News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ बाढी तथा पहिरोबारे चीनले पूर्वसूचना नदिएको आरोपलाई पूर्णतः भ्रामक र असत्य भनेको छ।
- दूतावासले २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ भूकम्प वा झड्काजस्तो हिमपहिरो गएको र त्यसैबाट ठूलो पहिरो निम्तिएको दाबी गरेको छ।
- चिनियाँ दूतावासले आरोप लगाउनुभन्दा मिलेर उद्धार र राहतमा खटिनुपर्ने भन्दै \'आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ\' भनेको छ।
११ भदौ, काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो।
नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरिएको एक स्पष्टीकरण सन्देशमा चिनियाँ पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरूलाई ‘फेक न्युज’ को छाप लगाउँदै असत्य ठहर गरेको छ।
दूतावासका अनुसार, चीनले नेपाली पक्षलाई पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद् बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी व्यहोर्नुपर्यो भन्ने दुई आरोप गलत हुन् ।
के छ चिनियाँ पक्षको दाबी ?
चिनियाँ पक्षले यी आरोपहरूलाई नकार्दै वास्तविक घटनाक्रम फरक रहेको दाबी गरेको छ।
दूतावासको स्पष्टीकरणअनुसार, २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको थियो।
सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याउनुका साथै मानिसहरू बेपत्ता भएका हुन्।
विपद्को यस संवेदनशील घडीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश चीनले दिएको छ।
दूतावासले भनेको छ, ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ ।’
प्रतिक्रिया 4