+
+
Shares

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजमाथि परिवारको प्रश्न

रत्नप्रकाशले विश्वविद्यालयले इन्टर्नशिप पठाउन छनोट गरेको समय पनि सही नभएको बताएका छन् ।

कञ्चन कञ्चन
२०८३ भदौ १७ गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० मा भोटेकोशी–त्रिशूली बाढीमा काठमाडौं विश्वविद्यालयका सिभिल इन्जिनियरिङ विद्यार्थी शिशिर गिरी सम्पर्कविहीन भएका छन्।
  • शिशिरका बुबा रत्नप्रकाशले विश्वविद्यालयले जोखिमपूर्ण समयमा इन्टर्नशिप पठाएको, परिवारलाई जानकारी नदिएको र बीमा तथा सम्झौता नगरेको आरोप लगाएका छन्।

काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा इन्टर्नशिपका लागि थियो । गिरीसँगै  सिभिल इन्जिनियरिङ अध्ययनरत समीर पौडेल र सृष्टि बास्तोला पनि थिए।  

भदौ १० मा भोटेकोशी-त्रिशुलीमा अकास्मात् आएको भीषण बाढीमा बेपता भएका हजारौं नागरिकहरूमा गिरी पनि परे । 

शिशिरका बुबा रत्नप्रकाश दाङ जिल्ला न्यायाधिवक्ताको कार्यालयमा कार्यरत छन् ।  घटना भएको दिन उनी कार्यलयकै काममा व्यस्त थिए ।  साँझ जेठो छोराले  फोन गरेर भाइ  सम्पर्कविहीन भएको जानकारी गराए । 

जेठो छोराले रुँदै सुनाएको यो खबरले रत्नप्रकाश रन्थनिए । खबर पाएलगत्तै उनी दाङबाट तत्कालै घरतिर हिँडे । भोलिपल्ट बिहान ११ बजेको फ्लाइटमार्फत नेपालगन्जबाट काठमाडौं आइपुगे । 

काठमाडौं अवतरण भएपछि विश्वविद्यालयका प्रतिनिधिसँग सम्पर्क प्रयास गरे ।  त्यतिबेला उनीहरूले विद्युत् प्राधिकरण वा अन्य कार्यालय जाँदैछौँ भन्ने जस्ता टालटुले जवाफ दिए  ।

विमानस्थलबाट उनी सिधै घटनास्थलतर्फ लागे ।  आयोजनास्थल नजिकैको ब्यारेकभन्दा अगाडि जान नपाइने भएकाले दिनभरि त्यहीं बसिरहे । त्यस दिन कुनै थप जानकारी उपलब्ध हुन सकेन । फेरि काठमाडौं फर्किए । 

काठमाडौं फर्किएपछि उनले आफ्नै व्यक्तिगत सञ्जाल परिचालन गर्दै साथीभाइमार्फत खोजी कार्यमा सहयोग जुटाउने प्रयास थालेका थिए ।

सामाजिक सञ्जालमार्फत शिशिरका परिवारजनहरूले सरकारलाई सहयोगको अपिल गरिरहेका छन्। शिशिरकी आमा सुशिलाले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै भनेकी छिन्, ‘ हाम्रो जीवनको आधार नासिएको छ, कृपया सास भए पनि लास भएपनि आफ्नो छोरालाई अन्तिम पटक हेर्ने रहर छ । सबैले सहयोग गरिदिनुहोला ।’  

शिशिर सम्पर्कविहीन भएको ७ दिन बितिसक्दा पनि उनको स्थिति अज्ञात रहेको छ। 

घटनापछि विद्यार्थीहरूको अवस्थाको जानकारी लिन परिवारजनले प्रविधिको सहायता लिए । सुरुमा मोबाइल लोकेसन ट्र्याकिङबाट हेर्दा शिशिर आयोजनाको क्वार्टर क्षेत्रमै देखिएको थियो । पछि इमेलमार्फत निकालिएको लोकेसन रेकर्ड हेर्दा भने फरक-फरक समयका दुई किसिमका तथ्याङ्क देखिएको उनले बताए । एउटा स्रोतबाट हेर्दा साढे ८ बजेतिरसम्मको लोकेसन देखिन्छ भने अर्को रेकर्डअनुसार ९ बजेभन्दा अलि बढी समयसम्मको लोकेसन देखिन्छ । 

पछिल्लो लोकेसन ‘अडिट टनेल’ भनिने संरचनाको छेउमा देखियो । हाल यो स्थान पनि पुरिइसकेको र अझै तल परेको जानकारी उनलाई प्राप्त भएको छ। यस आधारमा विद्यार्थीहरू ठ्याक्कै कहाँ पुगे भन्ने यकिन जानकारी परिवारसँग  छैन । लोकेसन ट्र्याकिङ भरपर्दो हुन्छ भन्ने कुरामा पनि रत्नप्रकाशलाई आशंका छ  । 

यस्तो जोखिमपूर्ण परिस्थितिमा विद्यार्थीहरूलाई समयमै आवश्यक जानकारी नदिइएकोमा उनले गम्भीर प्रश्न उठाएका छन् । ‘समयमै जानकारी दिएको भए यी उमेरका बलिया मान्छे कुदेर बाहिर गइहाल्थे । जानकारी नै भएन, एक्कासी घटना भयो । उनीहरू त्यहाँबाट उम्किन सकेजस्तो लागेन ‘ उनी भन्छन् । 

रत्नप्रकाशले सबैभन्दा बढी जोड दिएको विषय भनेकै विश्वविद्यालयले इन्टर्नशिपमा पठाउँदा अपनाएको प्रक्रियागत त्रुटि हो ।  उनका अनुसार विद्यार्थीहरूलाई इन्टर्नका रूपमा माथिल्लो त्रिशूली आयोजनामा पठाउने निर्णयबारे परिवारलाई कुनै जानकारी  गराइएको थिएन। 

यसका अतिरिक्त, यस्तो जोखिमपूर्ण स्थानमा काम गर्न पठाउँदा सामान्यतया बीमा गरिनुपर्ने भए पनि विद्यार्थीहरूको हकमा त्यस्तो कुनै व्यवस्था नगरिएको उनले बताएका छन् । इन्टर्नशिपमा खटाउने विश्वविद्यालय र काम गराउने आयोजना पक्षबीच पनि औपचारिक सम्झौता हुनुपर्छ । तर त्यो पनि भए/नभएको स्पष्ट छैन ।

‘इन्टर्नशिप पठाउने र काम लगाउनेबीच कन्ट्र्याक्ट हुनुपर्ने हो’ रत्नप्रकाश भन्छन्, ‘तर त्यस्तो गरेको जस्तो उहाँहरूको अनौपचारिक कुराबाट बुझिएन ।’ 

रत्नप्रकाशले विश्वविद्यालयले इन्टर्नशिप पठाउन छनोट गरेको समय पनि सही नभएको बताएका छन् । यो मनसुन सक्रिय रहेको समय थियो । र, यस बेला बाढी-पहिरोको जोखिम स्वाभाविक रूपमा बढी हुन्छ । यसमाथि पनि उक्त क्षेत्रमा घटना हुनुभन्दा केही दिनअघि नै साना बाढी आइसकेका थिए । यस्तो अवस्थामा विद्यार्थीलाई पठाएर गल्ती गरेको उनको गुनासो छ । 

उनका अनुसार साउनको २२ र २८ गते पनि उक्त क्षेत्रमा साना बाढी आइसकेका थिए। ‘यो समय पनि कस्तो बेला छनोट गरेको हो कलेजले । यो बाढी, पहिरो आउने बेला हो २२ गते पनि सानो बाढी आएको रहेछ’ उनी भन्छन्, ‘त्यो थाहा पाउँदापाउँदै पनि उहाँहरूले फेरि त्यहीं जानुपर्छ भन्ने हिसाबले गर्नुभएछ ।’

शिशिर गिरीकी आमा ।

विद्यार्थीहरूको अध्ययन विषय र इन्टर्नशिप स्थानको प्रकृतिबीच पनि तादात्म्य नभएको उनले बताएका छन्। छोराले पढेको विषयमा हाइड्रोपावर सम्बन्धित कुराहरू आवश्यक नभएको उनको भनाइ छ । अर्को विकल्प हुँदाहुँदै पनि सिभिलका विद्यार्थीलाई हाइड्रोपावर क्षेत्रमा नै इन्टर्नशिपका लागि गलत समयमा पठाइएकोमा रत्नप्रकाशको सबैभन्दा ठूलो असन्तुष्टि छ । 

‘ हामीले पढाएको सिभिल इन्जिनियरिङ हो, त्यो हाइड्रो पनि होइन । सिभिलको काम त अन्यत्र ठाउँमा पनि हुन्छ। त्यो हाइड्रोमै काम हुन्छ भन्ने कुरा त छैन’  रत्नप्रकाश दुखेसो पोख्छन् । 

सिभिल इन्जिनियरिङको कोर्स कन्टेन्टमा हाइड्रो इन्जिनियरिङ पनि रहेको  विश्वविद्यालयको भनाइ छ । कोर्स कन्टेन्ट अनुसार नै इन्टर्नशिपमा पठाइएको दावी कलेजको छ । 

000 

काठमाडौँ विश्वविद्यालयले भदौ ११ मा  खोज, उद्धार तथा समन्वय समिति, २०८३ गठन गरेको छ । 

विश्वविद्यालयले जारी गरेको विज्ञप्ति अनुसार, उक्त समितिले प्रभावित क्षेत्रमा सम्पर्कविहीन रहेका विद्यार्थी लगायतका व्यक्तिहरूको खोज, उद्धार तथा सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र स्रोत-साधन परिचालन गर्नेछ ।

बाढी प्रभावित क्षेत्रमा उपचार तथा मानवीय सहायताका लागि काठमाडौं विश्वविद्यालयको सहायता टोली धुलिखेल अस्पतालबाट १० गते देखि नै परिचालन गरिएको थियो ।

समितिका सदस्य महेशराज भट्टका अनुसार, हिजोबाट आयोजनाको क्वार्टरमा उद्वारको काम जारी भइसकेको जानकारी प्राप्त भएको छ । साथै उक्त क्षेत्रमा नेपाल सरकारलाई पनि आफ्नो पक्षबाट सहयोग गर्ने स्थिति पनि अनुकूल रहेको बताएका छन् । 

‘हामीलाई हिजोबाट उद्धार कार्य सुरू भएको जानकारी मिलेको छ । साथै, आफ्नो स्तरबाट पनि सहयोग गर्न सकिने व्यवस्था छ । आफ्नै सामग्रीहरू जस्तै : स्काभेटर आदि प्रयोग गरेर सहयोग गर्न सकिन्छ’ भट्ट भन्छन्। 

समितिका अर्का सदस्य मनिष प्रकाशले विश्वविद्यालयको शैक्षिक क्यालेण्डरले तोकेको समयमा नै इन्तर्नशिप सञ्चालन गरिएको बताएका छन् । सन् २००९ देखि नै कायम भएको यस पटक प्राकृतिक विपत्तिले गर्दा आलोचित हुनुलाई आफूले अन्यथा नलिएको उनी बताउँछन् । 

‘सम्पर्कविहीन भएका छोराछोरीकोे कारणले गर्दा अभिभावक विह्वल भएकोले वहाँहरूलाई हामीले धेरै कुरा भन्न पनि सकेका छैनौं’ प्रकाश भन्छन्, ‘तर, लागू भएकोे क्यालेण्डर अनुुसार हामीले काम गरेमा हौं ।’

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?