+
+
Shares

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन थप

एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते २२:०१

१२ भदौ, काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा भोलि शनिबारबाट लागु हुने गरी थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो । तीन दिने अवधि आज समाप्त हुँदैछ ।

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।

“हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

१८ वटा टावर पुनःसंचालनमा

कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ । थप ९ टावरहरूको पुनःसंचालनको लागि कार्यसमेत गरिरहेको छ।

यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु. १ करोड सहयोग गरेको थियो। यसका साथै, एनसेलले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज तथा अकाउन्टहरूमार्फत आवश्यक सूचना सम्प्रेषण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?