News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्ने भएका छन्।
- सुदूरपश्चिम रोएल्सले विज्ञप्ति जारी गर्दै कुगेलेइनलाई टोलीमा पुनः अनुबन्ध गरिएको जानकारी गराएको छ।
- टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले पहिलो उपाधि जित्न कुगेलेइनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
१ भदौ, काठमाडौं । न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।
सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ ।
कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए ।
दोस्रो संस्करणमा कुगेलेइनले ९ खेलमा १० विकेट लिएका थिए ।
सुदूरपश्चिमले आगामी कात्तिक ९ गतेदेखि सुरु हुने तेस्रो संस्करणका लागि दोस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्ध गरेको हो ।
यसअघि सुदूरपश्चिमले इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरिसकेको छ ।
सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौं । पहिलो उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।
तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ । अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4