News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको तुलसीपुरमा शनिबार आयोजित सोह्रौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अन्तर्क्रियामा द्वन्द्वकालीन बेपत्ता परिवारले सत्यतथ्य सार्वजनिक गर्न राज्यसँग माग गरे।
- तुलसीपुर–१२ की ८० वर्षीया टीका डाँगीले २०५८ पुसदेखि सम्पर्कविहीन छोरा ओवीरामको अझै अत्तोपत्तो नभएको बताइन्।
- तुलसीपुर–११ की निर्मला चौधरी र दङ्गीशरण–३ का हरिराम चौधरीका परिवारले पनि वर्षौँदेखि बेपत्ताको खबर नआएको भन्दै आशा नमारिएको बताइन् ।
१५ भदौ, तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेका छन् । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।
उनी अहिले ८० वर्ष पुगिसकिन् । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उनका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उनले आशा भने मारेकी छैनन् । ‘ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ’, उनले भनिन्, ‘मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन ।’
बुढेसकालको सहारा होला भनेर छोरालाई इन्जिनियर पढाएको डाँगीले बताइन् । तर, बुढेसकालमा झन् एक्लिएर बस्नुपर्दा उनलाई दुःख लागेको छ । ‘बुढेसकालमा छोराको कमाइ खाउँला, सुखले बसौँला भनेको थिएँ’, उनले भनिन्, ‘तर अहिले उसकै सम्झनामा बस्नुबाहेक केही भएन ।’
छोरा हराएको २७ वर्ष बितिसक्दा पनि कुनै पत्तो नलागेको भन्दै उनले राज्यसँग पनि असन्तुष्टि पोखिन् । ‘कुनै दिन छोरो घर फर्किएला भन्ने आशा अझै मरेको छैन’, उनले भनिन् ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारीकी निर्मला चौधरीको पीडा पनि उस्तै छ । उनका एक्ला छोरा विनोद चौधरी २०६० कात्तिक २ गतेदेखि सम्पर्कविहीन छन् । ‘एक्लो छोरा हो, घर आउँलाआउँला भन्दाभन्दै २५ वर्ष भइसक्यो’, उनले भनिन्, ‘अझै पनि आशा मरेको छैन ।’ प्रतीक्षामा धेरै वर्ष बिते । निर्मला भन्छिन्, ‘आमा हुँ, कसरी भुल्न सक्छु र ?’
दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी पनि २०५९ सालदेखि बेपत्ता छन् । तुलसीपुरमा मल लिन भनी आएका चौधरी बेपत्ता भए पनि परिवारको आशा अझै मरेको छैन । “अझै पनि आउँछन् कि भन्ने लाग्छ”, उनका भाइ सीताराम चौधरीले भने ।
यी त केही उदाहरणमात्रै हुन् । अझै पनि धेरै आमाहरूले वर्षौँदेखि यही पीडा भोगिरहेका छन् । द्वन्द्वका समयमा बेपत्ता भएका नागरिकका परिवार झिनो आशामा पीडादायी दिनहरू बिताइरहेका छन् । लामो समयसम्म बेपत्ता भएका आफन्तका परिवारले न्याय पाउन नसकेको र झन् पीडामाथि पीडा थपिएको सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक सीता चौधरीले बताइन् ।
‘कि सास चाहियो, कि लास चाहियो भनेर आवाज उठाउँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन’, उनले भनिन्, ‘हामीले न्यायका लागि धेरै आवाज उठायौँ तर हाम्रा पीडा ज्यूँकात्यूँ छन्, हाम्रो सुनुवाइ कतैबाट भएको छैन ।’
सरकारले अझै पनि बेपत्ता व्यक्तिको अवस्था के छ भन्ने कुरा पत्ता लगाउन नसक्दा पीडित परिवारमा झन् पीडा थपिएको उनको भनाइ छ । पटकपटक बेपत्ता नागरिक खोजीका लागि सामान्य कार्यक्रम भए पनि वास्तविक अवस्था भने पत्ता लाग्न नसकेको भन्दै उनले दुःखेसो पोखिन् ।
सोह्रौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा शनिबार दाङको तुलसीपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले आ–आफ्ना दुःख र पीडा सुनाए । हरेक वर्ष एक दिन बेपत्ता नागरिकका बारेमा छलफल हुने भए पनि हालसम्म अवस्था पत्ता नलाग्दा पीडा जहाँको तहीँ रहेको उनीहरूको भनाइ छ ।
राज्यले तत्काल बेपत्ता नागरिकका बारेमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4