News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा पोस्टमार्टमका लागि ल्याइएका १०२ शवमध्ये ८३ वटा अझै पहिचान हुन नसक्दा कास्की प्रशासनले सुरक्षित व्यवस्थापन सुरु गरेको छ ।
- एसपी नवीन कार्कीका अनुसार १९ शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ, र बाँकी शवको डीएनए नमुना फरेन्सिक प्रयोगशालामा पठाइनेछ ।
- चिकित्सक र फरेन्सिक विशेषज्ञले शव ढिलाइमा कुहिँदा महामारीको जोखिम हुने चेतावनी दिएपछि तारजालीले घेरेर सुरक्षित भण्डारण गरिँदैछ ।
१६ भदौ, पोखरा । विपद् प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ ।
शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् ।
कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा शव थिए ।
हालसम्म १९ वटा शवको मात्र पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ। बाँकी ८३ वटा शव अझै अज्ञात अवस्थामा रहेकाले तिनको व्यवस्थापन थालिएको हो ।
एसपी कार्कीले सोमबार सम्पूर्ण शवको पोस्टमार्टम सकिएको जानकारी दिए । ‘पहिचान हुन नसकेका शवहरूको पोस्टमार्टम सँगसँगै डीएनए नमुना निकाल्ने काम पनि भइसकेको छ। ती नमुनाहरू अस्पतालसँगको समन्वयमा फरेन्सिक विज्ञान प्रयोगशालामा पठाइनेछ र त्यहाँ डीएनए प्रोफाइलिङको काम हुनेछ,’ उनले भने ।
महामारीको जोखिम र चिकित्सकको चेतावनी
चिकित्सक तथा फरेन्सिक विशेषज्ञहरूले शव व्यवस्थापनमा थप ढिलाइ गर्न नहुने चेतावनी दिएका थिए। उनीहरूका अनुसार घटनाको दुई–तीन दिनपछि शव कुहिने प्रक्रिया तीव्र हुन्छ, जसले गर्दा शवलाई सामान्य रूपमा ह्यान्डल गर्न र पहिचान गर्न निकै जटिल हुन्छ ।
यति ठूलो सङ्ख्यामा कुहिन थालेका शवहरू लामो समयसम्म एकै ठाउँमा राख्दा पोखरामा अर्को विपत्ति निम्तिन सक्ने र महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति र महानगरपालिकाले उपलब्ध गराएको सुरक्षित स्थानमा शव व्यवस्थापन सुरु गरिएको हो ।
यसरी गरिँदैछ सुरक्षित व्यवस्थापन
प्रहरीले यो प्रक्रिया ‘अन्त्येष्टि’ नभई सुरक्षित भण्डारण तथा व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ। ‘शव राखिएको स्थानलाई पूर्ण रूपमा तारजालीले घेरेर ताल्चा लगाइनेछ। त्यहाँ अधिकारप्राप्त व्यक्तिबाहेक कसैलाई पनि प्रवेश गर्न दिइने छैन,’ एसपी कार्कीले भने ।
पछि आफन्तसँग डीएनए मिलेको खण्डमा शव झिक्न सहज होस् भनेर प्रत्येक शवमा र शव राखिएको स्ट्यान्डमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ ।
प्रहरीले विपद्मा परी आफ्ना परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका आफन्तहरूलाई नजिकको प्रहरी कार्यालयमा गएर निवेदन दिन र डीएनए म्याचिङका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।
तस्वीरहरू : अमृत सुवेदी








प्रतिक्रिया 4