News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको बाढीपछि रसुवामा सम्पर्कबाहिर रहेका लुम्बिनी प्रदेशका ९७ जना अझै फेला परेका छैनन्, सुरुका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आएका छन्।
११ भदौ, बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन छन् । भोटेकोशीमा बाढी आएपछि सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना भने परिवारको सम्पर्कमा आएका छन् ।
लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ । प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
उनले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताए ।
प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना रहेका छन् । त्यसपछि दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना रहेका छन् ।
सम्पर्कविहीन भएकाहरू विभिन्न जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरू पनि सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ ।
मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्दै जाने जनाएको छ । थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको संख्या बढ्न सक्ने जनाइएको छ ।
प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको सरकारका प्रवक्ता सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले बताए।
सम्पर्कविहीन हरूको पूरा सूची
प्रतिक्रिया 4