+
+
Shares
स्थलगत :

टिमुरेमा बाढीबाट बाँचेकाहरूको २५ घण्टे त्रासदी

भित्तामा चढ्ने क्रममा उनी पटक–पटक लडे । सिस्नु र काँडाको झाडी समाउँदै माथि जान खोजे । तल बाढीको छाल थियो । वरिपरि भागिरहेका मानिसहरू थिए ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ भदौ ११ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको टिमुरेमा बाढीले घर, सडक र प्रहरी चौकी बगाउँदा धेरै मानिस हराएका र केहीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।
  • दीपक तामाङले बाढी आउँदा पहाड चढेर ज्यान जोगाए, तर आफ्नै आँखाअगाडि मानिसहरू बगाएको दृश्यले उनलाई छाडेको छैन।
  • नुवाकोटको श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट बिहान ६ बजेदेखि उद्धार तीव्र पारिएको छ, र आफन्तहरू सम्पर्कविहीन भएकाको खोजीमा भीड लागेका छन्।

११ भदौ, नुवाकोट । रसुवाको टिमुरेमा बाढीको छाल पहाडको भित्तामा ठोक्किँदै तल बजारतिर झरिरहेको थियो । घरहरू आँखैअगाडि ढलिरहेका थिए । मानिसहरू भागिरहेका थिए । कोही कता पुगे, कोही कता हराए– कसैलाई केही थाहा थिएन । त्यही भीडमा थिए सिन्धुपाल्चोकका- दीपक तामाङ ।

बिहान करिब पौने १० बजेतिर अचानक जमिन थर्किएजस्तो भयो । सुरुमा भूकम्प आयो कि भन्ने लाग्यो । तर केही क्षणमै उनले देखे- माटो, ढुंगा र पानीको डरलाग्दो छाल बजारतिर आउँदै थियो ।

‘घरबाट बाहिर निस्किँदा त्यो पूरै आइसकेको थियो,’ उनी सम्झन्छन्, ‘पानीको छालले हानेर अगाडि घरहरू लडिसकेका थिए ।’

त्यसपछि दीपकसँग सोच्ने समय थिएन । अगाडि पहाडको भित्ता थियो । पछाडि बाढी । उनी दौडिए । तर त्यो दौड जीवन र मृत्युबीचको अन्तिम दौडजस्तो थियो ।

भित्तामा चढ्ने क्रममा उनी पटक–पटक लडे । सिस्नु र काँडाको झाडी समाउँदै माथि जान खोजे । तल बाढीको छाल थियो । वरिपरि भागिरहेका मानिसहरू थिए । ‘लड्ने बेलामा अब हाम्रो अन्तिम, यही नै अन्तिम भइसक्यो भन्ने भइसकेको थियो,’ उनी भन्छन् ।

त्यो क्षणमा उनलाई आफ्नै ज्यान जाने निश्चितजस्तै लागेको थियो । ‘आफ्नो ज्यान यहीँ गइसक्यो भन्ने भइसकेको थियो’ तर उनी जसोतसो माथि पुगे । बाँच्न सफल भए ।

तर आफू बाँच्दा पनि उनका आँखाअगाडि देखिएको दृश्यले उनलाई अहिले पनि छाडेको छैन ।

‘आँखै अगाडि अरू मानिसहरूलाई बगायो । कतिपयले हात दिँदै बचाउ-बचाउ भन्दै थिए । तर, त्यो बेला अरुको बारेमा सोच्नै सकिने अवस्था थिएन । आँखै अगाडि साथीहरूलाई बगाएको हेर्न बाहेक केही गर्न सकिएन,’ उनी भन्छन् ।

टिमुरेमा त्यतिबेला विदेशी पर्यटकदेखि चालक, व्यवसायी, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारीसम्म थिए । दीपकका अनुसार धेरै मानिस बाढीमा परे । प्रहरी चौकीसमेत बाढीले बगाएको उनले बताए । त्यहाँबाट जोगिएर माथि पुगेका उनीहरूलाई भने अर्को परीक्षा पर्खिरहेको थियो ।

बाढी आएपछि ज्यान जोगाउन भागेका मानिसहरू जंगलको बीचमा रहेको एउटा पुरानो टहरोमा पुगे । त्यो काठ राख्ने टहरो रहेछ । करिब सयदेखि दुई सय जना मानिस त्यहीँ अडिए । बस्ने ठाउँ थिएन । सुत्ने ठाउँ थिएन । बाहिर निस्किने अवस्था रहेन ।

‘उभिएर लाइनै दिनरातभरि यत्तिकै बस्यौँ,’ दीपक सम्झन्छन् ।

त्यसमाथि राति फेरि पानी पर्न थाल्यो ।

टिनले छाएको साँघुरो टहरोमा मानिसहरू गुम्सिएर बस्न बाध्य भए । कसैलाई रिंगटा लाग्यो, कसैलाई वाकवाकी भयो । तर बाहिर निस्कन सक्ने अवस्था थिएन ।

उनीहरू सबैको मनमा एउटै कुरा मात्रै खेलाउँथ्यो,– बिहान कहिले होला ? र हाम्रो उद्धार कहिले हुन्छ ?

