News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभामा देखिएको डिप्लोर्चे मल्टिफ्लोरालाई पीओडब्लुओले १७ घण्टापछि पुनरावलोकन गर्दै गुराँस सूचीबाट हटाएको छ।
- २४ अगस्ट २०२६ को अद्यावधिकमा रोडोडेन्ड्रन च्याम्बरलैनीलाई पर्यायवाची नाम र डिप्लोर्चे मल्टिफ्लोरालाई स्वीकृत नाम कायम गरिएको छ।
- लेखकले फूलको संरचना र डीएनए प्रमाणका आधारमा उक्त वनस्पति गुराँस होइन भन्दै पीओडब्लुओलाई पुनर्विचार गर्न पत्र लेखेका थिए।
सङ्खुवासभाको उच्च हिमाली जङ्गलमा हिंडिरहँदा टाढैबाट झुरुप्प रहेको वनस्पतिमा गुलाबी रङका आकर्षक फूलहरू देखें। ती फूलहरू घण्टी आकारका थिए। पहिलो नजरमा त्यो दुरुस्तै गुराँस जस्तो लाग्थ्यो। यसका पात स–साना, बाक्ला, कडा र सङ्ख्यामा बाक्लै थिए; जसले डाँठलाई चारैतिरबाट घेरेको थियो। जब नजिकै गएर फूलको पुष्पपत्र र भाले प्रजनन अङ्ग (पुंकेसर) लाई नियालें, मेरो गुराँस पहिचान सम्बन्धी चेतले भन्यो- “यो गुराँस होइन !”
संसारकै सबैभन्दा आधिकारिक वनस्पति डेटाबेस, लन्डनस्थित रोयल बोटानिकल गार्डेन्स (क्यु) द्वारा सञ्चालित ‘प्लान्ट्स अफ द वर्ल्ड अनलाइन’ (पीओडब्लुओ) ले विगत १५ वर्षदेखि सङ्खुवासभामा देखेको त्यो वनस्पतिलाई ‘गुराँस’ कै रूपमा मान्यता दिंदै आएको थियो। त्यसको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ (Rhododendron chamberlainii) भनेर लेखिएको थियो। नेपालमा हालसालै प्रकाशित पुस्तकहरूमा पनि त्यही गल्तीलाई सारिएका छन्। दुवै पुस्तकका मुख्य सम्पादकहरू नेपालको वनस्पति पहिचानमा मूर्धन्य वनस्पतिविद्हरू हुन्।
विज्ञान अन्धविश्वास होइन, यो त निरन्तर प्रश्न सोध्ने र प्रमाण खोज्ने यात्रा हो। गत १६ अगस्ट २०२६ मा मैले ‘क्यु गार्डेन्स’ को पीओडब्लुओको सम्पादक मण्डललाई इमेल पठाएँ; जसमा सो वनस्पतिको फूलका संरचना र डीएनए सम्बन्धी अकाट्य प्रमाणहरूका आधारमा त्यो गुराँस होइन भनेर दाबी पेश गर्दै त्यसमाथि पुनर्विचार गर्न अनुरोध गरें।
पत्र पठाएको मात्र १७ घण्टाभित्रै लन्डनबाट प्रत्युत्तर आयो। मेरो दाबी सही भनियो। त्यति मात्र होइन, उनीहरू नाम अद्यावधिक गर्न तयार भए। अगस्ट २४ को नयाँ अपडेटमा सो वनस्पतिलाई गुराँसको सूचीबाट हटाएर पुनः यसको मौलिक वैज्ञानिक नाम ‘डिप्लोर्चे मल्टिफ्लोरा’ (Diplarche multiflora) कायम गरिएको छ। ‘डिप्लोर्चे मल्टिफ्लोरा’ स्वीकृत नाम र ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ पर्यायवाची नाम भनेर पीओडब्लुओमा लेखिएको पढ्न पाउँदा ज्यादै आनन्द महसुस गरें।
पर्यायवाची नाम
