+

सातौं छथर गाउँपालिका अध्यक्ष कप : फुटबल विजेतालाई ४ लाख, भलिबल विजेतालाई २ लाख

२०८३ भदौ  १ गते ८:३० २०८३ भदौ १ गते ८:३०

१ भदौ, तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका शुक्रबारेमा परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा यस वर्ष सातौं गाउँपालिका अध्यक्ष कपअन्तर्गत पुरुष फुटबल र अन्तर स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलकुद क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनका अनुसार भदौरे पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ ।

सातौं गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता भदौ ६ देखि ११ गतेसम्म छथर खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा पूर्वी नेपालका चर्चित सात क्लब र आयोजक टोली गरी आठ टोली सहभागी हुनेछन् ।

सहभागी टोलीमा सतिसाले स्पोर्टिङ क्लब केराबारी, सिधुवा सिंहदेवी युथ क्लब धनकुटा, सुन्दर खोर्साने युवा क्लब मोरङ, शल्मानी एफसी कुपी, मंगलबारे युवा क्लब उर्लाबारी, कोशी पुलिस क्लब रानी विराटनगर, चुलाचुली स्पोर्टिङ क्लब दमक झापा र आयोजक छथर गाउँपालिका  रहेको फुटबल खेल संयोजक रुपम अधिकारीले जानकारी दिए ।

फुटबल प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले २ लाख ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भदौ ६ गते हुनेछ भने फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम भदौ ११ गते हुनेछ । दर्शकका लागि अस्थायी प्याराफिट निर्माण भइ रहेको फुटबल प्रतियोगिताका सचिव शेरबहादुर लिम्बुले बताए ।

त्यसैगरी, सातौं गाउँपालिका अध्यक्ष कप अन्तर स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता भदौ १२ देखि १५ गतेसम्म छथर खेलमैदानमा सञ्चालन हुनेछ । कोशी प्रदेशभित्रका विभिन्न स्थानीय तहका टोली सहभागी हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

भलिबल प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट स्पाइकर, बेस्ट लिब्रो, बेस्ट ब्लकर, बेस्ट सेटर र राइजिङ प्लेयरलाई जनही २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको समेत व्यवस्था गरिएको भलिबल खेल संयोजक सुमन खड्काले जानकारी दिए ।

दुवै प्रतियोगिताको मुख्य आर्थिक व्यवस्थापन छथर गाउँपालिका कार्यालय, तेह्रथुमले गर्ने भएको छ । प्रतियोगिता सञ्चालनमा विभिन्न व्यक्ति, संघसंस्था तथा स्थानीय संस्थाबाट समेत सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ ।

छथर गाउँपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय