+
+
Shares
रिपोर्टर डायरी :

जब बाढीले आफ्नै गाउँ बगाएको दृश्य रिपोर्टिङ गर्नुपर्‍यो

हात काँपेको छ, मन भक्कानिएको छ । सम्झिरहेको छु, याद आइरहेका छन् । तर म शून्य अवस्थामा छु । शब्दहीन । भावना नै नभए जस्तो ।

रामचन्द्र अर्याल रामचन्द्र अर्याल
२०८३ भदौ १५ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीका कारण त्रिशूली सभ्यता, देवीघाट, बुहुनीबेशी, त्रिशूली बजार, ढुंगे बजार, बेत्रावती, स्याफ्रु र टिमुरे बजार स्मृतिमा सीमित भएका छन् ।
  • बाढीले घर, जग्गा, जमिन र बाटाघाटा बगाउँदा त्रिशूली पारिका बासिन्दा बिच्छिन्न, अन्धकार र राहत अभावमा परेका छन् ।
  • स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वयंसेवकहरूले बाढीबाट ल्याइएका शव उद्धार, राहत वितरण र पीडित खोजीमा काम गरिरहेका छन् ।

दिमाग खल्बलिएको छ । न कुनै शब्द छन् बोल्नका लागि न कुनै दृश्य बाँकी छ हेर्नका लागि । छन् त केवल स्मृति मात्रै । छ त केवल आफ्नै अस्तित्व अस्वीकार गरिरहेको धमिलो पानीको बहाव । यसलाई त्रिशूली नदी भन्न सायद नदीकै आत्मालाई मन छैन । म कसरी भन्न सकुँ । टेक्ने पाइला नै हराएको, आफ्नो भावना नै सकिएको यो घटना कसरी उल्था गर्न सक्छु ।

ठिङ्ग उभिएको तर भावना नै नभएको पृथ्वी नारायणको सालिक जस्तै । के सालिक बोल्छ र ? हो, देवीघाट बजारको सुरुवात जहाँबाट हुन्छ त्यहीँ यो सालिक साक्षी राखेर बाढी पस्यो । उनै पृथ्वीनारायणले बसालेको यो बजार सकियो । हामी त्यही सालिक जस्तै भएका छौं । तर अब विस्तारै हलचल गर्न खोज्दैछौं । खै सकिन्छ कि सकिन्नँ । हिम्मत गर्नेछौं । सम्पत्ति, जग्गाजमिन अस्थायी हुन् थाहा छ, तर ती हाम्रो भावनासँग जोडिएका वस्तु हुन् । ती बिना त अरू सबै भावना फगत भावना मात्रै त हो ।

000

देवीघाट बजारको चौतारा छेउ एउटा पाटी थियो । बुढापाकाले भन्थे, नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले देवीघाटमा अस्थायी बासका लागि बनाउनुभएको । उहाँले सिकार खेलेर रात बिताउने पाटी । हामीले त्यही सुनेको ।

देवीघाटमा नेपालकै सबैभन्दा लामो रथ जात्रा हुन्छ, वैशाख पूर्णिमाका दिन । भैरवी-जालपा मिलनको जात्रा, धामी जात्रा । २०५४ देखि २०६० सालसम्म हरेक जात्रामा म स्वयं नेपाल स्काउटका रूपमा त्यो जात्राको स्वयंसेवी बनेर पानी बाँड्नेदेखि तीर्थालुलाई बासस्थान मिलाउने काममा खटिएको छु । र, त्यही पाटीलाई आश्रयस्थल बनाइन्थ्यो ।

विद्यालय अध्ययनका क्रममा त्यो पाटीमा लुकामारी खेल्ने । कतिपय सन्दर्भ भावनासँग जोडिएका हुन्छन् । जीवनसँग जोडिएका हुन्छन् । हाम्रो जीवन यही पाटीसँग जोडिएको छ । भावनासँग । पृथ्वीनारायण शाह हामीलाई आफ्नै कुप्रो हजुरबा जस्तो लाग्छ । किनकि, देवीघाटका हरेकले त्यही पृथ्वीनारायण शाहको सालिकको औंला हेरेर दिनको सुरुवात गर्थे । अनि पृथ्वीनारायण शाहकै समाधीस्थलमा यहाँका मानिसहरूको अन्तिम संस्कार हुने गरेको थियो ।

नेपाल एकीकरणका महानायकले अन्तिम श्वास फेर्नुभएको यही भूमि अहिले अन्तिम अवस्थामा छ । सायद अब यहाँ जीवन सम्भव नहोला । त्रिशूली नदीका हरेक ढुंगाको हामीसँग हिसाब छ । बेत्रावती सन्धिको ढुंगो हेर्न त कति पटक पुग्यौं, गनिसाध्य छैन, आज त्यही अजंगको ढुंगा कहाँ पुर्‍याएको छ भनिसाध्य छैन । बुहुनीबेशीको बिराली ढुंगोको भयंकरताबारे भारतको काशीमा लेखिएको छ भनेर हाम्रो हजुरबाहरूले धेरै पटक सुनाउनुभएको थियो । आज ती कुनै पनि ढुंगा छैनन् ।

000

भोटेकोशी बाढीसँगै त्रिशूली सभ्यता लगभग अस्तित्वको अन्तिम क्षणमा छ । यो सभ्यता पुनर्स्थापित गर्न सायद अब असम्भव होला । हामी यही सभ्यताका उपज थियौं । यो सभ्यताले हामीलाई सधैं त्रिशूली जस्तै निष्कपट र निरत्नर गतिशिलताको पाठ सिकाएको थियो । यो सम्यतामा केरुङदेखि देवीघाटसम्म अनि त्यसभन्दा तल्लो क्षेत्रका हजारौं परिवारले शान्ति र समृद्धिको पाठ पढिरहेका थिए ।

२०१९ सालमा त्रिशूलीमा ठूलो बाढी आएको थियो रे । भदौ १९ गते । त्यो दिनको बारेमा हाम्रा हजुरबुबाहरूले बेलाबेलामा सुनाउनुहुन्थ्यो । म आफैं रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा बुहुनीबेशी फाँट पारिपट्टिका एकजना बुबाले भन्नुभएको थियो- यो बाढी त १९ सालको अठबर हो । त्यसबेला बाढी आएको त थियो, तर नदीकै दुई किनारा ढाकेर । किनार आसपासका केही जमिन क्षति पुग्नेगरी । तर अहिले यो बाढी बाढी मात्रै होइन, यो त महाप्रलय हो । पानीको बहाव मात्रै बढेको होइन । बाढी आउनुअघि आएको बालुवा र गिट्टी मिश्रित हुण्डरीले सबैभन्दा बढी असर पारेको देखिन्छ ।

000

देवीघाट, बुहुनीबेशी, त्रिशूली बजार, ढुंगे बजार, बेत्रावती बजार, स्याफ्रु बजार, टिमुरे बजार, अनि माथिल्ला भू-भाग अब स्मृतिमा मात्रै बाँकी रहे । हाम्रो भावना र हाम्रो जीवन नै यी स्थानहरू हुन् । जब म बुझ्ने भएँ, हामी हुर्किएकै यही फाँटहरूलाई कहिले आफन्तको गाउँका रूपमा, कहिले साथीको गाउँका रूपमा त कहिले आफ्नै घरभएको स्थानका रूपमा बितायौं ।

धेरै लेख्न खोज्दाखोज्दै दिमाग नै शून्य छ । भन्न धेरै मन छ तर अहँ, कुनै भावना नै आइरहेको छैन । हात काँपिरहेको छ, मन भक्कानिएको छ । झलझली याद आइरहेको छ । तर म शून्य अवस्थामा छु । शब्दहीन । भावना नै नभएको जस्तो । एकोहोरो ।

रणभुवनेश्वरी माविको आयोजनामा २०५८ सालसम्म हरेक वर्ष पृथ्वी जयन्तीका दिन जिल्लास्तरीय विभिन्न प्रतियोगिता हुने गर्थ्यो । त्यसको आयोजकका रूपमा मैले धेरै वर्ष काम गरेको छु । जिल्लाका विभिन्न विद्यालयहरूबाट आउने विद्यार्थी साथीहरूले देवीघाट र यो बजारको सभ्यता जोडिएको त्रिशूली नदीको वर्णन गर्दा गर्व लाग्थ्यो । अब के वर्णन गर्ने ?

