४ को होडबाट सोझै बाहिरिनेछ ।

त्यसतैगरी नामिबिया (२८ अंक) ले आफ्ना बाँकी ४ खेलबाट ४ अंकभन्दा बढी (२ जितभन्दा बढी) जोड्न पाउने छैन भने क्यानडालाई नेपाल आफैंले दुवै खेलमा हराएर २९ अंकभन्दा तलै रोक्नुपर्नेछ ।

ओडीआई मान्यता जोगाउने समीकरण

विश्वकप छनोटको सोझै बाटो अब लगभग असम्भव भए पनि शीर्ष ६ भित्र पर्दै एकदिवसीय (ओडीआई) मान्यता जोगाउनु अब नेपालको मुख्य र व्यावहारिक लक्ष्य हो ।

ओमान र क्यानडासँगको शृङंखला सकिँदा शीर्ष ६ मा आउन नसके नेपालको ढोका बन्द नै हुनेछ । उक्त शृङ्खला सकिँदा शीर्ष ६ भित्र परेर क्यानडा सातौंमा रहेमा नेपाललाई यूएईको मात्र डर हुनेछ ।

यूएईले ८ खेल खेल्न बाँकी रहेकाले भेटाउन सक्ने सम्भावना त छ तर त्यसको सम्भावना कम देखिन्छ ।

नेपाल शीर्ष ६ भित्र पर्नका लागि यस्ता परिदृश्यहरू रहेका छन्:

नेपालले ओमान र क्यानडाविरुद्धका ४ मध्ये ३ वा चारै खेल जितेमा ३० देखि ३२ अंक पुग्नेछ । यस्तो अवस्थामा नेपालले क्यानडा र नामिबियालाई पछाडि पार्नेछ । नामिबियाले त्यसपछि खेलहरू खेल्न बाँकी रहेकाले नेपालभन्दा अगाडि गइहालेमा पनि नेपाल छैटौंभन्दा तल झर्ने छैन ।

यदि नेपालले क्यानडालाई दुवै खेलमा हराउँछ तर ओमानसँगका दुवै खेल हार्छ भने नेपालको २८ अंक हुनेछ । नेपालले क्यानडालाई दुवै खेलमा पराजित गरेर ओमानले पनि कम्तीमा एक खेलमा क्यानडालाई हराउँछ भने पनि क्यानडा नेपालभन्दा पछाडि पर्नेछ ।

यस्तै नेपालभन्दा तल १८ अंक भएको युएईसँग अझै ८ खेल बाँकी रहेकाले अधिकतम ३४ अंक सम्भव देखिन्छ । यूएईले चमत्कारिक प्रदर्शन गरेर नेपालभन्दा अगाडि गएमा भने नेपाल सातौं र क्यानडा आठौंमा झर्नेछ, यद्यपी यो निकै कठिन समीकरण हो  ।

त्यसैले नेपालले क्यानडाविरुद्धका दुवै खेल जितेर कम्तीमा २८ देखि ३० अंक पुर्‍याउनु नै ओडीआई मान्यता जोगाउने सबैभन्दा सुरक्षित बाटो हुनेछ ।

यसर्थ, नेपालका लागि सबैभन्दा सहज बाटो भनेकै आगामी शृङ्खलामा शतप्रतिशत जित निकाल्नु नै हुनेछ । नेपालले क्यानडा र ओमानलाई हराउन नसकेमा स्वत: शीर्ष ६ मा नपर्ने पक्का हुनेछ ।

शीर्ष ६ मा परेपनि नेपालले अधिकतम ३२ अंक नै पुर्‍याए पनि यूएईले सबै खेल जितेमा नामिबिया २८ भन्दा अगाडि नबढ्ने हुँदा नेपालको शीर्ष ६ भित्र स्थान पक्का हुनेछ ।

नेपाल २६ वा २८ अंकमा सीमित रहेमा भने यसपछिका नतिजामा भर पर्नुपर्नेछ ।

नेपाली क्रिकेट नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय