News Summary
Generated by OK AI. Editorially reviewed.- १४ वर्षीय प्रणभ पौडेलले दिदीको जन्मदिनमा स्टेटिक वेबसाइट उपहार दिएर भाइब कोडिङमार्फत सिर्जना गरेको वेबसाइटले परिवारलाई अचम्मित बनायो।
- नेपाल टेलिकम र सरकारी निकायहरूले आन्तरिक सफ्टवेयर, लाइसेन्स, कर र भुक्तानीसँग जोडिएका प्रणाली बनाउन भाइब कोडिङ प्रयोग गरिरहेका छन्।
- साइबर सुरक्षा विज्ञहरूले एआईले जेनेरेट गरेको कोडमा सुरक्षा कमजोरी हुन सक्ने भन्दै सुरक्षा परीक्षण, कोड समीक्षा र मानव निगरानी अनिवार्य गर्न सुझाएका छन्।
४ भदौ, काठमाडौं । कक्षा ९ मा अध्ययनरत प्रणभ पौडेलले दिदीको जन्मदिनमा एउटा स्टेटिक वेबसाइट उपहार दिए । उनले जन्मदिनका विभिन्न डिजाइनमा दिएको उपहारले दिदीलाई अचम्मित बनायो । भाइले आईटीसम्बन्धी कुनै कोर्स गरेको थाहा नपाएकी दिदीले यसबारे चासो राखिन् ।
काठमाडौं, नारायणटारको मनकामना स्कुलमा पढिरहेका भाइ प्रणभले भाइब कोडिङ गरेका रहेछन् । आफ्नो खाली समयमा अतिरिक्त लगाब प्रविधितिरै लगाउने उनले भाइब कोड गर्न सिकेर सोहीअनुसार आफ्नो बुताले भ्याएसम्मको वेबसाइट बनाएका रहेछन् । सामान्य नै सही, भाइले यसरी नयाँ कुरा सिक्न अतिरिक्त चासो दिएको देख्दा परिवारमा खुसी छायो ।
‘भाइ जिज्ञासु छ भन्ने कुराले हामीलाई खुसी लाग्यो । त्यसपछि पनि उसले आफूलाई रहर लागेको कुरा भाइब कोडिङमार्फत पूरा गर्ने कोसिस गर्छ, आफैँ खुसी हुन्छ,’ प्रणभकी दिदीले भनिन्, ‘भविष्यमा चेस प्लेयर बन्ने अनि आईटीतिरै जाने सपना बुन्न थालेको छ । त्यहीअनुसार सिक्दैछ ।’
प्रविधिको गहिरो ज्ञान नहुँदा पनि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रणभले गरिरहेको भाइब कोडिङ के हो त ?
भाइब कोडिङ भन्नाले प्राकृतिक भाषामा (जस्तै हामी बोल्छौँ) कम्प्युटरलाई के बनाउने हो भनेर वर्णन गर्ने र एआईले त्यसअनुसार कोड लेखिदिने प्रक्रिया हो । यसमा प्रयोगकर्ताले कोडको हरेक लाइन आफैं लेख्नु पर्दैन । बरु ‘मलाई यस्तो डिजाइनको वेबसाइट चाहियो’, ‘यो बटन थिच्दा यो काम होस्’ जस्ता प्रम्प्ट दिइन्छ र एआई टुलले कोड जेनेरेट गरिदिन्छ ।
यसको मूल अवधारणा नै कोडलाई ‘पढ्ने वा लेख्ने’ भन्दा पनि ‘भाइब’मा विश्वास गर्दै अगाडि बढ्ने हो । अर्थात्, एआईले दिएको कोडलाई हरेक पटक चलाएर हेर्ने, त्रुटि आएमा त्यो एआईलाई नै फिर्ता गर्ने र पुनः प्रम्प्ट दिएर सुधार्ने शैली हो ।
शब्दको कुरा गर्दा पनि, भाइब कोडिङ २ फेब्रुअरी २०२५ पछि सतहमा आएको थियो । ओपन एआईका संस्थापक सदस्यमध्येका एक, एआई अनुसन्धानकर्ता आन्द्रेज कार्पाथीले एक्समा पोस्ट गर्दै यसलाई परिचित गराएका थिए ।
कार्पाथीले आफ्नो पोस्टमा लेखेका थिए, ‘अब नयाँ प्रकारको कोडिङको तरिका छ, जसलाई म भाइब कोडिङ भन्छु । यहाँ पूरा भाइबमा समर्पित हुने, एक्स्पोनेन्सियललाई स्वीकार गर्ने र कोड नै छ भन्ने कुरा बिर्सने… ।’

