News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना क्षतिग्रस्त बनाएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए ।
- बाढी आउनुअघि सबै विद्यार्थी बाहिर निकालिएकाले विद्यालयभित्र ठूलो मानवीय क्षति नभएको र करिब ५० जना डाँडातिर सुरक्षित रहेको उनले बताए ।
- विद्यालयछेउको महिला छात्रबासका ३० छात्रा पनि सुरक्षित निकालिएको र विद्यालयका ३ बस सुरक्षित अवस्थामा रहेको दवाडीले बताए ।
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय क्षतिग्रस्त बन्यो ।
बाढीले विद्यालयको भौतिक संरचना नष्ट भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कुलभित्र ठूलो मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए ।
उनका अनुसार बिहान करिब ९:१५ बजे आएको बाढीले विद्यालय क्षेत्रमा ठूलो क्षति पुर्यायो । तर बाढी स्कुलभित्र पस्नुअघि नै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिसकिएको थियो ।
‘बाढी आउनुभन्दा अगाडि स्कुलभित्र एक जना पनि विद्यार्थी थिएनन् । बाढी पसेपछि म र प्रदीप पण्डित सर सबैभन्दा अन्तिममा निस्केका हौं,’ प्रधानाध्यापक दबाडीले घटनाको विवरण दिँदै भने, ‘निकाल्दै गर्दा हामीले विद्यार्थीहरूलाई माथि डाँडातिर जान भनेका थियौँ । तर उनीहरू छरिएर आउने क्रममा पुलतर्फ केही क्याजुल्टी भयो कि भन्ने अनुमान छ । हामीले स्कुलबाट निकाले पनि अहिले को विद्यार्थी कता छन् भन्ने यकिन थाहा हुन सकेको छैन ।’
विद्यालयको छेउमै सञ्चालित महिला छात्रबासमा पनि ३० जना छात्राहरू बस्थे । बाढीले सबैभन्दा पहिले सोही होस्टेललाई हानेको भए पनि त्यहाँ रहेका सबै छात्राहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रधानाध्यापक दबाडीले जानकारी दिए ।
अहिले केही शिक्षक, कर्मचारी र विद्यार्थीसहित करिब ५० जना व्यक्तिहरू त्रिशूली बजार नजिकैको माथिल्लो डाँडामा सुरक्षित रहेको उनले बताए । अहिले उक्त क्षेत्रमा नेटवर्क र सञ्चार सम्पर्क विच्छेद भएको छ । बिजुली बत्ती पनि नभएकाले फोनलगायतका उपकरण पनि अफ हुने अवस्थामा पुगिसकेका छन् ।
‘सबै विद्यार्थी विद्यालयसँगै बगे भन्ने भ्रामक खबर देखिरहेको छु, त्यो एकदमै गलत हो । अन्तिममा म स्कुलबाट निस्किँदा त्यहाँ कोही थिएनन् । अब विद्यालयबाट निस्किएपछि को कता गए भन्ने थाहा छैन,’ उनले थपे ।
कतिपय अभिभावकले आफ्नो बच्चा नभेटिएको भन्दै फोन गरिरहेका छन् भने कतिपयले घर आइपुगेको जानकारी दिएको पनि दबाडीले बताए ।
उनका अनुसार बाढीले विद्यालयको भौतिक संरचना खण्डहर बनाए पनि स्कुलका ३ वटा बसहरू भने सुरक्षित अवस्थामा छन् ।
विद्यालय परिसर मात्र नभई त्रिशूली बजारको स्थानीय व्यापारिक क्षेत्र र बस्तीहरूमा पनि बाढीले ठूलो तहसनहस पारेको छ । बजार क्षेत्रमा मानवीय क्षति भएको, मानिसहरू घरभित्रै फसेको र उद्धार कार्य अझै पूर्ण रूपमा सहज बन्न नसकेको दवाडीको भनाइ छ ।
विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने जम्मा विद्यार्थी संख्या १ हजार ६४३ जना छ ।
प्रतिक्रिया 4