पीओडब्लुओमा ‘डिप्लोर्चे मल्टिफ्लोरा’ स्वीकृत नाम पढ्दा मलाई जति आनन्द महसुस भयो, अस्ट्रेलियन वनस्पतिविद् लिन्डली एलन क्रेभेन जीवित भएको भए शायद त्यति नै दुःख महसुस हुन्थ्यो होला। किनभने उनै हुन् ‘डिप्लोर्चे मल्टिफ्लोरा’ लाई ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ नामकरण गरिदिने वनस्पतिविद्। उनले सन् २०११ मा डीएनएको आनुवंशिक सिक्वेन्सिङका आधारमा ‘डिप्लोर्चे’ वंशका दुई प्रजातिलाई गुराँस वंशमा स्थानान्तरण गरेका थिए।
वनस्पति विज्ञान जगत्मा कुनै एक वनस्पतिको वैज्ञानिक नाम एकभन्दा बढी राखिएको भए तीमध्ये कुनै एक नामलाई स्वीकृत नाम मानिन्छ। त्यसलाई अङ्ग्रेजीमा ‘एसेप्टेड नेम’ भनिन्छ। अनि सोही ‘एसेप्टेड नेम’ सँग जोडिएका अन्य वैज्ञानिक नामलाई ‘सिनोनिम’ अर्थात् पर्यायवाची नाममा लिइन्छ। जीवको वैज्ञानिक नामकरणमा पर्यायवाची नाम भनेको अस्वीकृत नाम अर्थात् इन्भ्यालिड नेम/अनएसेप्टेड नेम/रिजेक्टेड नेम हो।
वनस्पतिको वैज्ञानिक नाम विश्वव्यापी व्यवस्थित र एकरूपता बनाउनका लागि अन्तर्राष्ट्रिय वनस्पति नामकरण आचारसंहिता अर्थात् अन्तर्राष्ट्रिय वनस्पति नामकरण नियम स्थापित छ। यसलाई ‘इन्टरनेशनल कोड अफ बोटानिकल नोमेन्क्लेचर’ (आईसीबीएन) भनिन्छ। यसको प्रारम्भिक सुरुआत सन् १७५३ मा प्रकाशित एक पुस्तक ‘स्पेसिस प्लान्टारम’ बाट भएको मानिन्छ। यसको औपचारिक अलि विस्तृत स्वरूप डी क्यान्डोलले सन् १८६७ मा लेखेका थिए।
यसका नियमहरू हिजोआज हरेक ६–६ वर्षमा हुने ‘इन्टरनेशनल बोटानिकल कङ्ग्रेस’ (आईबीसी) बाट परिमार्जन गरिन्छ। हालैको सबैभन्दा नयाँ संस्करण ‘म्याड्रिड कोड’ हो, जुन सन् २०२४ मा स्पेनको म्याड्रिडमा भएको थियो। यो २०औं इन्टरनेशनल बोटानिकल कङ्ग्रेस थियो। यसले सन् २०१८ को ‘शेन्जेन कोड’ लाई प्रतिस्थापन गरेको हो। आईसीबीएन अनुसार, वनस्पतिको पछिल्लो प्रकाशनलाई आधिकारिक नाम मानिन्छ।
नामकरण प्रक्रिया

वनस्पति अध्येताले मुख्यतया फूलको बनावट, विशेषतः प्रजनन अङ्ग (पुंकेसर, स्त्रीकेसर), फल, पात, काण्ड र सम्भव भए हिजोआज डीएनए सिक्वेन्सिङ अध्ययन गरेर वनस्पति प्रजातिको पहिचान गर्छन्। अध्ययन गरिएको वनस्पति विश्वका लागि नयाँ भए त्यसलाई वैज्ञानिक नाम दिइन्छ। वैज्ञानिक नामकरण गर्दा प्रजातीय नाम (स्पेसिस इपिथेट) एकाध वटामा वनस्पति अध्ययन अनुसन्धानमा योगदान पुर्याउने व्यक्तिको सम्मानमा नामकरण गरिन्छ।
यस्तै, देशका नाम, पहाडको नाम, ठाउँका नाम, नदीको नाम, वा सम्बन्धित जीवमा रहेको विशेष पृथक् गुणका आधारमा शब्द चयन गरिन्छ। तर, प्रजातिजन्य नाम/स्पेसिस इपिथेट जीवित भाषाका शब्द जस्ताको तस्तै प्रयोग गर्न पाइन्न। किनभने जीवित भाषाका शब्दको अर्थ आज जे छ, भोलि अर्कै पनि हुन सक्छ। जस्तो: १६औं शताब्दीको शुरुसम्म ‘गर्ल’ शब्दले केटा वा केटी भन्ने जनाउँथ्यो। तर हिजोआज गर्ल भनेको स्त्रीलिङ्गी शब्द हो।
