News Summary
Generated by OK AI. Editorially reviewed.- नेतृ पम्फा भुसालले नेपाली कम्युनिष्ट पार्टीका अत्यधिक ठूला जम्बो समितिले पार्टीलाई बलियो नबनाउने बताइन् ।
- उनले मङ्सिरको महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
- भुसालले ठूला कमिटीमा प्रभावकारी संवाद नहुने र नेताहरूमा पदको मोह बढेको आरोप लगाइन् ।
६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाएकी छिन् ।
पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने टिप्पणी गरिन् । दर्जनौं पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको उनको भनाइ छ ।
मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
‘सङ्गठनात्मक संरचना जुन एउटा कम्युनिस्ट पार्टीको हुने हो, त्यो प्रकारको छैन । हामी एकताको एउटा विशिष्ट क्षणबाट आएका छौँ, त्यसैले हामी दर्जन सहइञ्चार्ज, दर्जन सहसंयोजक इत्यादि पनि हाम्रा निम्ति स्वीकार्य छन् । २४९९ भनेको केन्द्रीय समितिमा म किन परिनँको प्रश्नको जवाफ दिन ती अझै विस्तार हुँदैछन्,’ उनले भनिन्, ‘यो भनेको कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन, मैले बडा स्पष्ट भन्न चाहन्छु । त्यसैले हामी चाहिँ आगामी मङ्सिरमा गरिने महाधिवेशनको माध्यमबाट चुस्त–दुरुस्तको कम्युनिस्ट पार्टी निर्माण गर्ने एउटा कार्यभारलाई लिएर आएका छौं ।’
पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेको बताउँदै केन्द्रीय समितिसहित तल्ला तहका कमिटीहरूमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको दाबी गरिन् ।
पार्टी नेताहरूमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप उनको थियो ।
‘हामी केन्द्रीय कार्य सम्पादन समितिमा त धेरै लामो बैठक बस्यौँ, छलफल गर्यौँ । त्यो तलका समिति यति ठूला बनेर गएका छन् जहाँ दोहोरो संवाद करिब करिब हुन्न । कमरेडहरूका मनमा पनि धेरै कुरा छन्, राख्ने कुरा होलान् । दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन् । यस्ता सङ्गठन कम्युनिस्ट पार्टीका हुन्नन्,’ उनले भनिन्, ‘तर एउटा अचम्मको संस्कार हामीकहाँ आएको छ, हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नु हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको आदर्श हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको निष्ठा हुन्थ्यो । अनि केही कुरा आयो भने भो जिम्मा आयो भने भो अरूलाई दिनुस्, अर्को कमरेडलाई दिनुस्, पटकपटक चाहिँ त्यो प्रकारको हुन्थ्यो ।’
प्रतिक्रिया 4