त्यसपछि यो शब्दको लोकप्रियता यति बढ्यो कि, २०२५ मा कोलिन्स इङ्लिस डिक्सनरीले ‘भाइब कोडिङ’लाई ‘वर्ड अफ द इयर’ समेत घोषणा गर्यो।
यही भाइब कोडिङ अहिले नेपालका सरकारी वेबसाइट बनाउनमा पनि प्रयोग हुन थालेको देखिन्छ । आन्तरिक रूपमा सफ्टवेयर निर्माणको काम आफैँ गर्न थालेको सरकारले यसको प्रयोग व्यापक रूपमा गरिरहेको देखिन्छ । नेपालमै प्रविधिमैत्री आम विद्यार्थीदेखि सरकारी तहबाटै यसको प्रयोग भइरहेको देख्न सकिन्छ ।
जस्तो, नेपाल टेलिकमले पनि भाइब कोडिङको प्रयोगमार्फत आफ्ना आन्तरिक सफ्टवेयर आफैँ विकास गर्न थालेको छ । कम्पनीले खरिद प्रक्रियालाई डिजिटल रूपमा व्यवस्थापन गर्न प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम, कर्मचारीको सिफ्ट र जिम्मेवारी हेर्न ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम तथा बैठकको एजेन्डा, सहभागी र निर्णय अभिलेख राख्न मिटिङ म्यानेजमेन्ट सिस्टम विकास गरिरहेको छ ।
कार्यालयका फाइल र निर्णय प्रक्रियालाई कागजमुक्त बनाउने वर्कफ्लो म्यानेजमेन्ट सिस्टम तथा नेटवर्क उपकरण र ग्राहक गुनासो एकीकृत रूपमा व्यवस्थापन गर्ने युनिफाइड टिकटिङ सिस्टम पनि टेलिकमले बनाइरहेको छ । यसरी धमाधम आफ्ना सफ्टवेयर बनाइरहेको टेलिकमले भाइब कोडिङलाई प्रोत्साहित दिएको देखिन्छ ।
टेलिकमका एक इन्जिनियरले अनलाइनखबरसँग कुरा गर्दै आफूहरूले भाइब कोडिङलाई पछ्याइरहेको बताए । उनका अनुसार, एआईलाई आवश्यकताबारे निर्देशन दिएर प्रारम्भिक कोड तयार गर्ने र त्यसलाई प्राविधिक टोलीले परीक्षण तथा परिमार्जन गर्ने अभ्यासले सफ्टवेयर निर्माणको काम सहज र छिटो बनाइरहेको छ ।

‘हामीले भाइब कोडिङ नै फलो गरिरहेका छौँ । त्यसपछि आफ्नो तरिकाले परिमार्जन गर्छौं । सेक्युरिटीदेखि सबै कुरामा चासो राखिएको छ । यसले धेरै सहज बनाएको छ,’ ती इन्जिनियरले भने, ‘सफ्टवेयर निर्माणमा चल्ने शैली पनि यही हो ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीको भनाइअनुसार सरकारले आन्तरिक सफ्टवेयर निर्माणमा भाइब कोडिङलाई प्राथमिकता दिएको छ । अन्यत्र बनिरहेको सफ्टवेयरमा पनि यसको प्रचलन बढ्दो छ ।
नेपाल एप्लिकेसन सफ्टवेयर एन्ड आईटी इन्डस्ट्रिज एसोसिएसन (नास आईटी)का एक सदस्यका अनुसार पनि नयाँ सरकारी टुल्स र वेबसाइट हेर्दा सोही प्रक्रियाबाट बनेका हुन् भनेर दाबी गर्न सकिन्छ । जस्तो, सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित अनलाइन प्रणाली र आन्तरिक राजस्व विभागको विद्युतीय चिठ्ठा प्रणालीमा पनि भाइब कोडिङको प्रयोग भइरहेको उनले बताए ।