ल्याटिन र प्राचीन ग्रिक मृत भाषा हुन्। ती भाषाका शब्द आज जे अर्थ छ, भोलिका दिनमा अर्थ नबदलिने भाष्यका आधारमा जन्तु वा वनस्पतिको वैज्ञानिक नामकरणमा प्रयोग गरिन्छ। लिन्डली एलन क्रेभेनले प्रयोग गरेको ‘च्याम्बरलैनी’ शब्द प्रसिद्ध ब्रिटिश वनस्पति वैज्ञानिक डेभिड फ्र्याङ्कलिन च्याम्बरलेनले विश्वको गुराँस अध्ययन अनुसन्धानमा पुर्याएको योगदानको सम्मानमा ल्याटिन भाषाको व्याकरण अनुसार च्याम्बरलेनबाट ‘च्याम्बरलैनी’ बनाइएको हो।
ल्याटिन व्याकरणमा पुरुष व्यक्तिको नाम जनाउन नाम वा थरको पछाडि सामान्यतः दुईवटा अङ्ग्रेजी अक्षर ‘आई’ (ii) राखिन्छ। हामीलाई थाहा छ कि जन्तु वा वनस्पतिको वैज्ञानिक नाम दुईवटा शब्दबाट लेखिन्छ। तीमध्ये पहिलो शब्दले वंश नाम जनाउँछ। गुराँसको वंश नाम ‘रोडोडेन्ड्रन’ हो। ‘च्याम्बरलैनी’ गुराँस वंशअन्तर्गत एक प्रजातीय नाम हो। च्याम्बरलैनीको अर्थ च्याम्बरलेनको नामबाट नामकरण भन्ने हुन्छ।
डिप्लोर्चे मल्टिफ्लोरा
मैले सन् २००२–२००३ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) बाट तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङस्थित तिनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँस विविधता अध्ययन गर्ने अवसर पाएको थिएँ। त्यसबेला म गुराँसका अत्यन्त थोरै प्रजाति मात्रै चिन्थें। अहिले पनि नेपालमा पाइने गुराँसका ३–४ प्रजाति स्थलगत रूपमा देखेको छैन; वनस्पति सङ्ग्रहालय (हर्बेरियम हाउस) अनि विद्युतीय सञ्जाल तथा पुस्तकमा हेरेको आधारमा मात्र चिन्छु।
नेपालका सबै गुराँस प्रजाति स्थलगत रूपमा देख्ने, चिन्ने धोको पूरा भएको छैन। देख्ने धोको भन्दा पनि प्राकृतिक स्थलमा फुलेको अवस्थामा तस्बिर खिच्ने रुचि अझै जीवितै छ। बेलायतस्थित रोयल बोटानिकल गार्डेन एडिनबरा, स्कटल्यान्डमा पुगें; जहाँ नेपालका सबैजसो गुराँस प्रजाति एकै ठाउँ पाइन्छ।
नेपालमा मात्र पाइने दुई प्रजातिका गुराँस पनि स्कटल्यान्डमा रोपिएका छन्। शायद यसको बीउ सन् १९५४ ताका लगिएको हो। जबकि ती दुई रैथानेमध्ये ‘रोडोडेन्ड्रन कोवानियनम’ को राम्रो तस्बिर नेपालभित्र खिचिएको मैले पाएको छैन। ‘रोडोडेन्ड्रन लोन्डेसी’ को तस्बिर भने धेरैले खिचेका छन्। यसको बोट जमिनमाथि करिब १ बित्तासम्म उठेको हुन्छ। यसकारण, यसको फूलको आकार सानो हुने नै भयो। मैले म्याग्दीमा यस फूलको तस्बिर म्याक्रो लेन्सबाट खिचेको छु।

डिप्लोर्चे मल्टिफ्लोराको बोट बाहिरी रूपमा गुराँस जस्तै देखिन्छ। यसको फूल हेर्दा पनि पहिलो नजरमा गुराँस हो कि जस्तो देखिन्छ। मैले सङ्खुवासभामा यो वनस्पति केही पटक देखेको छु। टाढाबाट हेर्दा गुराँस जस्तो देखिए पनि नजिकबाट नियाल्दा गुराँस होइन भन्ने निष्कर्षमा पुगेको थिएँ। त्यसैले यसको वैज्ञानिक वर्गीकरणबारे मेरो चासो निकै वर्षअघिकै हो।
