News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको टिमुरेमा बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीको पत्नी, दुई छोरा र दुई छोरीलाई बगाएको छ।
- बुधबार बिहान आएको बाढीमा घर भत्किँदा बुढाथोकी घाइते भए र अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।
- बुढाथोकीले दशैं–तिहारमा परिवारसहित घर फर्किने योजना बनाएका थिए, तर बाढीले उनको घर र सपना दुवै बगाएको छ।
१० भदौं, काठमाडौं । करिब पाँच वर्षदेखि रसुवाको टिमुरेमा बस्दै आएका सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीले यो वर्षको दशैं–तिहारमा घर फर्किने योजना बनाएका थिए ।
परदेशजस्तै बनेको हिमाली गाउँमा वर्षौं पसिना बगाएपछि परिवारलाई लिएर आफ्नो जन्मथलो फर्किने सपना थियो ।
तर बुधबार बिहान आएको बाढीले उनको त्यो सपना मात्र होइन, सिंगो संसार नै बगाइदियो ।
अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आकस्मिक कक्षमा उपचाररत बुढाथोकीको शरीरभरि चोट छन् । उनी घाइते छन् । तर शरीरका घाउभन्दा गहिरो चोट उनको मनमा छ । आफ्नै आँखाअगाडि पत्नी, दुई छोरा र दुई छोरीलाई बाढीले बगाएको छ । उनीहरु कस्तो अवस्थामा छन्, कुनै अत्तोपत्तो छैन ।
‘दुई छोरा, दुइ छोरी, बुढीलाइ बाढीले बगायो ,’ बुढाथोकीले आँखा रसाए , ‘ यस्तो बाढी अहिलेसम्म देखेको थिइन् । परिवार सकुशल छन् भन्ने आशा छैन ।’
बुढाथोकी परिवारसहित टिमुरेमै बस्दै आएका थिए । उनी फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँथे ।
बुधबार बिहान पनि उनी कामकै सिलसिलामा निस्किएका थिए ।

‘करिब ९ बजेर १० मिनेट गएको हुँदो हो,’ उनले घटनाको क्षण सम्झिए, ‘म फोहोरको गाडी चलाउँछु । तल जाम भएको देखे । घरमा खाना खाएर जानुपर्यो भनेर घर नै फर्किँदै थिए।’
घरको आँगन नजिकै पुग्दै गर्दा उनले जीवनमा कहिल्यै नबिर्सने दृश्य देखे । तर त्यो दृश्य देख्नुअघि बाढी आइपुगिसकेको थियो ।
‘जाँदाजाँदै आँगनमा पुग्नेबेला उताबाट एक्कासि आयो,’ उनले भने, ‘ बाढी आएको थाहै भएन।’
एकैछिनअघिसम्म परिवारसँग भेट्न घर फर्किरहेका उनी केही क्षणमै ज्यान जोगाउन भागिरहेका थिए । बाढीको वेग कति भयानक थियो भन्ने सम्झनासमेत उनीसँग पूरा छैन ।
उनी भाग्ने प्रयास गरिरहँदा परिवार टहरामा थिए ।
‘आँगन कुनाबाट म भागेर बाँच्न सफल भएँ,’ बरबर आँसु झार्दै उनले भने, ‘ तर उनीहरुलाइ सहित टहरो आँखैअगाडि बगायो ।’
‘घर फर्किने कुरा थियो, दशैं–तिहारमा…’
टिमुरेमा बस्न थालेको पाँच वर्ष भएको थियो । संघर्षका ती वर्ष सकाएर अब घर फर्किने कुरा परिवारमा चल्न थालेको थियो । ‘अब दशैंमा घर फर्कने भन्ने कुरा थियो,’ उनले भने।’
जसका लागि उनी दिनभरि गाडी चलाउँथे, जसका लागि कमाउँथे, जसलाई लिएर दशैंमा घर फर्किने सपना देख्थे । आज उनीहरूमध्ये कोही पनि साथमा छैनन् ।
बाढीले घर मात्र भत्काएन, बुढाथोकीको परिवारको नामोनिसान नै मेटाइदिएको छ ।
घर ढल्दै गर्दा डन्डी समाएर बाँचे
बुढाथोकी आफैं पनि बाढीको चपेटामा परेका थिए । पानीको भीषण वेगले घर भत्किँदै गर्दा उनी भित्रै चेपिए ।
‘हामी बसेको घर ढल्ने बेलामा मलाई यहाँ चेपिसकेको थियो,’ उनले आफ्नो घाइते शरीरतिर संकेत गर्दै भने, ‘हात मुनि परेर भित्तामा चेपिएको थियो ।’
ज्यान जोगाउन उनले बारको डन्डी समाते ।
‘मैले एउटा बार बनाएको थिए, त्यसमा डन्डी गाडेको रहेछ,’ उनले भने, ‘त्यही डन्डी समाएर अडिरहेँ।’
भेलको वेग केही तलतिर सरेपछि उनी जसोतसो बाहिर निस्किए । शरीरबाट रगत बगिरहेको थियो । घाइते अवस्थामै उनी माथितिर उक्लिन थाले।
‘बिस्तारै–बिस्तारै गर्दै माथि गएँ,’ उनले भने, ‘धेरै रगत बगिसकेको थियो ।’
पछि त्यहीँका साथी काम गर्नेहरूले उनलाई उद्धार गरे । हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइयो ।

बाढी आउँदा वरिपरि मानिसहरू पनि थिए । तर सबै कुरा यति छिटो भयो कि कसैले कसैलाई बचाउन सक्ने अवस्था नै बनेन । ‘एक निमेषमै सबै लिएर गयो,’ उनले भने, ‘कोही बाँचेको छैन।’
बाहिर रहेका र बाढी आउने बाटोतिरबाट झलक्क देखेर भाग्न सकेका केही मानिस बाँचे होलान् भन्ने आशा उनलाई छ । तर आफ्नै घरभित्रका पाँच सदस्य भने फर्केर आउने सम्भावना छैन ।
शरीरमा चोट छ, आँखामा पीडा छ र मनमा एउटा यस्तो रिक्तता छ, जसलाई कुनै औषधिले निको पार्न सक्दैन।
घर बगायो, परिवार बगायो र जीन्दगीको सबै सपना बाढीले बगायो ।
प्रतिक्रिया 4