+
+
Shares

हेलिले घाइते ओसारिरह्यो, स्वास्थ्यकर्मी उपचारमा जुटिरहे

बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको उपचारमा व्यस्त थिए ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ भदौ ११ गते २०:५४
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी बाढीपहिरोपछि रसुवा अस्पतालले बुधबार ५३ र बिहीबार १० घाइतेको उपचार गरी गम्भीर बिरामीलाई काठमाडौं रेफर गरेको छ ।
  • अस्पताल बत्ती र नेटवर्कविहीन भएर जेनेरेटरमा चलेको छ, तर इन्धन सकिन लागेको डा. अमित प्रजापतीले बताए ।
  • स्वास्थ्य मन्त्रालय, डब्लूएचओ र वीर अस्पतालको टोलीले सहयोग गरे पनि हराएकाहरूको खोजी र उद्धार कार्य अझै जारी छ ।

११ भदौ, काठमाडौं । हेलिकप्टरको आवाजले बुधबार दिनभर रसुवागढीको आकाश गुञ्जियो । कतैबाट घाइते बोकेर हेलिकप्टर आइरहेका थिए, कतै विस्थापित मानिसलाई सुरक्षित ठाउँतर्फ लगिरहेका थिए ।

बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको उपचारमा व्यस्त थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतीका अनुसार बुधबार अचानक ठूलो संख्यामा घाइते अस्पताल आइपुग्दा व्यवस्थापन गर्न निकै कठिन भएको थियो । बाढीबाट उद्धार गरेर ल्याइएका घाइतेमध्ये कतिपय गम्भीर अवस्थामा थिए ।

‘हिजो एक्कासि घाइते धेरै आए,’ डा. प्रजापती भन्छन्, ‘पहिरोमा पुरिएका बिरामी थिए । हातखुट्टा भाँचिएका, टाउको र मुखमा चोट लागेका र विभिन्न ठाउँमा गम्भीर चोट भएका बिरामी धेरै थिए ।’

अस्पतालले बुधबार ५३ जना र बिहीबार १० जना बिरामीको उपचार गरेको उनले बताए । तीमध्ये गम्भीर बिरामीलाई काठमाडौं रेफर गरिएको छ । केही सामान्य घाइते उपचारपछि डिस्चार्ज गरिएको छ ।

बिहीबार बेलुकासम्म चार जना घाइते अस्पतालमा भर्ना छन् ।

घाइतेमध्ये धेरैजसो ‘पोलीट्रमा’ अर्थात् शरीरका विभिन्न भागमा एकैपटक गम्भीर चोट लागेका बिरामी थिए । विशेषगरी टाउकोमा गम्भीर चोट लागेका बिरामीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गरिएको उनले बताए ।

तर, घाइते व्यवस्थापन गर्नु मात्र अस्पतालको चुनौती थिएन ।

बत्ती छैन । नेटवर्क छैन । अस्पताल जेनेरेटरको भरमा चलिरहेको छ । जेनेरेटर चलाउन आवश्यक इन्धन पनि सकिनै लागेको छ ।

‘अहिले जेनेरेटर चलाइरहेका छौं, तेल लगभग सकिएको छ,’ डा. प्रजापति भन्छन्, ‘बत्ती आउन अझै कति दिन लाग्ने हो ? इन्धनको व्यवस्थापन भएन भने उपचार सेवा नै प्रभावित हुन सक्छ ।’

बिहीबार दिँउसोदेखि मात्रै मोबाइलको नेटवर्क चल्न थालेको छ । १० मिनेट नेटवर्क आउने र फेरि सम्पर्क टुट्ने अवस्था रहेको उनले बताए ।

बिजुली नहुँदा ब्याट्री ब्याकअपले पनि लामो समय धान्न सक्दैन । ‘ब्याकअपले तीन–चार घण्टा मात्र धान्छ,’ उनी भन्छन्, ‘एक पटक ब्याट्री सकिएपछि फेरि चार्ज गर्न बिजुली नै चाहियो । त्यसैले अस्पतालका लागि इन्धन अहिले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।’

बुधबार अस्पतालमा घाइतेको चाप अत्यधिक हुँदा स्वास्थ्यकर्मीले श्वास फेर्ने फुर्सदसमेत पाएनन् ।

‘डिजास्टरमा सबै कुरा सहज हुँदैन,’ डा. प्रजापती भन्छन्, ‘बत्ती पनि छैन, नेटवर्क पनि छैन । यस्तो अवस्थामा आएका घाइतेलाई व्यवस्थापन गर्न गाह्रो त भयो, तर सबैले मिलेर म्यानेज गर्‍यौं।’

उनका अनुसार अहिले औषधि, उपकरण र जनशक्तिको अवस्था भने तत्कालका लागि पर्याप्त छ । स्वास्थ्य मन्त्रालयबाट सामग्री पुगेका छन् भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट पनि सहयोग प्राप्त भएको छ । वीर अस्पतालको टोलीसमेत घटनास्थल पुगेको छ ।

‘अहिलेलाई जनशक्ति, औषधि र उपकरणको हिसाबले ठिकै छ,’ उनी भन्छन्, ‘हाम्रा आफ्नै स्टाफ र बाहिरबाट आएको टोलीले मिलेर काम गरिरहेका छौं ।’

तर, लगातारको कामले स्वास्थ्यकर्मी थाकिसकेका छन् ।

‘हिजोदेखि लगातार काम गरेकाले अलिकति थकाइ लागेको छ,’ डा. प्रजापती भन्छन्, ‘तर घाइते आउँदा थकाइ हेरेर बस्ने अवस्था हुँदैन ।’

बिहीबार पनि हराएकाहरूको खोजी कार्य जारी छ । घाइतेभन्दा बढी विस्थापित व्यक्तिहरूको उद्धार भएको उनले बताए ।

‘उद्धारको ठ्याक्कै संख्या सेना र उद्धार टोलीलाई थाहा होला,’ उनले भने, ‘हामीले अस्पतालमा आउने बिरामी हेर्छौं । अहिले खोजी अझै भइरहेको छ ।’

बिहीबार अस्पतालको चाप बुधबारको तुलनामा केही कम भएको छ । तर बाढी र पहिरोले पुर्‍याएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । सम्पर्कविहीन बस्तीहरू छन्, खोजी जारी छ र उद्धारका क्रममा थप घाइते भेटिन सक्ने सम्भावना पनि उत्तिकै छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?