तुइन, हामीले कहिल्यै भोग्नु परेन । बुबाहरूले सुनाउनुभएको मात्रै हो तुइन थियो रे भनेर ।

बाढी गएको दिन म मेरो गाउँ बगाएको दृश्यको रिपोर्टिङमै थिएँ । म पिपलटारको चन्द्रज्योति माविको गेटबाट मध्यपहाडी लोकमार्गको बुहुनीबेशीतर्फ जाने ढलान बाटो हुँदै तल झरें । मेरै जन्मथलो पुग्न सकिनँ । आँखाले देखे, तर आँखाले केही देखेन । त्यो भयावह दृश्य देखिन्थ्यो, फुस्रो अनि खुइलिएको दृश्य । जुन दृश्य कल्पना नै गर्न नसकिने दृश्य । ठूलो फाँट थियो नि त्यहाँ त भन्ने अवस्थाको दृश्य । घरमा बुबाआमा, परिवार र काकाकाकीहरू हुनुभएको सिंगो गाउँ नै अचेत । अनि यो दर्दनाक पीडा पारिबाटै कैद गर्दा म आफैंलाई भावना शून्य महसुस गर्दै थिएँ । म धेरै पटक भक्कानिएँ । म धेरै पटक भुईंमा थचक्क बसें ।

जमिनमा टेकेको छु, तर मलाई कुनै महसुस नै थिएन । यो जमिन मेरै माटो हो त ? म हुर्किएको र मैले आफ्नो भन्ने गरेको ठाउँ यही हो त ? म कसरी यो मेरो हो भनौं ? म अर्ध मुर्छित भएँ । सहकर्मी साधुराम लामिछानेले पटकपटक पानीको बोतल निकालेर छ्याप्नुभयो । मैले मेरो सञ्चारकर्मको कर्तव्य निर्वाह गरें । त्यो दृश्यको व्याख्या गर्ने शब्द नै थिएनन् । तर शब्द निकालें, हिम्मत हारिनँ ।

माथि तुइनको कुरा गर्न खोजेको थिएँ । बाढी प्रभावित तारकेश्वरको दर्शनटारमा मेरो फुपूको घर छ । सन्तोष घिमिरे भान्दाइले तुइन चढाउनुभएको थियो । २०५५ सालतिर । आज देवीघाटमा तुइन बन्दैछ भन्ने खबर पाएपछि मेरो मन यति खुसी भयो कि, बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गए राति फोन गरेर तुइन बनाउने तयारी गरिरहेका छौं भन्ने वित्तिकै म यति खुसी भएँ कि, अब त्रिशूली पारिका शीरखाली, देवीघाट, बुहुनीबेशी, भोर्लाटार, मुलथला, गौरिबेशी, दर्शनटारसम्मका स्थानीयले ठूलै उपहार पाउन लागेको जस्तो । एउटा तुइनले मानिसमा कति आशा जगाएको होला । एउटा तुइनले अब हाम्रो जीवन बाँच्छ भन्ने कल्पना । अवस्था यस्तो बन्यो कि तुइन बन्दैछ रे भन्ने खबर हाम्रा लागि ठूलै क्रान्ति जस्तो ।

000

नुवाकोटको त्रिशूली नदी किनारमा धेरै फाँट छन् । त्यहाँको अनाज बजारमा बेच्ने पुरानै चलन । अनाज बेचेर दशैं किन्ने चलन, हजुरबाको पालादेखि । हजुरबाहरूको पालामा खुदो, बुबाहरूले धान र तील, घ्यु । ती सबै बेच्न जाने बजार थियो साँघु । अक्करेको भिर हुँदै कठिन बाटो हामीले पनि केही भोग्यौं ।

बत्तीमुनिको अँध्यारोको कथा धेरै छन् । तर विस्तारै नुवाकोट काठमाडौंको सिफ्टेड शहरको रूपमा विकसित हुँदै थियो । हाइड्रो हब बनिरहेको थियो । नयाँनयाँ उद्योगहरू खुल्दै थिए । नयाँनयाँ उद्यमको सम्भावना पनि उत्तिकै । किसानहरू सबैभन्दा बढी उत्साहित थिए । प्रविधिको प्रयोगले त्रिशूली नदी अहिले जीवन बनेको थियो । फाँटहरू हरियाली देखिन्थे ।

मैले जीवनमा शहर भनेर थाहा पाएको पहिलो बजार हो साँघु । अर्थात् त्रिशूलीको भित्री बजार । मलाई अहिले पनि काठमाडौंको असन बजार फिक्का लाग्छ । जब साँघु बजार सम्झन्छु ।

गाउँमा बेलुका फर्किएपछि साथीहरू भेला परेर त्रिशूली बजारको सुन्दरताको वर्णन गरेको र त्यहाँ नपुगेकाहरूले कान ठाडा पारेर सुनेको सबै अब स्मृति मात्रै हुन् । अहिले बनिरहेको केन्द्रीय कारागार क्षेत्रलाई हामी खम्बाली क्याम्प भन्थ्यौं । खम्पा विद्रोहपछि तिब्बतका धेरैले त्यही ठाउँमा नयाँ जीवन पाए । त्यो हाम्रो भाषाको खम्बाली क्याम्पमा पिकनिक जाने विद्यार्थी टोली त्यसबेलाको सबैभन्दा ठूलो मानिन्थ्यो ।

