+
+
Shares

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि राहत र उद्धारबारे मुख्यसचिवसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन्।
  • उनले घाइतेको नि:शुल्क उपचार, विस्थापितलाई तत्काल राहत र क्याम्पहरू व्यवस्थित, सफा तथा गोपनीयतासहित राख्न निर्देशन दिएका छन्।
  • प्रधानमन्त्रीले बाढीले क्षतिग्रस्त सडक, विद्युत् र सञ्चार संरचना यथाशीघ्र सुचारु गर्न एकीकृत कार्ययोजना बनाउन भनेका छन्।

११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् ।

​बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् ।

​बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।

​प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई दु्रत बनाउन, घाइतेहरूको नि:शुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्‍याउन कडा निर्देशन पनि दिएका छन् ।

​विशेषगरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

उनले क्याम्पहरूमा व्यक्तिगत गोपनीयता (प्राइभेसी) को पालना सुनिश्चित गर्न, तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न निर्देशन दिएका छन् ।

​साथै, बाढीका कारण क्षतिग्रस्त बनेका सडक, विद्युत् तथा सञ्चार संरचनाहरू यथाशीघ्र सुचारु गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित लाग्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?