+
+
Shares

शिक्षक भर्नामा चलखेल गरेको भन्दै वडाध्यक्षले लगाए विद्यालयमा ताला

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ भदौ १३ गते ८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालयमा शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेलको आरोप लगाउँदै वडाध्यक्ष सूर्यकुमार दासले प्रशासन कक्षमा तालाबन्दी गरेका छन्।
  • दासले प्रधानाध्यापक भोला यादव, समिति अध्यक्ष नथुनी दास र शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाउँदै शनिबारको छनोट परीक्षा रोकिएको बताए।
  • उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएको निवेदनमाथि छलफल नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।

१३ भदौ, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालय, सेहरा रौतहटमा शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्षले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका छन् ।

विद्यालयमा रिक्त रहेको प्लस टु तर्फ लेखा विषयको एक, अंग्रेजी विषयको एक तथा प्राविधिक धारतर्फ प्रशिक्षक एक, सहायक प्रशिक्षक एक र प्रशिक्षण सहायक एक पदमा करार नियुक्तिका लागि शनिबार बिहान ९ बजेदेखि छनोट परीक्षा सञ्चालन गर्ने विद्यालय प्रशासनले तयारी गरेको थियो। तर, भर्ना छनोट प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै बलान–बिहुल गाउँपालिका-६ का वडाध्यक्ष सूर्यकुमार दासले विद्यालयमा तालाबन्दी गरेका हुन्।

वडाध्यक्ष दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाएका छन्।

यसअघि गत बुधबारका लागि तोकिएको परीक्षा पनि विवादपछि स्थगित गरिएको थियो। तर, शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि आफूले विद्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष दासले बताए।

वडाध्यक्ष दासले गत मंगलबार राति शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरी परिसरमै प्रधानाध्यापक भोला यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासले शिक्षा समन्वय अधिकारी शशिकुमार यादवसँग मिलेर शिक्षक भर्नाका लागि ‘सेटिङ’ गरिरहेको आरोप लगाउँदै वडाध्यक्ष दास मंगलबार साँझ ७ बजेदेखि राति साढे ९ बजेसम्म शिक्षा समन्वय तथा विकास कार्यालयको गेटमा धर्नामा बसेका थिए।

त्यसपछि प्रधानाध्यापक भोला यादवले मंगलबार राति नै सामाजिक सञ्जालमार्फत अर्को सूचना नआएसम्म परीक्षा स्थगित गरिएको जानकारी सार्वजनिक गरेका थिए। तर, सोही राति पुनः अर्को सूचना जारी गर्दै शनिबारका लागि परीक्षा सञ्चालन गर्ने मिति तोकिएको वडाध्यक्ष दासको भनाइ छ ।

सो विषयमा बुझ्न प्रधानाध्यापक भोला यादवसंग पटकपटक सम्पर्क सम्पर्कमा आउन चाहेनन् ।

यता वडा अध्यक्ष दासले आफू जिल्ला प्रशासन कार्यालय सप्तरीमा १० गते दिइएको निवेदनमा छलफल नभएसम्म विद्यालयमा लगाएको तालाबन्दी नखोल्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?