लिन्डली एलन क्रेभेनले सन् २०११ मा डिप्लोर्चे र गुराँसको ‘बारकोडिङ मार्कर’ अध्ययन गरेका थिए। तिनीहरू बीच ९३ देखि ९६ प्रतिशतसम्म अनुक्रम समानता देखिन्छ। यो प्रतिशत हेर्दा बढी जस्तो लागे पनि वनस्पति विज्ञानमा ४ देखि ७ प्रतिशतसम्मको आनुवंशिक भिन्नता हुनु भनेको यिनीहरू एउटै वंश वा जातिका नभएर दुईवटा बिल्कुलै छुट्टै वंशका हुन् भन्ने बलियो प्रमाण हो।
वैज्ञानिकहरूले दुईवटा बोटबिरुवा एकआपसमा कति नजिकको सम्बन्धमा छन् भनेर जाँच्न तिनीहरूको डीएनएभित्रको एउटा विशेष खण्ड (जसलाई ‘ITS’ भनिन्छ) को अध्ययन गर्छन्। डिप्लोर्चेको यो डीएनए खण्ड परीक्षण गर्दा गुराँसको भन्दा एकदमै स्पष्ट र ठूलो आनुवंशिक दूरी देखियो।
डिप्लोर्चेको डीएनए बदलिने तरिका र यसको भित्री ढाँचा गुराँस समूहसँग पटक्कै नमिल्ने पछिल्ला अनुसन्धानले देखाएका छन्। यी भिन्नताले यी दुई वंश लाखौं वर्ष पहिले नै एकअर्काबाट अलग भइसकेका थिए र यिनीहरू आ–आफ्नै इतिहास बोकेर विकसित भएका हुन् भन्ने देखाउँछ।
संसारभर भ्रम
क्रेभेनले डिप्लोर्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन च्याम्बरलैनी नामकरण गरिदिएको वैज्ञानिक अनुसन्धान पत्र प्रकाशित भएपछि त्यो अन्तर्राष्ट्रिय वनस्पति सूचना प्रणालीमा पनि प्रवेश हुने नै भयो। इन्टरनेशनल कोड अफ बोटानिकल नोमेन्क्लेचर अनुसार पछिल्लो प्रकाशित नाम सहीसलामत भए पछिल्लो वैज्ञानिक नामलाई स्वीकारिन्छ। यसैले पीओडब्लुओमा गुराँस वंशको जानकारीमा रोडोडेन्ड्रन च्याम्बरलैनी समावेश गरियो।
विश्वभरका वनस्पतिको वैज्ञानिक नाम र वितरण सम्बन्धी जानकारीका लागि यो सबैभन्दा महत्त्वपूर्ण डिजिटल पोर्टलको स्रोत हो। त्यसैले त्यहाँ राखिएको नामले नेपालमा वनस्पति अध्ययन गर्नेहरूलाई पनि प्रभाव पार्नु स्वाभाविक थियो।
कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागले नेपालमा पाइने फूल फुल्ने वनस्पतिको सूची तथा पहिचान सम्बन्धी सामग्री प्रकाशन गर्दै आएको छ। यसको तेस्रो खण्ड ‘अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ सन् २०२१ मा प्रकाशित भयो। त्यस खण्डमा रोडोडेन्ड्रन च्याम्बरलैनी समावेश छ। माथि चर्चा गरियो कि इन्टरनेशनल कोड अफ बोटानिकल नोमेन्क्लेचर अनुसार वनस्पतिको वैज्ञानिक नाम जे पछिल्लो पटक प्रकाशित भएको छ, त्यसैलाई एसेप्टेड नेम मानिन्छ।
यसैले, उक्त पुस्तकमा रोडोडेन्ड्रन च्याम्बरलैनी राखिनु अन्यथा होइन। त्यसपछि सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल’ नामक पुस्तकमा पनि रोडोडेन्ड्रन च्याम्बरलैनी इन्टरनेशनल कोड अफ बोटानिकल नोमेन्क्लेचर अनुसार समावेश गरिएको हो भनेर यसै बुझिन्छ।

