News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका–१० पुरानो चोहर्वामा विद्युत् नियमित नहुँदा स्थानीयवासी बिहानैदेखि जेनेरेटरको पानीमा निर्भर हुनुपरेको छ।
- स्थानीयले राति पनि पटक-पटक बत्ती जाने, बालबालिका विद्यालय पठाउन र दैनिक कामकाज गर्न कठिन भएको भन्दै विद्युत् कार्यालय र जनप्रतिनिधिसँग गुनासो गरेका छन्।
- गोलबजार विद्युत् कार्यालयले रुख काट्ने, पोल सार्ने र लोड व्यवस्थापनका कारण शनिबारदेखि सेवा पटक–पटक अवरुद्ध भइरहेको जनाएको छ।
७ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका-१० पुरानो चोहर्वास्थित दशै महाजन टोलका नागरिक विद्युत् सेवाको अनियमितताका कारण सास्ती खेप्न बाध्य भएका छन्।
बिहानैदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी खानेपानीका लागि स्थानीय कमलेश रायको जेनेरेटरको भर पर्नुपरेको छ। रायले बिहानैदेखि जनरेटर सञ्चालन गरेपछि पानी भर्न स्थानीयको भीड लागेको छ। स्थानीयवासी बाल्टिन, हन्डी, पानीका बोतललगायतका भाँडाकुँडा बोकेर पानी भर्न पुगेका छन्।
पटक-पटक विद्युत् आउने-जाने र लामो समयसम्म अवरुद्ध हुने गरेकाले दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीको गुनासो छ। स्थानीय संजय रायले राति सुत्ने बेलासमेत पटक-पटक विद्युत् जाने गरेको बताए ।
‘राति सुत्ने अवस्था हुँदैन । गर्मीले छटपटाएर बाहिर आएर बस्नुपर्ने अवस्था आउँछ। बालबालिकालाई बिहान विद्यालय पठाउनुपर्छ। बिहान उठ्दा बत्ती हुँदैन। हातमुख कसरी धुने ?’ उनले भने, ‘खाजा कसरी पकाएर खुवाउने भन्ने समस्या हुन्छ । विद्युत् कति बेला आउँछ, कहिले जान्छ भन्ने ठेगान नहुँदा निकै समस्या भएको छ।’
अर्का स्थानीय भरोसी मण्डलले विद्युत् सेवाप्रति आक्रोश व्यक्त गर्दै विद्युत् आउने-जाने समयको कुनै ठेगान नरहेको बताए। ‘विद्युत्को पारा त हामीले थाहै पाउन सकेका छैनौं । कतिबेला आउँछ, कतिबेला जान्छ । दुःख हामीले भोग्नुपरेको छ’, उनले भने ।
मण्डलले विद्युत् कार्यालयका जिम्मेवार अधिकारीहरूले नागरिकको वास्तविक समस्या बुझ्नुपर्ने बताए। ‘विद्युत् नहुँदा नागरिक पानीबाट निकालिएको माछाजस्तै छटपटिनुपर्छ । हाकिम साबहरू एसीको हावा खाएर बसेका हुन्छन्’, उनले आरोप लगाए ।

स्थानीय रामबाबु रायले विद्युत् महसुल तिर्न एक दिन ढिला हुँदा जरिवानामाथि जरिवाना लगाउने तर नागरिकले नियमित सेवा नपाउँदा सम्बन्धित निकाय र जनप्रतिनिधिले चासो नदिएको गुनासो गरे। ‘चुनावका बेला घरघरमा बत्ती पुर्याउँछौं, पानी पुर्याउँछौं, जनताको समस्या समाधान गर्छौं भनेर विभिन्न आश्वासन दिइन्छ’, उनले भने, ‘तर जनता समस्यामा पर्दा सरकार र जनप्रतिनिधिलाई कुनै मतलब छैन ।’
उनले नागरिकमाथि थप करको भार थोपर्नुभन्दा सरकारले आधारभूत सेवा सहज, नियमित र भरपर्दो बनाउन ध्यान दिनुपर्ने बताए ।
यता, गोलबजार विद्युत् कार्यालयले चोहर्वा आसपास रुख काट्ने, पोल सार्नेलगायतका काम शनिबारदेखि नै भइरहेको जनाएको छ। कार्यालयका अनुसार उक्त कामका कारण विद्युत् सेवा पटक–पटक अवरुद्ध हुने गरेको हो। साथै, लोड व्यवस्थापनका कारण पनि विद्युत् आउने–जाने भइरहेको कार्यालयले जनाएको छ।
विद्युत् सेवाको अनियमितताका कारण गोलबजारको चोहर्वाका नागरिक मात्र नभइ सिरहा, धनगढीमाई, लहान, कर्जन्हा, मिर्चैया, विष्णुपुरलगायत जिल्लाका विभिन्न क्षेत्रमा समेत नागरिकले समस्या भोग्दै आएका छन् ।
स्थानीयवासीले विद्युत् सेवा नियमित बनाउन, पटक–पटक हुने अवरोधको दीर्घकालीन समाधान खोज्न तथा नागरिकलाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित विद्युत् कार्यालय र जनप्रतिनिधिसँग माग गरेका छन्।

प्रतिक्रिया 4