+
+
Shares

सिमराको जनजीवन सामान्य बन्दै, वीरगञ्ज-पथलैया सडकमा गुड्न थाले गाडी

वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि सडकमै टेन्ट टाँगेर बुधबार बिहानदेखि स्थानीयबासी र मृतकका परिवारले गरेको आन्दोलनका कार्यक्रम शनिबार रातिदेखि फिर्ता भएपछि आइतबार बिहानैदेखि गाडीहरू चल्न थालेका छन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ७ गते ८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा चौधरीको हत्या विरोधमा गत बुधबारदेखि बन्द सिमराको सडक आइतबार बिहानदेखि सामान्य अवस्थामा फर्कन थालेको छ।
  • वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि चलाइएको आन्दोलन शनिबार रातिदेखि फिर्ता भएपछि गाडीहरू चल्न थालेका छन्।
  • गृह मन्त्रालयमा मध्यराति तीन बुँदे सहमति भएपछि मृतकका परिवार र स्थानीयले सडक छाडेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

७ भदौ, बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबारदेखि बन्द रहेको सिमराको सडक आइतबार बिहानदेखि सामान्य अवस्थामा फर्कन थालेको छ ।

वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि सडकमै टेन्ट टाँगेर बुधबार बिहानदेखि स्थानीयबासी र मृतकका परिवारले गरेको आन्दोलनका कार्यक्रम शनिबार रातिदेखि फिर्ता भएपछि आइतबार बिहानैदेखि गाडीहरू चल्न थालेका छन् ।

आन्दोलनका कारण रोकीएका मालबाहक सवारीहरू रातिनै गन्तव्यतर्फ लागेका छन् भने आइतबार बिहानबाट लामो तथा छोटो दुरीका यात्रुबाहक तथा मालवाहक सवारीहरू निर्वाध चल्न थालेका छन् ।

गत आइतबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरी घरबाटै बेपता भएकी थिइन् भने उनको शव दुई दिनपछि मंगलबार साँझ स्थानीय एक खाली घरमा हत्या गरेर राखिएको अवस्थामा बरामद भएको थियो ।

गरिमाको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले सोही राति स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । मृतक बालिकाका छिमेकीहरूकै हत्यामा संलग्न रहेको तथ्य बाहिरिएपछि बुधबार बिहानदेखि स्थानीयले नाबालिका बलात्कार र हत्यामा संलग्नहरूलाई फाँसी दिनुपर्ने लगायतका माग अघि सार्दै सडक संघर्ष गरेका थिए ।

शनिबार दिउँसोसम्म गरिमाको न्यायका लागि भएको संघर्ष देशव्यापी बन्दै गएपछि गृहमन्त्री सुदन गुरुङको आह्वानमा वार्ताका लागि मृतकका आमा मानमती चौधरी र बाबु मनोज चौधरीलाई काठमाडौं लगिएको थियो ।

गृह मन्त्रालयमा मध्यराति तीन बुँदे सहमति भएपछि सडक खुलेको हो । वार्ताका लागि मृतकका परिवार काठमाडौं गए पनि स्थानीयबासीले राति अबेरसम्म सडकमा धर्ना छाडेका थिएनन् ।

काठमाडौंमा मृतकका परिवारसँग गृह मन्त्रालयमा सहमति भएको जानकारी पछि राति १ बजे स्थानीयले सडक छाडेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?