नेपालमा गुराँस प्रजाति कति छन् भन्ने प्रश्न अक्सर मलाई पत्रकारहरूले सोध्छन्। त्यो विशेषतः गुराँस फुल्ने सिजनमा सोधिन्छ। मैले, कि त रोडोडेन्ड्रन च्याम्बरलैनी जोडेर कि गन्ती नगरेर सङ्ख्या बताउनुपर्छ। यो बडो द्विविधायुक्त उत्तर हुन्छ। यसैले यसबारे लेख्नैपर्छ भन्ने सोच बनाएँ। लेख्दा ‘लिन्डली एलन क्रेभेनबाट गल्ती भएको छ’ भन्नु त मलाई केही थिएन। तर, नेपाल सम्बद्ध पुस्तक लेख्ने वा सम्पादन गर्ने आदरणीय वनस्पतिविद्हरूलाई सम्झें। मैले उहाँहरूबाटै वनस्पति विज्ञानका धेरै कुरा थाहा पाएको हुँ।
लेख्ने सोचाइ बनाइरहँदा हिमालखबरका पूर्वसम्पादक रविन गिरीको भनाइ सम्झें। उनी त्यसबेला हिमालखबरको डेस्कमा काम गर्थे। मैले वन्यजीवबारे एक पुस्तकको रिभ्यु गरेर पठाएको थिएँ। त्यो लेख नछापिंदै उनीसँग भेट भयो। मैले रिभ्यु अलि कडा लेखें, पुस्तकका लेखक रिसाउँछन् होला, त्यसैले पठाएको लेखको एक वाक्य नराख्न भनें। उनलाई मैले क्याम्पसमा पढाएको थिएँ। उनले “सर, छाप्नुपर्ने कुरा नै हटाउनु भन्नुहुन्छ र त्यो लाइन नराख्ने भए यो रिभ्यु लेखको ओज नै सकिन्छ। लेख नछाप्दा हुन्छ” भने।
गुराँसमा चासो राख्ने भएपछि रोडोडेन्ड्रन च्याम्बरलैनीबारे लेख्नुपर्छ भन्ने दायित्व सम्झें। त्यसपछि हिमालखबरमा ‘गुराँस नचिन्ने विज्ञ’ शीर्षकमा एक लेख लेखें। उक्त लेख ३ मङ्सिर २०७९ को संस्करणमा प्रकाशित भयो। संयोगले त्यसबेला गिरी हिमालखबरका प्रिन्टेड भर्सनका सम्पादक थिए। गुराँस नेपालको जैविक विविधतामा अत्यन्त महत्त्वपूर्ण र व्यापक फैलावट भएको वनस्पति वंश हो। त्यसैले यसको वैज्ञानिक पहिचान र नामकरणमा हुने सानो त्रुटिले पनि अनुसन्धान, संरक्षण र तथ्याङ्कमा असर पार्न सक्छ।
मैले उठाएको प्रश्नप्रति खासै प्रतिक्रिया आएन। यसको कारण अन्तर्राष्ट्रियस्तरमै रोडोडेन्ड्रन च्याम्बरलैनी स्वीकृत नामका रूपमा पीओडब्लुओमा कायम थियो। जब विश्वसनीय मानिएको स्रोतमा कुनै नाम कायम हुन्छ, त्यसलाई चुनौती दिन थप प्रकाशित प्रमाण र स्पष्ट वैज्ञानिक आधार सहित तर्क प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो तर तुरुन्तै केही गरिएन।
पुनरावलोकन अनुरोध
मैले १८ अगस्ट २०२६ मा रोडोडेन्ड्रन च्याम्बरलैनीको वर्गीकरणबारे पुनर्विचार गर्न पीओडब्लुओलाई पत्र लेखें। पत्रमा हाल स्वीकृत नाम र डिप्लोर्चे मल्टिफ्लोरा बीचको वर्गीकरणीय सम्बन्ध पुनरावलोकन गर्न अनुरोध गरें। पीओडब्लुओले रोडोडेन्ड्रन च्याम्बरलैनीलाई स्वीकृत प्रजाति र डिप्लोर्चे मल्टिफ्लोरालाई यसको पर्यायवाचीका रूपमा राखेको थियो। मैले प्रकाशित प्रमाणहरूलाई व्याख्या गरेको थिएँ।
