News Summary
Generated by OK AI. Editorially reviewed.- सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको सानफ्रान्सिस्कोको लामिना ल्याब्सले थप फलो-अन फन्डिङ जुटाएर कुल ४८ लाख अमेरिकी डलर लगानी पुर्याएको छ।
- कम्पनीले यो लगानी इन्जिनियरिङ टिम विस्तार र प्रमुख प्रडक्ट सिमीलाई स्केल गर्न प्रयोग गर्ने जनाएको छ।
- सिमीले ८० भन्दा बढी भाषा सपोर्ट गर्दै टेक्स्ट, डकुमेन्ट वा वेबसाइट लिंकलाई सेकेन्डभित्र ह्वाइटबोर्ड शैलीको एनिमेसन भिडियोमा रूपान्तरण गर्छ।
९ भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको सानफ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भित्र्याएको छ ।
यसअघि प्राप्त ३० लाख अमेरिकी डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म कुल ४८ लाख डलर लगानी जुटाइसकेको हो ।
वाई कम्बिनेटरबाट सुरुमा ५ लाख डलर र पछि पहिलो लगानीकर्ताबाटै सिधै ३० लाख डलर पाएको लामिना ल्याब्सले थप फलो–अन फन्डिङ मार्फत यो रकम जुटाएको हो ।
‘अब हामीले उठाएको फन्ड कुल ४८ लाख डलर पुगेको छ, यसअघि ३० लाख डलर उठाएका थियौं,’ यसका सहसंस्थापक सुदीप रोकायाले अनलाइनखबरसँग भने ।
कम्पनीका लगानीकर्तामा वाई कम्बिनेटर र फाउन्डेसन क्यापिटल छन् ।
लिंक भेन्चर्सले पनि आफ्नो २०२६ पोर्टफोलियोमा लामिना ल्याब्सलाई सूचीकृत गर्दै यसलाई एआईका लागि ‘भिजुअल आउटपुट लेयर’ निर्माण गर्ने कम्पनीका रूपमा उल्लेख गरेको छ ।
कम्पनीले यो लगानी आफ्नो इन्जिनियरिङ टिम विस्तार गर्न र प्रमुख प्रडक्ट सिमीलाई स्केल गर्न प्रयोग गर्ने जनाएको छ ।
लामिना ल्याब्सको प्रमुख प्रडक्ट सिमीले प्रयोगकर्ताले दिएको टेक्स्ट प्रम्प्ट, डकुमेन्ट वा वेबसाइट लिंकलाई सेकेन्डभित्र ह्वाइटबोर्ड–शैलीको एनिमेसन भिडियोमा रूपान्तरण गर्छ । यसले ८० भन्दा बढी भाषा सपोर्ट गर्छ, जसमा नेपाली पनि समावेश छ ।
प्रयोगकर्ताले भिडियोको लम्बाइ र फर्म्याट (युट्युब, टिकटक वा इन्स्टाग्राम रिल्सका लागि उपयुक्त) समेत छनोट गर्न सक्छन् ।
प्रडक्ट सार्वजनिक भएको १२ दिनभित्र सिमीले करिब ४ हजार प्रयोगकर्ता र १ सय ८७ भुक्तानी गर्ने ग्राहक जोडेको थियो । लिंक भेन्चर्सका अनुसार हाल कम्पनीको भुक्तानी गर्ने ग्राहक संख्या १ सय ९० नाघिसकेको छ ।
प्रारम्भमा शिक्षा क्षेत्रलाई लक्षित गरिएको यो प्रडक्टको प्रयोगकर्तामा भने अमेरिकाका साना तथा घरेलु व्यवसायीको संख्या बढी रहेको संस्थापकहरूले जनाएका छन् ।
लामिना ल्याब्स वाई कम्बिनेटरको स्प्रिङ २०२६ ब्याचमा छनोट हुने पहिलो पूर्ण–नेपाली संस्थापक टिम भएको कम्पनी हो ।
संस्थापक रोकाया हुम्ला सिमीकोट र कार्तिकेश मिश्र रौतहटका हुन्, जो एमआईटीमा अध्ययन क्रममा भेटेका थिए । कम्पनीको प्रडक्ट सिमीको नामकरण पनि रोकायाको जन्मस्थान सिमीकोटकै आधारमा गरिएको हो ।
प्रतिक्रिया 4