केन्द्रीय कारागार क्षेत्र अहिले जीवित छ तर हरेक मिनेट त्रासमा ठिंग उभिएको जस्तो । कतिबेला फेरि आउने हो,अनि बग्न बाँकी म छु है भनेझैं अवस्थामा ती भवनहरू उभिएका छन् । सायद भावना हुँदो हो त ती भवनहरू हिँड्दै उकालो लाग्थे ।

हामी नजन्मँदै गाउँमा बिजुली पुगेको । १०४० सालदेखि बिजुली बलेको ठाउँ, देवीघाट आयोजनाका कारण । अर अहिले एउटा टुकीले त्रिशूलीपारि जीवनको नयाँ आशा खोजिरहेको छ । त्यही टुकी बाल्न पनि न मट्टितेल छ न अरू उपाय । अँध्यारोमा छ मेरो गाउँ ।अन्धकार शोकमा । न कसैसँग सम्पर्क न कसैको मोबाइलमा चार्ज । बल्ल केन्द्रीय पहलमा बिजुली जोड्ने प्रयास जारी छ ।

ढुंगे बजारमा विष्णुहरि र शालिक अर्याल दाइले एउटा सानो घर बनाउनुभएको थियो । हामी त्यो घरमा उभिएर त्रिशूली बजार हेर्दै गौरव महसुस गर्थ्यौं । म रिपोर्टिङमा ढुंगे पुग्दा उनै विष्णुहरि दाइ सडक किनारको एउटा घरमा ठूलाठूला डेक्चीमा खाना बनाउँदै हुनुहुन्थ्यो, बाढीमा फसेका र बाँचेकाहरूलाई बचाउन । आफ्नै श्रीसम्पत्ति गुमाउनुभएका दाइले मन भने जोगाउनुभएको देखें । मनमा पीडा र आँखामा आँसु बोकेर यो कार्य गरिरहनुभएका उहाँ जस्तै अन्य दाइहरूलाई सलाम ।

मेरो एउटा साथी छ, कक्षा १ देखि १० सम्म २०४९ देखि २०५९ सम्म सँगै पढेको । विनोद चित्रकार । ऊ त्यसबेला रणभुवनेश्वरी माविको सबैभन्दा बलियो । उसलाई एसएलसीपछि विदेश जान मन लाग्यो । लामो समय अफगानिस्तान बस्यो, जीवन नै दाउमा राखेर काम गर्‍यो । केही रकम कमायो । स्वदेश फर्कियो ।

बजारै भए पनि देवीघाट गाउँ हो । हाम्रो गाउँ । उसले देवीघाटको जालपा मन्दिर छेउको आफ्नो जग्गामा एउटा घर बनायो । गाडी पनि किन्यो । अनि हक्की स्वभावको उसलाई वडा सदस्य भएर समाजसेवा गर्ने रहर जाग्यो । अहिले ऊ वडा सदस्य छ ।

१० गते म आफ्नै गाउँ बगाएको रिपोर्टिङमा पुग्दा उसलाई देवीघाट चौकी अगाडि मानिस ओसारिरहेको, दलदले हिलोमा पसेर वृद्धाश्रमका बुबाआमाको खोजी गरिरहेको देखें । विनोद, के कस्तो छ भनेर सोधें । उसले जीवनभर कमाएको सबै एकै क्षणमा गुमायो । घर, गाडी, सम्पत्ति सबै सबै । तर उसको मनमा मानवता थियो । ऊ अहिले पनि पीडितको सेवामा लागिरहेको छ । न बस्ने ठेगान, न खाने ठेगान । एकसरो कपडाका भरमा ऊ र ऊ जस्ता सयौं युवा विपद् प्रतिकार्यमा जुटिरहेका छन् ।

000

मानवता अहिले सबैभन्दा ठूलो कुरा हो । गाउँ बग्यो, डुब्यो । तर मानवता बाँकी छ । जिउँदै छ । सबैजना एक अर्कालाई साथ दिइरहनुभएको छ, गच्छेअनुसार । काठमाडौंमा बसेर फेसबुकका भित्तातिर फलानो नेतालाई बाढीले बगाएछ कि क्या हो, कतै देखिन्न भन्ने खालका स्टाटसहरू हेरिरहेको छु ।