डिप्लोर्चेको फूलमा रहेको केही संरचनात्मक विशेषताबाट यो गुराँस वंशको होइन भन्ने स्पष्ट थाहा पाइन्छ। यसमा पुंकेसर पुष्पपत्रको (भित्रपट्टि) मध्यभागभन्दा केही तलबाट पलाउँछ। यस्तो संरचनालाई ‘इपिपेटलस’ (Epipetalous) भनिन्छ। गुराँस वंशका फूल इपिपेटलस हुँदैनन्। क्रेभेनले रोडोडेन्ड्रन च्याम्बरलैनीको इपिपेटलस संरचनालाई ‘अटापोमोर्फी’ (Autapomorphy) भनेका छन्। ‘अटापोमोर्फी’ भनेको कुनै निश्चित वंश, जाति वा समूहमा विकासक्रममा नयाँ उत्पन्न भएको विशेष संरचना र त्यस समूहलाई विशेष रूपमा चिनाउने व्युत्पन्न लक्षण हो; जुन त्यही समूहको पूर्वजमा हुँदैन।
जीवविज्ञानमा ‘अटापोमोर्फी’ का अतिरिक्त ‘प्लेसियोमोर्फी’ (Plesiomorphy), ‘अपोमोर्फी’ (Apomorphy), ‘सिनापोमोर्फी’ (Synapomorphy) शब्द पनि प्रचलित छन्। यी शब्दहरूले क्रमशः पूर्वजबाट आएको लक्षण, नयाँ विकसित लक्षण र दुई वा बढी सम्बन्धित समूहले साझा गर्ने नयाँ लक्षण भन्ने जनाउँछन्। इपिपेटलस अन्य कैयन् परिवार र वंशहरूमा हुन्छ। अतः त्यसलाई डिप्लोर्चेको ‘अटापोमोर्फी’ भन्न मिल्दैन।
यस्तै, डिप्लोर्चेको परागकण थैली परिपक्व भएपछि यसभित्र रहेका परागकण भने पराग थैली दुईतिर धर्सो आकृतिमा चिरिएर बाहिरिन्छन्। तर, गुराँस वंशका सबै प्रजातिमा पराग थैलीको टुप्पोमा छिद्र हुन्छ। त्यसबाट परागकण बाहिरिन्छन्। यतिका फरक गुण स्पष्ट रहँदारहँदै पनि डिप्लोर्चेलाई गुराँस वंशमा स्थानान्तरण गर्नु आकार–संरचनागत भिन्नताबाट पनि ‘ब्लन्डर मिस्टेक’ थियो।
यिनै आधारमा पीओडब्लुओलाई रोडोडेन्ड्रन च्याम्बरलैनीको वर्गीकरण पुनरावलोकन गर्नुपर्ने सुझाव मैले राखें। यस क्रममा पुराना र नयाँ प्रकाशित प्रमाणलाई समान रूपमा मूल्याङ्कन गर्नुपर्ने नै हुन्छ। केवल विद्यमान वर्गीकरणीय डेटाबेसमा निर्भर भएर निर्णय गर्नु पर्याप्त नहुन सक्छ। त्यसैले प्रकाशित प्रमाणको समग्र मूल्याङ्कन आवश्यक रहेको उल्लेख गरिरहनु परेन।
मैले पीओडब्लुओले तत्कालै स्वीकृत नाम परिवर्तन गर्नुपर्छ भन्ने माग गरेको थिइनँ। मेरो अनुरोध प्रकाशित सामग्रीमा उपलब्ध परस्पर भिन्न प्रमाणको पुनरावलोकन गरियोस् भन्ने मात्र थियो। साथै, हालको नाम कायम राख्ने निर्णयमा कुन नयाँ वर्गीकरणीय प्रमाण र कुन वंशवृक्षीय विश्लेषण विचार गरिएको छ भन्ने जानकारी पनि मागेको थिएँ। वैज्ञानिक छलफलमा यस्तो प्रश्न उठाउनु स्वाभाविक र आवश्यक प्रक्रिया हो।
पत्रको अन्त्यमा विश्वव्यापी रूपमा महत्त्वपूर्ण वनस्पति स्रोतको संरक्षण, व्यवस्थापन र अद्यावधिक गर्दै आएकोमा पीओडब्लुओ समूहलाई धन्यवाद दिएँ। वर्गीकरण सम्बन्धी मेरो जिज्ञासालाई गम्भीरतापूर्वक विचार गरिने अपेक्षा पनि व्यक्त गरेको थिएँ। यसको उद्देश्य व्यक्तिगत दाबी स्थापित गर्नु नभई प्रकाशित प्रमाणका आधारमा वैज्ञानिक तथ्य पुनरावलोकन गराउनु थियो।
