News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऐन, नियम र कार्यविधि तर्जुमामा ७ लाख रुपैयाँ प्रारम्भिक विनियोजन गरिएको बताए।
- उनले आवश्यकता परे सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न र औचित्यका आधारमा अर्थ मन्त्रालयबाट थप रकम लिन सक्ने जानकारी दिए।
- वाग्लेले बजेट पुस्तिकाको प्राविधिक विवरणभन्दा सरकारको प्रतिवद्धतालाई मुख्य मान्न आग्रह गरे।
५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा ७ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले मन्त्रालय तथा अन्तर्गतका आयोग, विभाग, कार्यालय र समितिहरूका लागि उक्त रकम विनियोजन गरिएको स्पष्ट पारे ।
साथै, उनले यो प्रारम्भिक विनियोजन मात्र भएको उल्लेख गर्दै आवश्यकताअनुसार सम्बन्धित मन्त्रालयले रकमान्तर गर्नसक्ने सुविधा रहेको जानकारी दिए ।
‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ मा ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा ७ लाख विनियोजन गरिएको छ । आवश्यकता परे सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्नेछ भने औचित्यका आधारमा थप रकम आवश्यक भए अर्थ मन्त्रालयबाट समेत उपलब्ध गराइनेछ,’ उनले भने ।
बजेट विनियोजनको प्राविधिक पक्षबारे स्पष्ट पार्दै उनले कतिपय अवस्थामा शिर्षक र उपशिर्षक नखुलाई ‘अवण्डा’ शिर्षकमा पनि बजेट विनियोजन गरिने प्रचलन रहेको बताए ।
‘मन्त्रालयहरूमा कतिपय शीर्षकमा उपशीर्षक नखुलाई अवण्डा रकम विनियोजन हुने अभ्यास पनि छ । दुई मन्त्रालयबीचको समन्वय र पत्राचारपछि ७ लाख विनियोजन भएको विषय स्पष्ट भएकाले यसलाई सुनिश्चित मानेर अघि बढ्न सकिन्छ । कहाँ लेखियो वा लेखिएन भन्ने कुरा गौण हो । अर्थमन्त्रीले प्रतिवद्धता जनाइसकेकाले आवश्यक रकम उपलब्ध हुने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
मन्त्री वाग्लेले बजेट पुस्तिकामा उल्लेखित प्राविधिक विवरणभन्दा पनि सरकारको प्रतिवद्धतालाई मुख्य मान्न आग्रह गरे ।
प्रतिक्रिया 4