News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिकेट संघ नेपाल (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट प्राप्त रकममार्फत विभिन्न क्रिकेट मैदानका लागि उपकरण खरिद प्रक्रिया अघि बढाएको छ।
- क्यानले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्दै इच्छुक कम्पनीहरूलाई १५ सेप्टेम्बर २०२६ सम्म आवेदन दिन सूचना जारी गरेको छ।
- बोलपत्र १६ सेप्टेम्बर २०२६ को दिउँसो १२ बजेसम्म पेश गर्नुपर्ने र सोही दिन दिउँसो १ बजे खोलिने क्यानले जनाएको छ।
१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त फन्डमार्फत क्रिकेट संघ नेपाल (क्यान) ले विभिन्न क्रिकेट मैदानका उपकरण खरिद गर्ने भएको छ ।
क्यानले सोमबार सूचना जारी गर्दै विभिन्न ग्राउन्ड उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो । आईसीसीबाट प्राप्त रकममध्ये केही रकम उक्त उपकरण खरिदका लागि खर्च गर्ने क्यानले जनाएको छ ।
क्यानले ‘सिंगल स्टेज, टु इन्भलप’ प्रक्रियामार्फत उपकरण खरिद गर्न लागेको हो । बोलपत्रमा सहभागी हुने कम्पनी तथा फर्मले प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्नेछ ।
योग्य बोलपत्रदाताले क्यानको मुलपानीस्थित कार्यालयबाट १५ सेप्टेम्बर २०२६ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । त्यसका लागि कम्पनी वा फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपिसहित लिखित आवेदन दिनुपर्नेछ । बोलपत्र कागजातका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न चाहनेले क्यानको वेबसाइटबाट निःशुल्क कागजात डाउनलोड गर्न सक्नेछन् । बोलपत्र १६ सेप्टेम्बर २०२६ दिउँसो १२ बजेसम्म क्यानको मुलपानीस्थित कार्यालयमा प्रत्यक्ष, कुरियर वा विद्युतीय माध्यमबाट पेश गर्नुपर्नेछ ।
बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ । बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्नेछ ।
क्यानले बोलपत्रसँग न्यूनतम १५ लाख रुपैयाँको बिड सेक्युरिटी अनिवार्य गरेको छ । विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्नेले बिड सेक्युरिटीको स्क्यान गरिएको प्रतिलिपि पीडीएफमा पेश गर्न सक्नेछन् । उक्त धरौटी बोलपत्रको मान्य अवधि सकिएको मितिभन्दा थप ३० दिनसम्म मान्य हुनुपर्नेछ ।
बोलपत्र खरिद वा पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम मिति मानिने क्यानले जनाएको छ ।
प्रतिक्रिया 4