News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भीषण बाढीका कारण सञ्चालनमा रहेका ८ र निर्माणाधीन ५ गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् ।
- प्राधिकरणका अनुसार प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट छ, जसमा सञ्चालनमा रहेका ३५४ मेगावाट र निर्माणाधीन ३९४ मेगावाट छन् ।
- बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना प्रभावित पारेको छ, र वास्तविक क्षतिको विवरण स्थलगत अध्ययनपछि मात्र यकिन हुने प्राधिकरणले जनाएको छ ।
१० भदौ, काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थाका हुन् ।
नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण असर परेकामा सञ्चालनमै रहेका ३५४ मेगावाट क्षमताका ८ वटा आयोजना छन् । त्यस्तै ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजना प्रभावित बनेका छन् । यसरी बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट रहेको छ ।
रसुवा जिल्लामा मात्रै सञ्चालनमा रहेका प्रमुख जलविद्युत् आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, रसुवा- भोटेकोशी १२० मेगावाट, माथिल्लो मेलुङ-ए ६.४२ मेगावाट, सान्जेन खोला ७८ मेगावाट, लाङटाङ खोला २० मेगावाट र चिलिमे २२ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएका छन् ।
बाढीको प्रभाव रसुवासँगै छिमेकी नुवाकोटका जलविद्युत् आयोजनामा समेत परेको छ । नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा त्रिशूली जलविद्युत् आयोजना २४ मेगावाट, देवीघाट जलविद्युत् आयोजना १४.१ मेगावाट, माथिल्लो त्रिशूली-३ ए ६० मेगावाट, माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट, मिडल त्रिशुली गंगा १५.६ मेगावाट र २५ मेगावाटको सोलार आयोजना रहेका छन् । विवरणअनुसार नुवाकोटमा सञ्चालनमा रहेका ४ आयोजनाको कुल क्षमता १२३ मेगावाट छ ।
नुवाकोटमा माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट र मिडल त्रिशूली गंगा १५.६ मेगावाट आयोजना निर्माणाधीन अवस्थाका हुन् । यी दुई आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको छ ।
प्राधिकरणको यो विवरण प्रारम्भिक भएकाले बाढीबाट आयोजनाका बाँध, विद्युतगृह, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा भएको वास्तविक क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै यकिन हुनेछ ।

प्रतिक्रिया 4