१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण प्रभावित जिल्लाका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाको अवधिको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।
यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको छ ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको विवरण आएका छन् ।
यो घटनाबारे संसदलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा विपद् संकटग्रस्त क्षेत्रको घोषणा सम्बन्धी व्यवस्था छ ।
यसको उपदफा १ अनुसार नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएको अवस्थामा विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।
तोकिएको अवधिभित्र विपद्बाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन पनि सक्नेछ ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राष्ट्रियस्तरको सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण समेत गर्नु, गराउनुपर्नेछ ।
प्रतिक्रिया 4