News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्चमा आफूले कुनै निवेदन नदिएको भन्दै आएका समाचार अस्वीकार गरेका छन्।
- उनले सर्वोच्चको पुनरावलोकन मुद्दा टुंगिनुअघि कांग्रेसको १५औँ महाधिवेशनका सबै प्रक्रिया रोक्न रिट लैजाने विषयमा कानुन व्यवसायीसँग परामर्श भइरहेको बताएका छन्।
- साँझ देउवा-खड्का समूहले सर्वोच्चमा पेस गरेको रिट प्रशासनले दर्ता नगरेपछि फिर्ता लिएको थियो, भने महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको छ।
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको १५औं महाधिवेशनको कार्यतालिकाअनुसार कामकारबाही रोक्न भन्दै सर्वोच्चमा आफूले कुनै निवेदन नदिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले आफ्नातर्फबाट १५औं महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट लिएर गएको भनेर समाचारहरू सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।
‘आज विभिन्न सञ्चार माध्यमहरूमा मेरो तर्फबाट पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट गएको तर सर्वोच्च अदालतले विभिन्न कारण देखाई रिट दर्ता नगरेको भनी आएका समाचारबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘प्रथमतः मेरो नामबाट–मेरो तर्फबाट आज सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको कुरा म सबैमा प्रस्ट पार्न चाहन्छु। यस्तो संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन, सामाजिक सञ्जालमा भ्रम नफैलाइदिनु हुन म सबैमा विनम्रताका साथ अनुरोध गर्न चाहन्छु।’
उनले पार्टीको संस्थापन समूहले १५औं महाधिवेशनको कार्यतालिका ल्याएकोप्रति पनि आपत्ति जनाएका छन्।
‘सम्मानित सर्वोच्च अदालतबाट हामीले पुनरावलोकनका लागि दिएका रिट जारी भई निस्सा समेत प्राप्त भइसकेको अवस्थामा विशेष महाधिवेशनको नामबाट बनेको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउने गरी हालै गरेको निर्णय पार्टीको सम्पूर्ण एकताको अहिलेको ऐतिहासिक आवश्यकता र सर्वोच्च अदालतको पुनरावलोकन गर्ने आदेश दुवैको सरासर विपरीत छ भन्ने हाम्रो ठम्याइ छ,’ उनले भनेका छन्, ‘यसर्थ, सम्मानित सर्वोच्च अदालतले पुनरावलोकनबाट मुद्दाको अन्तिम किनारा नलगाउन्जेलसम्म नेपाली काँग्रेसको १५औँ महाधिवेशनका सबै प्रक्रिया रोकिपाऊँ भनी कानुनी प्रबन्धबमोजिम रोक्काका लागि सम्मानित सर्वोच्च अदालतमा रिट–निवेदन लिएर जाने विषयमा हामी कानुन व्यवसायीहरूसँग गम्भीर परामर्शमा छौँ। चाँडै नै रिट–निवेदन सर्वोच्च अदालतमा लिएर जाने कुरा सम्बन्धित सबैमा प्रस्ट पार्न चाहन्छु।’
खड्काले छिटै रिट लिएर जाने बताए पनि आज उनीसहित रहेको शेरबहादुर देउवा समूहको तर्फबाट दीपक खड्का र अधिवक्ता श्रवण श्रेष्ठले सर्वोच्चमा रिट पेस गरेका थिए। सोही समूहका नेताहरूले खड्काले देउवाको र श्रेष्ठले खड्काको वारेसनामामार्फत रिट पेस गरेका थिए।
तर, सर्वोच्च प्रशासनले अध्ययनका लागि राख्ने भन्दै रिट दर्ता नगरेपछि साँझ पुन: देउवा-खड्का समूहले रिट फिर्ता लिएको थियो। कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तालिका सार्वजनिक भएको छ। सभापति गगन थापाले महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन्।
प्रतिक्रिया 4