दीपक भन्छन्, ‘बिहान कहिले होला र कहिले चाहिँ उद्धार हुन्छ भन्ने पर्खाइमा थियौँ ।’

करिब २४–२५ घण्टापछि मात्रै उनीहरूलाई उद्धार गरियो । नेपाली सेनाको हेलिकप्टर आयो । र उनीहरू विदुरसम्म आइपुगे ।

तर उनीहरू बाँचेर आए पनि टिमुरेमा छुटेका मानिसहरूको अवस्था के भयो भन्ने प्रश्नको उत्तर उनीहरूसँग थिएन । ‘मृत्युहरूको त त्यहाँ गन्ती नै छैन,’ दीपकको आवाजमा पीडा सुनिन्छ, ‘त्यो खोज्ने क्रम सम्भव नै छैन अहिले ।’

त्यस्तै काठमाडौंका निश्चल त्रिपाठी पनि व्यापारको सिलसिलामा टिमुरे पुगेका थिए । उनी करिब २० दिनदेखि त्यहीँ बसिरहेका थिए । त्यो बिहान पनि उनी नियमित काममा थिए ।

अचानक सबै कुरा हल्लियो । भूकम्प आएको जस्तो भयो । बाहिर निस्केर हेर्दा उनले देखे– पानीको लेदोसहितको विशाल छाल आउँदै थियो । उनी पाँच तलामाथि थिए । अब भाग्ने एउटै बाटो थियो- भर्‍याङ ।

उनी दौडिए । दौडिँदै दुई तलाजतिबाट हाम फाले र भित्तापट्टी पुगे । ‘भित्तापट्टी भएको मान्छेहरू चाहिँ अलिकति बाँच्न सफल भयो,’ उनी भन्छन्, ‘तल्लो पट्टि रोडतिर भएको मान्छेहरूलाई बाँच्न धेरै गाह्रो भयो ।’

बाढीपछि उनीहरू जंगलतिर लागे । रातभर त्यहीँ बसे । कतैबाट चाउचाउ र बिस्कुट भेटियो । त्यही खाएर रात कट्यो । रात बिताउन उनीहरू बाख्राको गोठमा पुगे ।

त्यहाँ पनि करिब १५०–२०० जना मानिस अटाए । नेपाली सेनाका सुरक्षाकर्मीहरू पनि उनीहरूसँगै बसे । तर रातभरि निश्चलको मनमा भने आफ्नै परिवारको होइन, सम्पर्कविहीन भएका साथीभाइ र सहकर्मीहरूको चिन्ता थियो । उनका भाइ सम्पर्कविहीन थिए ।

उनको टिमका ५/६ जना, सातजना ट्रक चालक पनि सम्पर्कविहीन थिए । ‘मेरो भाइ अनि मेरो ५–६–७ वटा ट्रक चलाउने ड्राइभरहरू सम्पर्कमा छैनन्,’ उनी भन्छन् ।

टिमुरे बजारतिरको दृश्य सम्झँदा उनको आवाज फेरि भारी हुन्छ । ‘एउटा–दुइटा घर बचेको देखिन्छ । नत्र टिमुरेमा पनि घर एउटा पनि बाँकी छैन ।’

भन्सारको यार्ड, सडक र खोलाबीचको दूरीसमेत बाढीले मेटाइदिएको उनले बताए । जहाँ पहिले सडक थियो, बजार थियो, मानिसहरूको चहलपहल थियो—त्यहाँ अहिले बगर छ ।

त्यस्तै रसुवा भन्सार कार्यालयका लेखापाल हृदयेश न्यौपाने पनि मृत्युको मुखबाट फर्किएका छन् । दैलेखका हृदयेश त्यो बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका थिए ।

कार्यालय खोलाको किनारमा थियो । उनी सबैभन्दा तल्लो तलामा बसेर काम गरिरहेका थिए । अचानक हल्का कम्पन भयो । घरहरू हल्लिए । उनलाई भूकम्पको शंका भयो । त्यसपछि एउटा अनौठो आवाज सुनियो, साइरनजस्तो ।

‘एकदम मसिनो आवाज तर एकदम कडा आवाज थियो,’ उनी सम्झन्छन् । केही गडबड भएको बुझेर उनी कार्यालयबाट बाहिरिए ।

गेटमा पुगेर उत्तरतिर हेर्दा उनको अगाडि जुन दृश्य थियो, त्यो सामान्य बाढीको कल्पनाभन्दा धेरै परको थियो । उनको अनुमानमा करिब सय मिटरजति उचाइमा लेदो, माटो, धुलो र पानीको फोहोरा उछिट्टिरहेको थियो ।

त्यो दृश्य देखेपछि उनले एउटा मात्र कुरा सोचे । उकालो नचढे बाँचिँदैन । उनी दौडिए । तर त्यसपछि उनलाई धेरै कुरा याद छैन ।