पीओडब्लुओको जवाफ

पत्र पठाएको करिब १७ घण्टापछि पीओडब्लुओबाट जवाफ आयो। जवाफमा डिप्लोर्चे वंशलाई छुट्टै मान्य वंशका रूपमा स्वीकार गर्नुपर्ने कुरामा उनीहरू सहमत रहेको उल्लेख थियो। राफाएल गोभार्ट्सले ‘वर्ल्ड चेकलिस्ट अफ भास्कुलर प्लान्ट्स डेटाबेस’ मा आवश्यक संशोधन गरिसकेको जानकारी दिए। उक्त परिवर्तन पीओडब्लुओको आगामी डेटा अद्यावधिकमा देखिने बताइएको थियो। छोटो भए पनि यो जवाफ मेरो लागि अत्यन्त महत्त्वपूर्ण थियो।
पीओडब्लुओमा वनस्पतिका अद्यावधिक नाम तथा वितरण सम्बन्धी डेटा प्रत्येक सोमबार बेलुका ४ बजे (जीएमटी) मा हुने जानकारी दिइएको थियो। २४ अगस्ट, २०२६ सोमबार बिहान मैले पीओडब्लुओ हेरें। त्यहाँ रोडोडेन्ड्रन च्याम्बरलैनी पर्यायवाची नाममा स्थानान्तरण भइसकेको रहेछ। डिप्लोर्चे मल्टिफ्लोरालाई पुनः सही नामका रूपमा स्थापित गरिएको थियो। एउटा नाम सच्याउँदा त्यससँग सम्बन्धित धेरै तथ्याङ्क पनि सही दिशामा जान सक्छन्।
गुराँस उद्विकास
गुराँस वंशको चर्चा गरिरहँदा यो वंशमा संसारभर के–कति प्रजाति छन् र यो वंश कहाँ, कहिले उद्विकास भयो भनेर चर्चा गर्दा खासै फरक पर्दैन। विश्वभर रोडोडेन्ड्रनका १ हजार १०३ प्रजाति छन्। रोडोडेन्ड्रनका धेरै प्रजाति पाइने देशमा चीन, इन्डोनेसिया, म्यान्मार, पपुवा न्युगिनी र भारत पर्छन्।
गुराँस वंशको परिवार अर्थात् ‘इरिकेसी’ का वनस्पति करिब ६ करोड ८० लाख वर्षअघि देखापरेका थिए। गुराँसको सबैभन्दा पुरानो जीवाश्म उत्तर अमेरिकास्थित अलास्कामा करिब ५ करोड वर्ष पुरानो पाइएको छ। करिब ४ करोड वर्षअघि अलास्का र एसिया बीच स्थलमार्ग दूरी कम थियो।
करिब ३ करोड वर्षअघि उत्तरपूर्वी एसियाको साइबेरिया र अलास्का बीचको बेरिङ क्षेत्र हुँदै गुराँस एसिया प्रवेश भयो। किनभने युरोपमा करिब साढे दुई करोड वर्ष पुराना गुराँसका जीवाश्म पाइएका छन्। नेपालमा गुराँसको पोलेनग्रेन (रजकण) को जीवाश्म करिब ५० लाख वर्ष पुरानो भेटिएको छ। त्यस्तै, ललितपुरको लाँकुरीभन्ज्याङ (लकुन्डोल) मा रातो चिमाल अर्थात् ‘रोडोडेन्ड्रन बार्बाटम’ का पातका जीवाश्म पाइएको भूगर्भविद् खुमनारायण पौडेलको एक लेखमा उल्लेख छ। त्यो जीवाश्म कीर्तिपुरस्थित भूगर्भशास्त्रको केन्द्रीय विभागमा सङ्ग्रहित छ। हिजोआज काठमाडौं उपत्यकामा ‘रोडोडेन्ड्रन बार्बाटम’ अस्तित्वमा रहेको जानकारी मैले पाएको छैन। उपत्यकाको तापक्रम वृद्धि र वातावरणीय परिवर्तनसँगै यसको अस्तित्व समाप्त भएको होला।
निष्कर्ष

