+

अफगानिस्तानको एसियन गेम्स खेल्ने टोली घोषणा, नाबीका छोरा पहिलोपटक समावेश

२०८३ भदौ  १ गते १५:०९ २०८३ भदौ १ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफगानिस्तानले जापानमा हुने २०२६ एसियन गेम्सका लागि डार्विश रसुलीको कप्तानीमा १५ सदस्यीय युवा टोलीको घोषणा गरेको छ ।
  • टोलीमा अनुभवी खेलाडीका साथै मोहम्मद नाबीका छोरा हसन इसाखेल पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा समावेश भएका छन् ।
  • एसियन गेम्सअन्तर्गत अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

१ भदौ, काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०२६ एसियन गेम्स अन्तर्गत क्रिकेटका लागि अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै १५ सदस्यीय टोली घोषणा गरेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले घोषणा गरेको टोलीको कप्तानी डार्विश रसुलीले गर्नेछन्। टोलीमा अनुभवी नजिबुल्लाह जदरान र करिम जनतसँगै पछिल्लो समय घरेलु क्रिकेटमा प्रभाव पारेका युवा खेलाडीलाई समेटिएको छ ।

टोलीमा स्टार अलराउन्डर मोहम्मद नाबीका छोरा हसन इसाखेल पनि पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा परेका छन् । उनले नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा चितवन राइनोजबाट पनि खेलेका थिए ।

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका हसनलाई अफगानिस्तानले एसियन गेम्सका लागि टोलीमा समेटेको हो ।

नियमित कप्तान राशिद खान भने एसियन गेम्स खेल्ने टोलीमा छैनन् । यस्तै रहमानुल्लाह गुरबाज, अजमतुल्लाह ओमरजाइ, नाबीलगायतका प्रमुख खेलाडी पनि टोलीमा समावेश छैनन् ।

टोलीमा अधिकांश खेलाडी हालै सम्पन्न शापागिजा क्रिकेट लिगको ११औं संस्करणबाट छनोट भएका छन् । सो प्रतियोगितामा मोहम्मद अकरमले आठ इनिङमा ३३९ रन बनाउँदै एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए। इस्मत आलमले २९४ रनसँगै नौ विकेट लिएपछि प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए ।

एसियन गेम्सअन्तर्गत क्रिकेट सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म आयोजना हुँदैछ । त्यसअघि अफगानिस्तानले भारतसँग दिल्लीमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने कार्यक्रम छ ।

एसियन गेम्समा अफगानिस्तानले नेपाल र जापानसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने तालिका छ ।

अफगानिस्तानको टोली : दार्विश रसुली (कप्तान), मोहम्मद इसाख (विकेटकिपर), मोहम्मद अकरम, हसन इसाखेल, खालिद तानिवाल, इमरान मिर, फैसल खान सिनोजादा, नजिबुल्लाह जदरान, फरमानुल्लाह सफी, इस्मत आलम, करिम जनात, नाङ्गयाल खरोटी, अरब गुल मोमन्द, फरिदुन दाउदजाई र अब्दुल्लाह अहमदजाई।

२०औं एसियन गेम्स अफगानिस्तान क्रिकेट एसियन गेम्स क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय