+
+
Shares

जाजरकोटवासीको पीडा : भूकम्पको घाउ नपुरिंदै पहिरोले उठीबास

तीन वर्षअघि जाजरकोटमा गएको भूकम्पले ठूलो जनधनको क्षति भयो । पुनर्निर्माणको काम पनि भएको छैन । भूकम्पले बचेका घर पनि अघिल्लो साता आएको पहिरोले बगाएको छ । फेरि जाजरकोटवासी घरबारविहीन भएका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ ९ गते ६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटमा साउन अन्तिम सातादेखि भदौ पहिलो सातासम्मको बाढीपहिरोले भेरी, जुनीचाँदे र नलगाडका ३०३ परिवार विस्थापित भएका छन् ।
  • भेरी नगरपालिका–२ रिसाङको पहिरोमा चारजनाको मृत्यु भएको छ भने २३७ परिवार विद्यालय, टेन्ट र आश्रममा आश्रय लिएर बसिरहेका छन् ।
  • जुनीचाँदे गाउँपालिका–६ डोग्रामा आएको बाढीमा ६४ वर्षीय देवबहादुर सिंह र ३९ वर्षीया रचना थापा बेपत्ता भएका छन् ।

९ भदौ, जाजरकोट । झन्डै तीन वर्षअघि गएको भूकम्पको पीडा बिर्सन नपाउँदै बाढीपहिरोले जाजरकोटवासीलाई फेरि घरबारविहीन बनाएको छ । भूकम्पले चर्काएका र कमजोर बनेका घरमा जसोतसो जीवन धानिरहेका परिवारलाई पछिल्लो पहिरोले उठीबास लगाएको हो।

गत साउन अन्तिम सातादेखि भदौ पहिलो सातासम्म आएको बाढीपहिरोका कारण भेरी नगरपालिका, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाका ३०३ परिवार विस्थापित भएका छन्। घर पूर्ण रूपमा क्षतिग्रस्त भएका, आंशिक क्षति पुगेका तथा जोखिममा रहेका परिवार अहिले विद्यालय, अस्थायी टेन्ट, आश्रम र आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकाका २३७ परिवार विद्यालय, आश्रम तथा टेन्टमा छन्। जुनीचाँदेका ६० र नलगाडका ६ परिवार आफन्तको शरणमा छन्।

रिसाङको पहिरोले ४ जनाको ज्यान लियो

भेरी नगरपालिका–२ रिसाङमा गत ३० साउनमा गएको पहिरोमा परी चारजनाको मृत्यु भएको थियो। १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने आसपासका करिब तीन सय घरपरिवार पहिरोको जोखिममा छन् । तीमध्ये २३७ परिवार विस्थापित भएको भेरी नगरपालिकाको विपत् व्यवस्थापन शाखाले जनाएको छ। उनीहरू चारवटा आश्रयस्थलमा बसिरहेका छन्।

विद्यालयमा ८० परिवार, टेन्टमा सारिँदै १५० परिवार

रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालय नजिक बनाइएको टेन्टमा १५० परिवार, घदार्नेटास्थित विष्णु प्राथमिक विद्यालयमा ६५, स्यालास्थित विजय प्राथमिक विद्यालयमा १५ र थाप्लेस्थित महिला आश्रममा सात परिवार बसिरहेका छन् ।

विद्यालयमा लामो समय प्रभावित परिवार राख्दा पठनपाठन प्रभावित हुने भएपछि मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीको सिफारिसमा रिसाङमा १९ वटा अस्थायी संरचना निर्माण गरिएको हो। भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम भइरहेको बताए।

त्रिभुवन विद्यालयमा रहेका एक सय ५० परिवारमध्ये सबैजसोलाई नजिकै टेन्ट बनाएर राखेका छौं’, उनले भने, ‘खानाका लागि एकीकृत मेस चलाएका छौँ। अहिले तथ्यांक संकलनको काम भइरहेको छ। अब अस्थायी आवासको प्रबन्ध गर्छौं।’

‘घर पनि रहेन, अन्नपात पनि सबै बगायो’

भेरी–२ बासपानीकी धनसरी कामीका लागि विपत्तिमाथि विपत्ति थपिएको छ। भूकम्पपछि अस्थायी आवासमा बस्दै आएकी उनको आश्रयसमेत पहिरोले बगाएपछि अहिले सेल्टरमा बस्नुपरेको छ।

‘घर पनि रहेन, अन्नपात पनि सबै बगायो। सरकारले बनाइदिएको यही सेल्टरमा बस्नुपरेको छ। अहिलेसम्म सरकारले ओढ्ने–ओछ्याउनेबाहेक अरू कुनै व्यवस्था गरेको छैन। अब कसरी बाँच्ने भन्ने चिन्ता छ,’ उनले भनिन्।

बिरामीलाई सेल्टरको भुईं, पशु जोगाउन जोखिमपूर्ण यात्रा

भेरी–२ घुनस गाउँकी ढोलेनी पुन पहिरोको जोखिमका कारण घर छाडेर अस्थायी सेल्टरमा पुगेकी छन्। बिरामी अवस्थामै सेल्टरको भुइँमा सुत्नुपरेको उनको गुनासो छ। घर छाडे पनि पशुचौपाया त्यहीँ रहेकाले बिहान–साँझ ज्यान जोखिममा राखेर घर पुग्नुपर्ने बाध्यता रहेको उनले बताइन्। सोही वडाकी दीपा थापाले एउटै कोठामा आठजनासम्म बस्नुपरेको बताइन्।

भूकम्पले कमजोर बनाएको घर पहिरोले लग्यो

भेरी–३ का पूर्णबहादुर विकले भूकम्पपछि चर्किएको घर मर्मत गरेर बसिरहेका थिए। तर ३० साउनमा घरमाथिबाट खसेको पहिरोले उनको घर नै बगाएपछि परिवारसहित स्यालास्थित विजय आधारभूत विद्यालयमा आश्रय लिनुपरेको छ।

मृतक परिवार आफन्तको घरमा किरिया

पहिरोमा ज्यान गुमाएका परिवारका घरसमेत पहिरोले पुरिएपछि आफन्तको घरमा किरिया बस्नुपर्ने अवस्था आएको छ । पहिरोमा ज्यान गुमाएका भीमबहादुर कार्कीका तीन छोरा चिसापानीबाट सदरमुकाम खलंगामा आएर किरिया बसिरहेका छन्।

खत्री परिवारले पनि आफन्त झुपलाल खत्रीको घरमा किरियाको काम गरिरहेको छ । वडाध्यक्ष भीमबहादुर कार्कीले शिविरमा बस्ने अवस्था व्यवस्थित नहुँदा विस्थापितमा स्वास्थ्य समस्या देखिन थालेको बताए।

जुनीचाँदेमा दुईजना अझै बेपत्ता

जुनीचाँदे गाउँपालिका–६ डोग्रामा सेती र छिर्के खोलामा आएको बाढीमा परी ६४ वर्षीय देवबहादुर सिंह र ३९ वर्षीया रचना थापा बेपत्ता भएका छन् । बाढीले चार घरमा क्षति पुर्‍याएको छ भने आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ। जोखिमका कारण ६० परिवार विस्थापित भएर आफन्तको घरमा बसिरहेका छन्।

सडक अवरुद्ध हुँदा खोजी र उद्धारमा कठिनाइ

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि बेपत्ताको खोजीमा जुटेका छन्। तर निरन्तरको वर्षा र दुर्गम भूगोलका कारण उद्धारमा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बर्खायाममा जुनीचाँदेको कच्ची सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा सवारीसाधन पुग्न सक्ने अवस्था छैन। पैदल बाटोबाटै पुग्नुपर्ने भएकाले राहत, खोजी र उद्धारमा चुनौती थपिएको छ।

नलगाडमा चार घर भत्किए, ६६ परिवार विस्थापित

नलगाड नगरपालिकामा गत २८ साउनमा गएको पहिरोले चार घर भत्काएको छ भने दुई घर जोखिममा छन्। पहिरोका कारण ६६ परिवार विस्थापित भएर आफन्तको घरमा बसिरहेका छन्।

भेरी–२ रिसाङका दुई सय प्रभावित परिवारलाई सेभ द चिल्ड्रेन सहयोगमा स्थानीय संस्थाको अगुवाइमा करिब २३ लाख रुपैयाँबराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको छ । प्रभावितलाई त्रिपाल, समर ब्ल्यांकेट, किचेन सेट र डिग्निटी किटलगायत सामग्री वितरण गरिएको हो। त्यस्तै नलगाडमा प्रतिवद्ध परियोजनाले नलगाडमा  ३० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । उक्त राहत नलगाड १० मा वितरण गरिएको छ । अन्य ठाउँमा पनि वितरणको तयारी रहेको छ ।

स्वास्थ्य सेवा सहज बनाउन चार स्वास्थ्यकर्मी खटिए

बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन कर्णाली प्रदेश सरकारले चार स्वास्थ्यकर्मी खटाएको छ । डा. कुलराज शाही, अहेव चन्द्र शाही, ल्याब सहायक निर्मल बुढा र नर्सिङ अधिकृत रत्ना दैबोटालाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा परिचालन गरिएको छ।

पुनर्निर्माणभन्दा अघि पुनर्वासको चुनौती

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले क्षतिको विवरण संकलन भइरहेको र विवरण प्राप्त भएपछि आवश्यक बजेटको व्यवस्था गरी पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढाउने बताए।

‘तथ्यांक आउनासाथ आवश्यक बजेटको प्रबन्ध मिलाएर पुनर्स्थापना र पुनर्निर्माणको काम अघि बढाउँछौँ,’ उनले भने, ‘विपत्पछि जाजरकोटका नागरिकको जीवनस्तर कसरी सामान्य अवस्थामा फर्काउने भन्ने विषयमा प्रदेश सरकार गम्भीर छ।’

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?