+
+
Shares

‘ताल फुट्ने जोखिम कम छ, सतर्क हुनुपर्छ’

हिमचट्टानयुक्त पहिरोपछि बनेको ताल फुट्ने हल्ला चलाइएपनि त्यस्तो कुनै सम्भावना नभएको प्राविधिकहरुको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ल्हेन्देखोलाको माथिल्लो भागमा बनेको तालबाट तत्काल बिस्फोटको जोखिम घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
  • पानी बग्न थालेपछि ताल आफैं फुट्ने सम्भावना कम हुने र हल्लाले तल्लो भागको खोजतलास तथा उद्दार प्रभावित भएको विशेषज्ञहरूले बताएका छन् ।
  • दुईवटै तालमा करिब ५० हजार घनमिटर पानी रहेको र सबैभन्दा खराब अवस्थामासमेत गत बुधबारजस्तो विनाशक बाढी नआउने प्राविधिकहरूको अनुमान छ ।

१३ भदौ, काठमाडौं । गत बुधबारको बाढीपछि ल्हेन्देखोलाको माथिल्लो भागमा बनेको ताल बिस्फोटको जोखिम तत्कालका लागि टरेको छ ।

कतिपय विशेषज्ञहरूले ताल फुट्ने हल्लाले तल्लो भागमा भइरहेको खोजतलास र उद्दारलाई प्रभावित परेको बताएका छन् ।

विशेषज्ञहरूका अनुसार, माथिल्लो भागबाट भरिएको पानी बग्न थालेकाले ताल बिस्फोट भएर बाढी आउने सम्भावना तत्कालका लागि टरेको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली अब ताल फुटिहाल्ने जोखिम घटेको बताउँछन् ।

‘सामान्यतयाः कमजोर तालहरू पानी भरिनासाथ फुटिहाल्छन् । नयाँ बनेको ताल भरिएर बग्न थालेको पनि २४ घण्टा नाघेको छ र फुटेको छैन’ इञ्जिनियर पराजुली भन्छन्, ‘भरिएर पानी बग्न थालेको अवस्थामा ताल आफैं फुट्ने सम्भावना कम हुँदै जान्छ ।’

जल तथा उर्जा आयोगको सचिवालयमा कार्यरत भूगर्भविद् श्रीकमल द्विवेदी हिमचट्टान बज्रदा बनेको खाल्डोमा भरिएको पानी फुट्ने हल्ला चल्दा तल्लो भागको उद्दार र खोजतलासी नै प्रभावित भएको बताउछन् ।

‘हिमचट्टान बज्रेको ठाँउमा बनेको खाल्डोमा पानी भरिएर ताल जस्तो बनेको हो । त्यति लामो आकारको ताल फुट्ने सम्भावना थिइन’ द्विवेदी भन्छन्, ‘खाल्डोमा पानी भरिएर बग्नु र ताल फुट्नु फरक विषय हो । अनाहकमा बाढीको हल्ला चलाएर तल्लो भेगको उद्दार र खोजतलासी नै प्रभावित पारियो ।’

गत बुधबारको विध्वंशक बाढीको भोलिपल्ट चीनले लाङटाङ हिमालको उत्तरी भागमा ड्रोनमार्फत सर्भे गरेको थियो । त्यसक्रममा करिब चार हजार मिटर माथि एउटा र ल्हेन्दे खोलाको माथिल्लो भागमा अर्को गरी दुईवटा ताल बनेको फेला परेको थियो ।

‘तालमा पानी भरिने क्रम चलेको थियो, त्यो आफैं फुटेर बग्नसक्ने खतरा थियो’ बाढी पूर्वानुमान शाखा प्रमुख पराजुलीका अनुसार, ‘चीनले नै तालका वारेमा पठाएको सूचना र विवरणका आधारमा सरकारले सतर्कताको सूचना जारी गरेको थियो ।’ त्यतिबेला मनिटरिङ गर्दा दुवै ताल जोखिमपूर्ण रहेको निर्क्यौल भएको थियो ।

पराजुलीका अनुसार, पछिल्लो समय प्राप्त फोटो र अरु डाटा हेर्दा तालको एउटा निकासा खुलेर विस्तारै पानी बाहिर निस्कन थालेको देखिएको छ ।