‘कुनै घरको छानाको पाताबाट हिँडेको मात्रै याद छ,’ उनी भन्छन्, ‘त्यसपछि कुनै यादै छैन ।’

होस आउँदा उनी माथिल्लो भागमा पुगिसकेका थिए । तल हेर्दा टिमुरे बगरमा परिणत भइसकेको थियो । ‘त्यो बयानै गर्न सकिँदैन,’ उनी भन्छन्, ‘त्यस्तो एउटा अकल्पनीय दृश्य थियो ।’

हृदयेशका अनुसार उनीहरू बाँच्नुको कारण पनि संयोग थियो । बाढीको मुख्य बहाव उनीहरू बसेको ठाउँतिर आएन । उनीहरूभन्दा पारिपट्टिको भित्तामा ठोक्कियो ।

त्यो बहाव उनीहरूतिर आएको भए टिमुरेमा कोही पनि बाँच्ने अवस्था नरहेको उनको बुझाइ छ ।

‘त्यो बहाव चाहिँ हामी भएतिर होइन, त्यसको पारिपट्टि भित्तामा ठोक्किएछ,’ उनी भन्छन्, ‘वारिपट्टि ठोक्किने खालको बहाव हुन्थ्यो भने त हामी कोही पनि बाँच्ने रहेनछौँ ।’

बाढीले पारिपट्टिको भित्तामा ५०–६० मिटरसम्म लेदो टाँसिएको थियो । ठूला सल्लाका रुखहरू थिए । तर बाढीपछि तिनको नामोनिसान थिएन । त्यहाँभन्दा माथि रहेको घट्टेखोला बजारको अवस्था अझ भयावह थियो । ‘त्यहाँ चाहिँ एकजना पनि मान्छे बाँचेन,’ हृदयेशको भनाइ छ ।

उनीहरू भने डराउँदै–डराउँदै माथि चढे । घाइतेहरूको उद्धार भइरहेको थियो । तर मौसम बिग्रियो । पानी पर्न थाल्यो । उद्धार रोकियो । फेरि उनीहरूको प्रतीक्षा सुरु भयो ।

एउटा खर्कजस्तो ठाउँमा रहेको पाताले छाएको संरचनामा उनीहरू रात बिताउन बाध्य भए । करिब ५०–६० जना अट्ने त्यो ठाउँमा उनीहरू बसे । बिहान करिब साढे ६ बजेतिर फेरि हेलिकप्टरहरू आउन थाले । नेपाली सेनाको हेलिकप्टर आयो । निजी हेलिकप्टर पनि आए ।

हृदयेशका अनुसार उनीहरू उद्धार हुने अन्तिमतिरका मानिस थिए । तर तल अझै केही मानिस उद्धारको पर्खाइमा थिए । बाढी गएको करिब दुई–ढाई घण्टापछि नेपाली सेनाको हेलिकप्टरले टिमुरे बजारमै आधा गाडिएका, छट्पटाइरहेका ८–१० जनालाई उद्धार गरेको उनले बताए ।

उद्धारमा सरकारको सक्रियता

भदौ १० गते बिहान बाढी आयो । रसुवा नुवाकोटमा रहेका नदी किनारका बस्ती तथा बजार पूर्ण रूपमा बगरमा परिणत भए । रसुवाका मानिसहरूले त सुरक्षित स्थानमा जानका लागि सेकेण्डको समेत समय पाउन सकेनन् ।

घरको माथि तथा माथिल्लो भागमा रहेकाहरू बल्ल बल्ल ज्यान जोगाएर माथि जंगलतिर जान सफल भए र उनीहरू बाँचे ।

बाँचेकाहरूको तत्काल उद्धार गर्न सकिने अवस्था थिएन । किनभने उद्धारका लागि गएका हेलिकोप्टर अवतरण गर्न सकिने अवस्था थिएन । सञ्चारमन्त्री डाक्टर बिक्रम तिमिल्सिना हिजैदेखि नुवाकोटमा थिए ।

हिजो हेलिकोप्टरमार्फत उद्धारको सम्भावना नरहेपछि आज बिहान ६ बजेदेखि नै उद्धारको कार्य सुरु भएको थियो ।

त्यसका लागि नुवाकोटको त्रिशूलीमा रहेको श्री नम्बर १ सैन्य तालिम केन्द्रमा नेपाली सेना तथा विभिन्न नीजि हेलिकोप्टर तैनाथ गरिएको थियो ।

त्यहीबाट फसेकाहरूको तथा घाइतेहरूको उद्धार कार्यलाई तीब्रता दिइएको थियो । बाढीबाट सम्पर्कविहीन भएकाहरूका आफन्तहरू त्यही सैन्य तालिम केन्द्रमा भीड थियो ।

उनीहरू हरेक पटकको हेलिकोप्टर ल्याण्ड हुनेबेला आफ्नो मान्छे आयो कि भनेर तछाडमछाड गर्दै हेर्न दौडिरहेका थिए ।

तस्वीरहरू- शंकर गिरी/अनलाइनखबर

यो पनि

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?