News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा बाढीपछि स्याफ्रुबेंसी, टिमुरे र भोटेकोशी आसपासका बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन बनेका छन्।
- बिजुली र टेलिफोन सेवा बन्द हुँदा बाँचेका मानिसलाई आफन्तको अवस्था थाहा पाउन र खबर गर्न कठिन भएको छ।
- धुन्चे–रसुवा सडक आंशिक खुले पनि उद्धारका लागि आएका हेलिकोप्टरमा सामान्य बिरामी चढ्दा गम्भीर घाइतेको उद्धार प्रभावित भएको छ।
अहिले रसुवामा बाढीबाट जोगिएका बासिन्दाहरू बाँकी संसारसँग सम्पर्कविच्छेद भएर बसिरहेका छन्। जो बाँचे, उनीहरूलाई आफ्ना आफन्तहरू को कता छन् ? कहाँ पुगे ? के भइरहेको छ भन्नेबारे कुनै अत्तोपत्तो छैन।
माथि टिमुरे बजारमा बाढी आएपछि स्याफ्रुबेंसीका केही बासिन्दाहरूले थाहा पाएका रहेछन्। कतिपय भागाभाग गरे। कतिपयले आफूहरूको साथमा रहेका केही पैसा वा महत्त्वपूर्ण सामान सँगै लैजान खोजे।
थाहा पाएर तत्काल माथिल्लो भागमा भाग्न सक्नेहरू मात्रै जोगिए, अरूको अवस्था के छ, थाहा हुन सकेको छैन। अखिल खोला किनारका सबै बजारहरू बाढीले बगाएको छ; त्यहाँका घर, टहरा र अरू कुनै संरचनाको नामनिसाना छैन, मानिसहरूको हालखबर कसरी थाहा पाउनु ?
स्याफ्रुबेंसी बजार पर्यटकहरूको नाका हो। लाङटाङ घुम्न आउने पर्यटकले बजारमा सधैं चहलपहल हुन्थ्यो। बजारका होटेल र लजहरू भरिभराउ हुन्थे। बजारका मानिसहरूसँगै कति पर्यटकहरू बाढीमा परे, कति भागेर जोगिए ? कति सम्पर्कविहीन छन् ? केही थाहा हुन सकेको छैन।
जो डाँडाकाँडातिर र दायाँबायाँ लागेर बाँचेका थिए, उनीहरू पनि आफ्ना आफन्त र नातेदारहरूसँग सम्पर्कमा छैनन्। बिजुली र टेलिफोन छैन। त्यो नभएपछि ‘आफू बाँचेको छु’ भनेर कसरी आफन्त र नातेदारलाई खबर गर्नु ? अहिलेसम्म त भएका फोनहरूको पनि ब्याट्री सकिएको होला।

भोटेकोशी बजारनजिकै रहेका कतिपय स्कुलका विद्यार्थी कहाँ छन् ? थाहा छैन। कतिपयलाई स्कुलका शिक्षक र अरूले जोगाएर सुरक्षित राखेको हल्ला पनि छ। तर, एकआपसमा सम्पर्क हुन नसक्दा को कस्तो अवस्थामा छन् भन्ने नै पत्ता छैन। त्यसले बाँचेकाहरू पनि मानसिक रूपमा निकै कमजोर र शिथिल भएका छन्।
अहिले हामी कालिकाको स्याउबारीमा बसेर रेडियो सञ्चालन गरिरहेका छौं। विद्युत् आपूर्तिको अभावले हामीले बिहान र बेलुकी केही समय मात्र रेडियो सञ्चालन गरिरहेका छौं। अहिलेसम्म धुन्चे आउने सडक सम्पर्कविच्छेद छ।
हिजो बेलुकीसम्म जसोतसो ट्र्याक खोलिएको भन्ने छ र अफरोडमा चल्ने ‘फोरह्विल’ गाडीहरू आउन थालेका छन्। ट्र्याक खुलेसँगै मोटरसाइकल र स्कुटरहरू पनि आउन थालेपछि बाटो जाम हुने र आवागमनमा अवरोध हुने समस्या आएको छ।
अर्कोतर्फ, गम्भीर घाइते र बिरामीहरूको उद्धारका लागि हेलिकोप्टरहरू आइरहेका छन्। तर, उनीहरूभन्दा सामान्य बिरामीहरू पनि हेलिकोप्टरमा जाने र बसिदिने गर्दा उद्धारमा संलग्न पाइलटहरूलाई समस्या भएको छ। गम्भीर घाइते ओसार्न आएका उनीहरू त्यो हानाथापले रित्तै फर्किनुपर्ने अवस्था छ।
यहाँका मध्ये आमाछोदिङ्मो गाउँपालिकाका गाउँहरूमा अवस्था अझै अन्योल छ। माथिल्लो भागमा रहेका गाउँहरूमा बिजुली र सञ्चार सम्पर्क विच्छेद छ। मानिसहरूले सामान्य अवस्था सोचेर सीमित समयका लागि अन्नपात र अरू खाद्यान्नको जोहो गरेका हुन्छन्।
तर बाटो बन्द भएपछि मानिसहरूलाई खाद्यान्नको सङ्कट हुने पो हो कि भन्ने चिन्ता छ। रसुवाको कालिका, धुन्चे लगायतका गाउँहरूमा पनि यस्तै अवस्था छ।
अब सरकारले टेलिफोन र सञ्चार सम्पर्क अनि बिजुली सुचारु गर्ने कामलाई प्राथमिकता दिनुपर्छ। त्यसो हुन सकेमा मानिसहरूले आफन्त, नातेदार र अरू को कस्तो अवस्थामा छन्, थाहा पाउन सहज हुने थियो।
(रेडियो लाङटाङको स्टेसन म्यानेजर गीता न्यौपानेसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4