News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको पहिलो महाधिवेशनपछि सभापति रवि लामिछानेले ३ मन्त्रीसहित ६ जनालाई मनोनीत गरी केन्द्रीय सदस्य र केहीलाई पदाधिकारी बनाएका छन्।
- प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदीश खरेल र सह–प्रवक्तामा नमिता यादव तथा सुरेन्द्र चौधरी मनोनीत भएका छन्।
- सभापति लामिछानेले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्थाअनुसार अझै ४२ सदस्य र पदाधिकारीमा चार पद रिक्त राखेका छन्।
५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट नै केन्द्रमा आउनसक्ने नेताहरू मनोनीतको बाटोबाट केन्द्रीय सदस्य बनेका छन् ।
चुनावी प्रतिस्पर्धा नगरेका र मन्त्रीको पदमा बहालमा रहेका तीन जनालाई सभापति रवि लामिछानेले मनोनीत गरेका छन् । जबकि, उनीहरू प्रतिस्पर्धाबाट पनि केन्द्रीय सदस्य बन्ने हैसियत राख्थे ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मनोनीतको माध्यमबाट केन्द्रीय सदस्य बने ।
गृहमन्त्री गुरुङ र लम्साल मनोनीतबाट पदाधिकारी हुने चर्चा भएपनि हाल भने केन्द्रीय सदस्यको भूमिकामा पुगेका छन् । महाधिवेशनमा उपसभापतिको उम्मेदवारको चर्चामा रहेकी प्रतिभा रावल प्रतिस्पर्धा गरिनन् । उपसभापतिको उम्मेदवार सोविता गौतमको प्रस्तावक बनेकी थिइन् ।
काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाह रास्वपासँग जोडिएपछि महामन्त्री बनेका भूपदेव शाह हाल केन्द्रीय सदस्यको मात्रै जिम्मेवारी पाएका छन् । बालेन पक्षबाट मनोनीत महामन्त्रीको अपेक्षा राखेका उनी पदाधिकारी बन्न सकेनन् ।
गत मंसिरमा रास्वपामा जोडिएका पुरुषोत्तम यादवले राजनीतिक फड्को मारेका छन् । समानुपातिक सांसद यादवलाई सहमहामन्त्री बनाइएको छ ।
मनोनीत केन्द्रीय सदस्य वा मधेसको सभापति बन्ने वचन पाएर नै उनी महाधिवेशनमा प्रतिस्पर्धा नगरेको पार्टीभित्र चर्चा छ । रास्वपा प्रवेश गरेको आठ महिनामै पदाधिकारीमा पुग्न उनी सफल भएका छन् ।
अघिल्लो कार्यकालमा सहकोषाध्यक्ष रहेकी बसुमाया तामाङलाई केन्द्रीय सदस्य बनाएर पूर्ववत् जिम्मेवारी दिइएको छ । सभापति लामिछानेलाई सहकारी प्रकारणको मुद्दामा बैंक ग्यारेन्टी बस्ने डा. मनोहर प्रधान केन्द्रीय सदस्यमा मनोनीत गरी कोषाध्यक्ष बनाइएको छ ।
कोषाध्यक्षमा महाधिवेशन अघि लिमा अधिकारी थिइन् ।
अभियन्ता सुरेन्द्र चौधरीले सह–प्रवक्ताको समेत भूमिका पाए । विगतमा रास्वपामा चर्चामा नरहेका डा. भक्तबहादुर राई केन्द्रीय सदस्य बनेका छन् ।
सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ । अब केन्द्रीय सदस्यमा ४२ जना मनोनीत गर्न बाँकी छ ।
केन्द्रीय सदस्य अपूर्ण राखेका सभापति लामिछानेले पदाधिकारीमा समेत पूर्णता दिएनन् । पदाधिकारीमा रिक्त पदमा उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहप्रवक्ता एक/एक जना मनोनीत गर्न बाँकी छ ।
प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई सभापति लामिछानले रोजे । तीन सह–प्रवक्ता पदमा शुक्रबार दुई जना नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरिएको छ ।
सुरेन्द्र चौधरी भने महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । अहिले उनलाई मनोनीतबाट केन्द्रीय सदस्य र सह–प्रवक्ताका जिम्मेवारी दिइएको छ ।
पदाधिकारीमा निर्वाचित केन्द्रीय सदस्य थपेर सचिवालय बनाउन सकिने विधानको व्यवस्था छ । सचिवालयमा संसदीय दलका उपनेता गणेश पराजुली, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, पूर्वप्रवक्ता मनिष झा, पूर्वकोषाध्यक्ष लिमा अधिकारी, नेताहरू दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, इन्दिरा रानामगर र शिव नेपालीलाई थपिएको छ ।
यसअघि पदाधिकारीमा रहेका ८, आज मनोनीत गरिएका ६ पदाधिकारीसहित केन्द्रीय सदस्यबाट थपिएका १० जना गरी सचिवालयको संख्या अब २४ पुगेको छ ।
प्रतिक्रिया 4