‘डिप्लोर्चे मल्टिफ्लोरा’ को कथा एउटा वैज्ञानिक नाम परिवर्तनको मात्र होइन। यो वनस्पति वर्गीकरण नयाँ प्रमाणसँगै कसरी परिवर्तन हुन्छ भन्ने एउटा उदाहरण पनि हो। सन् १८५४ मा ‘डिप्लोर्चे मल्टिफ्लोरा’ भनेर वर्णन गरिएको वनस्पति पछि ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ का रूपमा चिनियो। सन् २०११ को कमजोर आनुवंशिक अध्ययन अनुसार यसलाई रोडोडेन्ड्रन वंशमा स्थानान्तरण गरियो। मैले प्रकाशित प्रमाण सहित पीओडब्लुओलाई पुनरावलोकनका लागि पत्र लेखें। पत्र पठाएको करिब १७ घण्टामै डिप्लोर्चे वंशलाई स्वतन्त्र रूपमा स्वीकार गर्नुपर्ने कुरामा सहमति आएको जानकारी प्राप्त भयो। त्यसपछि २४ अगस्ट २०२६ को अद्यावधिकमा नाम परिवर्तन भएको देखियो।
मैले पहिले भनेको ‘रोडोडेन्ड्रन च्याम्बरलैनी गुराँस होइन’ भन्ने कुरा अब केवल व्यक्तिगत दाबीका रूपमा मात्र हेर्नुपर्ने अवस्था रहेन। त्यसको वर्गीकरणीय आधार पीओडब्लुओको पछिल्लो अद्यावधिकले पनि स्वीकार गरेको छ। यसलाई वैज्ञानिक अभिलेख सच्याउने एउटा सानो प्रयासका रूपमा लिनु उचित हुन्छ। प्रश्न उठाउनु, प्रमाण खोज्नु र सम्बन्धित विशेषज्ञसमक्ष पुनरावलोकनका लागि प्रस्तुत गर्नु नै अनुसन्धानको मूल प्रक्रिया हो। मेरो लागि यो निष्कर्षभन्दा बढी एउटा जिज्ञासा समाधान हो। मेरो बुझाइ गलत भए त्यस्तो हुन्नथ्यो।
वनस्पतिको नाम कतै प्रकाशित भएको छ वा अद्यावधिक गरिएको छ भन्दैमा त्यसलाई अन्तिम सत्य मानेर बुझ्नुहुँदैन। विद्वान्ले अनुसन्धान गरेको, ठूलो संस्थाले मानेको तथ्य पनि गलत हुन सक्छ। गुराँस जस्तो नेपालको जैविक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण वंशका वैज्ञानिक नाममा हुने गडबडीले अनुसन्धानकर्ता र विद्यार्थीलाई निकै भ्रममा पार्छ। ढिलै भए पनि अन्तर्राष्ट्रिय स्तरको अभिलेखमा भएको यो सुधार सकारात्मक कदम हो। अब त्यस्तै वैज्ञानिक सुधार नेपालका पुस्तक र वनस्पति अभिलेखमा पनि देखिनुपर्छ। पुस्तक सम्पादन गर्ने र गुराँस अध्ययन अनुसन्धान गर्नेले नेपालमा रहेका गुराँस सम्बन्धी थप अध्ययन गर्न आवश्यक छ।
लिन्डली एलन क्रेभेनले गरेको गल्ती १५ वर्षपछि सच्याउने काम भएको छ। अझ, उत्तर बङ्गालबाट प्रकाशित हुने ‘प्लियोनी जर्नल’ को भोल्युम ९ अङ्क २ (सन् २०१५) मै डिप्लोर्चे वंशका दुई प्रजातिलाई एकै प्रजाति ‘डिप्लोर्चे मल्टिफ्लोरा’ मा समायोजन गरिएको अनुसन्धान नतिजा प्रकाशित भएको थियो। त्यो अनुसन्धानात्मक लेख प्रकाशित भइसक्दा पनि पीओडब्लुओले डिप्लोर्चे मल्टिफ्लोराको स्वतन्त्र अस्तित्व स्वीकारेको थिएन। नेपालका वनस्पतिविद्हरूले पनि त्यसलाई नजरअन्दाज नै गरे। बल्ल अहिले पीओडब्लुओले सच्याउने काम गरेको छ। त्यसका लागि पीओडब्लुओका सम्पादकीय तथा ‘वर्ल्ड चेकलिस्ट अफ भास्कुलर प्लान्ट्स’ सम्पादन समूहलाई हार्दिक धन्यवाद।
प्रतिक्रिया 4