म तिनलाई भन्न चाहन्छु, उहाँहरू सबैजना सकेको गरिरहनुभएको छ । सबै जना फिल्डमै हुनुहुन्छ । सबैले यो विपद् व्यवस्थापनमा कुनै न कुनै भूमिका खेलिरहनुभएकै छ । नयाँ-पुराना सबै आ-आफ्नो भूमिकामा हुनुहुन्छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सांसद अच्युतम लामिछाने, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा अनि अरू सबै सबै । यस्तो बेला कसैले कसैलाई गाली नगरेकै राम्रो । उहाँहरू मरिमेटेर लागेकै हुनुहुन्छ । विपद्मा कसको मन दुखेको छैन र ?

विदुर-३ का वडाध्यक्ष बद्री रिमालले गरिरहनुभएको कार्यको वर्णन गर्ने शब्द नै छैनन् । कहाँ कहाँबाट बाढीले बगाएर ल्याएको २७/२८ वटा शव उहाँसहितले निकाले । बल्लबल्ल प्रहरी त्रिशूली पारि पुगे । अहिले राहतका लागि उहाँहरू लागिपर्नुभएको छ । अवस्था यस्तो छ कि उभिएको जमिन नै दलदलमा छ । तर पनि त्यही दलदले छिचोल्दै उहाँहरू मनको चोट मेट्ने अभियानमा दौडिरहेको देखिन्छ ।

त्रिशूली नदीलाई हामीले यत्ति माया गर्‍यौं,तर त्रिशूलीले हामीलाई टुहुरो बनाइदिएको छ । वारि र पारिबीचको सम्बन्ध टुटेको छ । यस्तोमा अब तुइन र बेलीब्रिजको काम हुँदैछ ।

त्रिशूली पारिका गाउँहरूमा उद्धार र राहत अहिले सबैभन्दा बढी चाहिएको छ । गाउँ बगाएको छ । बत्ति छैन । घरमा धान, मकै बचेकाहरूले पनि कुट्ने पिस्ने सम्भावना छैन । यस्तोमा के खाने ? दर्शनटारदेखि पीपलडाँडा बेशी बुधसिंह हुँदै शिरखाली- बुहुनीबेशी-भोर्लाटार र गौरीबेशीका स्थानीय भोकै पर्ने जोखिम छ । काठमाडौंबाट गैरहेका राहत वास्तविक पीडितले नपाउने जोखिम छ । यस्तोमा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने देखिन्छ ।

विदुर-३ र विदुर-६ का वडाध्यक्षहरूसँग समन्वय गरेर वैकल्पिक बाटोबाट भए पनि ती स्थानमा राहत पुर्‍याउनु जरुरी देखिन्छ । घर-खेत बगाएका किसानको गोठमा बँचेका पशु चौपायलाई के खुवाउने हो ? पशुपालन गरेका किसानलाई अहिले सबैभन्दा ठूलो समस्या परेको छ । एकातिर आफू के खाने, कहाँ बस्ने टुंगो छैन । अर्कोतिर बाँचेका पशुको हेरचाह कसरी गर्ने ? दैनिक ४०/५० लिटर दूध उत्यादन गर्ने किसानको झनै ठूलो पीडा छ । के गर्ने ? कहाँ लाने ?

यस्तोमा अब तीन तहका सरकारले विपद्‌मा नागरिकको अभिभावकका रूपमा उभ्याउन् । न्यूनतम मानवीय आवश्यकता पूरा होस् । कालिप्रसाद रिजालले रचना गर्नुभएको अनि गायक नारायण गोपालले गाउनुभएको गीतले भन्छ- भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन…।

अहिले हामी यही अवस्थामा छौं । सर्वस्व गुमाएका छौं । अब हामीलाई भोलि के हुन्छ केही थाहा छैन । अब कहाँ जाने त्यो पनि थाहा छैन । के गर्ने त्यो पनि थाहा छैन । यत्ति थाहा छ- हामीले हाम्रो सभ्यता गुमायौं । अनि यो पनि थाहा छ- फेरि हाम्रो नयाँ दिन आउने छ । अन्योलबीच हामी फेरि उठ्ने प्रयासमा छौं । भूकम्पले दिएको धक्काबाट उठ्दै गरेका थियौं, त्रिशूलीले फेरि सुतायो । यो थाहा छ ।

(लेखक हिमालय टेलिभिजनका रिपोर्टिङ कोअर्डिनेटर र बाढी प्रभावित हुनुहुन्छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?