ती प्रणालीमा नयाँ सुविधा थप्ने, प्रयोगकर्ताले देखेका सामान्य समस्या समाधान गर्ने, फारम तथा ड्यासबोर्ड परिमार्जन गर्ने र आवश्यक रिपोर्ट तयार गर्ने क्रममा भाइब कोडिङ प्रयोग भइरहेको यसका वेबसाइटहरू हेर्दा स्पष्ट बुझ्न सकिने उनले बताए । यी कुरा सफ्टवेयरको ज्ञान भएको जो कोहीले चिन्न सक्ने उनको दाबी छ ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने सरकारले हेलचेक्र्याईं गरेर बुझ्दै नबुझी काम नगरेको दाबी गरे । उनका अनुसार, लाइसेन्स, कर विवरण, भुक्तानी र व्यक्तिगत सूचना जोडिएका प्रणाली संवेदनशील हुने भएकाले भाइब कोडिङमार्फत तयार भएको कोडलाई परीक्षणबिनै प्रत्यक्ष प्रयोग गर्ने गरिएको छैन । सुरक्षा परीक्षण, कोड समीक्षा र पहुँचको नियन्त्रण जस्ता प्रक्रिया पूरा गरेर मात्र त्यस्तो कोडलाई मुख्य सिस्टममा राखिने उनको भनाइ छ ।
‘पहिले सामान्य परिवर्तनका लागि पनि कोडको धेरै भाग टाइप गरेर नै लेख्नुपर्थ्यो,’ ती अधिकारीले भने, ‘अहिले आवश्यकताबारे स्पष्ट निर्देशन दिएर एआईबाट कोडको प्रारम्भिक ढाँचा बनाउन सकिन्छ । त्यसलाई प्राविधिक टोली (इन्जिनियर) ले नै सरकारी प्रणालीको आवश्यकताअनुसार परिमार्जन र परीक्षण गर्छ । हचुवाको भरमा बनाउँदैनौँ ।’
संसारभर भाइब कोडिङको लोकप्रियता बढ्दै गए पनि साइबर सुरक्षा विज्ञहरू भने चिन्तित देखिन्छन् । उनीहरूका अनुसार, एआईले जेनेरेट गरेको कोडमा धेरैजसो सुरक्षा कमजोरी हुन सक्छन् ।
कम्प्युटर वल्र्डमा प्रकाशित एक रिपोर्टअनुसार, भाइब कोडिङ उद्यमहरूका लागि ठूलो सुरक्षा जोखिम बन्न सक्छ र डाटा लिक हुने सम्भावना बढाउँछ । लाइफह्याकरका अनुसार, भाइब कोडिङबाट बनेका एपहरूमा कमान्ड इन्जेक्सन, एपीआई लिक जस्ता गम्भीर सुरक्षा समस्याहरू देखिन सक्छन् ।

कोड बाइ मेलेंडेजको एक विश्लेषणमा सन् २०२६ का प्रमाणहरूले देखाएअनुसार सुपरिवेक्षण बिना एआईले जेनेरेट गरेको कोडमा ४५–५५ प्रतिशतसम्म सुरक्षा कमजोरीहरू पाइएका छन् । ओल्ड डट एसटी ब्लगका अनुसार, भाइब कोडिङबाट बनेका एपहरूमा असुरक्षित डाटाबेस, कमजोर प्रमाणीकरण, एक्सपोज्ड एपीआई की र कोड अडिट नगर्ने समस्याहरू सामान्य देखिएका छन् ।
यद्यपि, केही विज्ञहरूले भने भाइब कोडिङलाई पूर्ण रूपमा अस्वीकार गर्नुभन्दा हाइब्रिड दृष्टिकोण अपनाउनुपर्ने सुझाव दिएका छन् । अर्थात्, एआईले कोड जेनेरेट गरे पनि मानिसले त्यसलाई समीक्षा गर्ने, सुरक्षा परीक्षण गर्ने र आवश्यक सुधार गर्ने प्रक्रिया अपनाउनुपर्छ ।
यसका बाबजुद, विश्व बजारको आकार हेर्दा भने भाइब कोडिङको लोकप्रियता झन् बढ्दै गएको देखिन्छ । फ्युचर मार्केट इन्साइट्सको रिपोर्टअनुसार, भाइब कोडिङ बजारको मूल्य २०२६ मा ७.१ अर्ब अमेरिकी डलर पुगेको छ । यो बजार आगामी दशकमा वार्षिक १७.१ प्रतिशतको दरले बढ्दै सन् २०३६ सम्म ३४.४ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
माइक्रोसफ्ट, गुगल, ओपनएआई, एन्थ्रोपिक, रिप्लिट, लभेबल, भर्सल जस्ता प्रविधि कम्पनीहरूले भाइब कोडिङलाई सहज बनाउने टुल र प्लेटफर्महरू विकास गरिरहेका छन् । कर्सर, क्लोड कोड, रिप्लिट, बोल्ट, लभेबल जस्ता टुलहरू प्रयोग गरेर प्राविधिक ज्ञान धेरै नहुने व्यक्तिहरूले पनि साना–ठूला एप र वेबसाइट बनाउन थालेका छन् ।
यस्ता टुल्सको प्रयोग गरेर सफ्टवेयर बनाउने काम नेपालमा पनि बाक्लिँदो छ । सरकारका अलावा निजी क्षेत्रका डेभलपरले पनि यसको प्रयोगमा व्यापकता ल्याइरहेको देखिन्छ ।