प्राविधिकहरूले पानीको ‘ओभरफ्लो’ भइसकेको अवस्थामा ताल बिस्फोटको सम्भावना कम हुने निष्कर्ष निकालेका हुन् ।

प्राविधिकहरूका अनुसार, दुई तालमाथि करिब चार हजार मिटरको उचाईमा रहेको ताल यसअघि नै कुनै न कुनै पमा अस्तित्वमा रहेको हुनसक्छ । उनीहरूले पहिले नै सानो रुपमा त्यो तालको अस्तित्व हुनसक्ने आंकलनका साथ पुराना डाटाहरू विश्लेषण गरिरहेका छन् ।

तर तलपट्टिको ताल भने बुधबार बिहान हिमचट्टान खसेपछि बनेको हुनसक्ने उनीहरूको आँकलन छ ।

इञ्जिनियर पराजुली अहिले पहिचान खुलेका तालहरूका बारेमा दुई सम्भावना देख्छन् । पहिलो, ताल फुटेर पानी बग्नसक्ने सम्भावना रहन्छ, जुन अहिले घटेपनि पूर्ण रुपमा अन्त्य भएको छैन । अर्को, माथिबाट पहिरो आएर तालमा खस्ने अनि तालको पानी बगेर फेरि बाढी आउने सम्भावनालाई समेत नकार्न सकिंदैन ।

ताल कति ठूला छन् ?

दुइैवटै ताल स्याटेलाइट इमेज र ड्रोनबाट पहिचान गरिएका हुन् । त्यस्तोमा तालको लम्बाई, चौडाई र वरपरको भौगोलिक अवस्था थाहा पाएपछि गहिराईको पत्तो हुँदैन । त्यसैले पनि तालको गहिराईले त्यहाँ संकलन भएको पानीको मात्रा र जोखिम पहिल्याउन सहयोग पुर्‍याउँछ ।

बाहिरबाट हेर्दा सानो भएपछि भित्रको गहिराईमा ठूलो मात्रामा पानी जम्मा भएको आंकलनका साथ आफूहरू तालको विस्तृत विवरणमा केन्द्रित भएको शाखा प्रमुख पराजुली बताउँछन् । उनका अनुसार, दुवै तालको आकार करिब-करिब उस्तै छ ।

प्राविधिकहरूका अनुसार, सबैभन्दा खराब अवस्था भएर ताल बिस्फोट भई पानी बगेमा पनि गत बुधबारकै शैलीमा विनाशक बाढी आउँदैन ।

बाढी पूर्वानुमान महाशाखा प्रमुख दुईवटा तालमा करिब ५० हजार घनमिटर पानी रहेको बताउँछन् । उनका अनुसार, चिनियाँ पक्षले पठाएको प्रारम्भिक आँकडामा गत बुधबार २०० लाख घनमिटर पानी बगेको थियो ।

‘अस्तिको बाढीले बगाएको लेदोले खोलाको सतह माथि आएको छ, बाढी आइहालेमा किनारामा संकट हुनसक्छ भन्ने हाम्रो अनुमान हो’ पराजुली भन्छन्, ‘त्यसैले जति नै खराब अवस्था आएपनि अस्तिको भन्दा माथि बाढी नआउला र थप क्षति नगर्ला भन्ने अहिलेको अनुमान हो ।’

जल तथा उर्जा आयोगमा कार्यरत सिनियर डिभिजनल इञ्जिनियर द्विवेदीले यो मामिलामा फरक मत राख्दै आएका छन् । उनले दुई दिनअघि नै गेग्रग्यान बहावले कम्पन ल्याएको अवस्थामा भुकम्पले तालको ड्याम फुटेको हल्ला चलाइएको र त्यसले उद्दारमा बाधा पुगेको भनी सार्वजनिक रुपमा चेतावनी दिएका थिए । उनले समाजिक सञ्जालमा लेखेका थिए, ‘ड्याम फुटेको हल्लाले सुरुङमा थुनिएकाहरुलाई निकाल्ने प्रयासमा बाधा पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?