News Summary
Generated by OK AI. Editorially reviewed.- पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोले मुग्लिन–काठमाडौ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
- जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले उक्त खण्डमा सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताए ।
- गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले मुग्लिन–काठमाडौ सम्पर्कलाई गोरखा हुँदै जोड्ने प्रयास भइरहेको बताए ।
१४ भदौ, गोरखा । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौ सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरोले सडक नै बगाएपछि यातायात आउजाउ ठप्प छ ।
उक्त खण्डमा गाडी सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए । ‘म आफैं बिहान त्यहाँको स्थलगत निरीक्षणमा गएका थिए,’ उनले भने, ‘पहिरो हेर्दा सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्छ ।’
मुग्लिन हुँदै काठमाडौ जाने सवारीहरूले तत्कालका लागि गोरखाको रुट प्रयोग गर्न सक्ने सरोकारवाला बताउँछन् । उनीहरूका अनुसार गोरखा सदरमुकामबाट बुंकोट–नाम्जुड–घैरुङ–दुर्वङ हुँदै सिउरेनीटारबाट बेनीघाट निस्केर काठमाडौं जाने एउटा रुट छ ।
त्यस्तै गोरखा सदरमुकामबाट नाम्जुङ हुँदै बुंकोटघाटबाट बेनीघाट निस्कने अर्काे रूट पनि छ । विशेषगरी पोखरा, गोरखा लगायत पश्चिमबाट काठमाडौं जाने सवारीलाई हालका लागि उक्त रूट उपयुक्त हुनेछ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पहिरोले टुटेको मुग्लिन काठमाडौंको सम्पर्कलाई गोरखा हुँदै जोड्ने प्रयास भइरहेको बताए ।
छोटो र उपयुक्त रुटको पहिचान गर्न सडक कार्यालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
उक्त सडकखण्डको पहिचान गरी आवश्यक ठाउँमा स्तरोन्नती गर्ने र सवारी आउजाउलाई सहज बनाउने उनको भनाइ छ ।
प्रतिक्रिया 4