यद्यपि, सफ्टवेयर निर्माणमा भाइब कोडिङको प्रयोग नेपालका ठूला र स्थापित प्रविधि कम्पनीहरूमा भने अझै कम रहेको दाबी नास आईटीका अध्यक्ष गौरवराज पाण्डेले बताए ।
पाण्डेका अनुसार, गुणस्तर र दीर्घकालीन मर्मतसम्भार (लङ टर्म मेन्टेनेबिलिटी)को चिन्ताका कारण व्यावसायिक कम्पनीहरूले भाइब कोडिङलाई खासै अँगालेका छैनन् । ‘क्वालिटी र लङ टर्म मेन्टेनेबिलिटीको कारणले नै प्रोफेसनल काममा यसको प्रयोग कमै हुन्छ । बरु छिटो नतिजा चाहिने स्टार्टअप र फ्रिल्यान्सिङ क्षेत्रमा भने बढी प्रयोग हुने गरेको देखिन्छ,’ उनले भने ।
पाण्डेको विश्लेषणमा भाइब कोडिङसँग मुख्यतः तीन वटा चुनौती जोडिएका छन् । पहिलो, सुरक्षा जोखिम । दोस्रो, सिस्टमको आर्किटेक्चर बलियो र भविष्यमा विस्तार गर्न मिल्ने (स्केलेबल) बनाइएको छ कि छैन भन्ने प्रश्न । त्यस्तै तेस्रोमा, दीर्घकालीन मर्मतसम्भार क्षमता कस्तो छ भन्नेले पनि धेरै कुरा निर्धारण गर्ने उनको भनाइ छ ।
यदि सबै व्यवस्थित तरिकाले गरिएको छ र राम्रो डेभलपरले पुनःपरीक्षण गरेको छ भने भाइब कोड नराम्रो नभएको पनि पाण्डेले बताए ।
सूचना प्रविधिका जानकार वेदव्यास पोखरेल भने भाइब कोड गर्नुलाई अबको समयमा अन्यथा मान्नु नहुने बताउँछन् । उनका अनुसार, यसले डेभलपरको काममा गति बढाउँछ । उनी स्वयं यसैमार्फत सफ्टवेयर बनाएर क्लाइन्टलाई सर्भिस दिने गर्छन् । त्यसैले सचेत भएर प्रयोग ग¥यो भने यो एकदमै राम्रो र सहज रहेको उनको भनाइ छ ।
‘म आफैँ प्रयोग गर्छु । भाइब कोड गरेर क्लाइन्टलाई सर्भिस पनि दिइरहेको हुन्छु,’ पोखरेलले भने, ‘यो पछिल्लो समय एकदमै सहज छ । यसलाई सचेत भएर सेक्युरिटीहरू ख्याल गरेर प्रयोग गर्न जान्यो भने काम गर्न सजिलो र छिटो हुन्छ ।’
साइबर सुरक्षाका जानकार नरेश लामगादेका अनुसार भाइब कोडिङ विकासमा स्पिड ल्याउने राम्रो औजार हो । यसले संस्थालाई आवश्यक सफ्टवेयर आफैं बनाउन सहज बनाउँछ ।

‘एकदम राम्रो हो किनभने काम स्पिड हुन्छ । तर एआईको मुख्य लक्ष्य टास्क पूरा गर्नु हो । त्यसैले स्पिडमा काम गर्दा सुरक्षामा कम ध्यान जान्छ,’ लामगादेले भने ।
उनका अनुसार एआई किज, सिक्रेट्स र कनेक्टिङ मेकानिजमहरू कहिलेकाहीँ प्लेन टेक्स्टमै राखिदिने वा सार्वजनिक रूपमा देखिने समस्या आउन सक्छ । त्यसैले लभेबल जस्ता प्लेटफर्मले सुरक्षा एसेसमेन्टलाई अतिरिक्त (पेड) फिचरका रूपमा ल्याएको उनले बताए ।
छिटो काम गर्ने नाममा ध्यान नदिँदा जोखिम बढ्ने चेतावनी उनको छ । भाइब कोडिङ प्रयोग गर्नेहरूले ध्यान दिनुपर्ने कुराहरूबारे थप्दै उनले अनलाइनखबरसँग भने, ‘सिक्रेट किजलाई राम्ररी सुरक्षित स्टोर गरेर मात्र होस्ट र लन्च गर्नुपर्छ । एक राउन्ड सुरक्षा परीक्षण गराउनुपर्छ । व्यावसायिक जोखिमअनुसार ती कोडको म्यानुअल टेस्टिङ पनि आवश्यक हुन्छ । यति ग¥यो भने भाइब कोडलाई अस्वीकार गर्न सकिँदैन ।’
प्रतिक्रिया 4