+
+
Shares
स्थलगत स्याफ्रुबेसी :

तीन पुस्ता गुमाए, सिंगै गाउँलाई सहानुभूति बाँड्दैछन्

भोटेकोशी बाढीले निम्त्याएको संकटको ठूलो असर परेका गाउँहरूमध्ये एक हो– स्याफ्रु । जहाँका हरेक परिवारमा अहिले पनि हराएका आफन्त फर्कने आश छ ।

सइन्द्र राई पुष्पराज चौलागाईं सइन्द्र राई, पुष्पराज चौलागाईं
२०८३ भदौ १७ गते २२:०३
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको स्याफ्रुमा भोटेकोशीको बाढीले बजार, घर, पुल र सडक बगाउँदा स्याफ्रु चार टुक्रा बनेको छ र कनेक्टिभिटी विच्छेद भएको छ।
  • भार्खुका ९१ वर्षका दावा फिन्जो तामाङले छोरा, बुहारी, नाति, नातिनीबुहारी, पनाति र एक कामदार बाढीमा बेपत्ता भएको बताएका छन्।
  • गोसाइकुण्ड गाउँपालिकाका अनुसार स्याफ्रुको जनसंख्या २,४६२ छ, र बाढीमा वडाध्यक्ष दावा मिङ्मार तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ पनि बेपत्ता छन्।

१७ भदौ, (स्याफ्रुबेसी) रसुवा । हिँडडुल गर्न आफैंलाई साहरा चाहिने ९१ वर्षका दावा फिन्जो तामाङ छिमेकीहरूको घरघर घुमिरहेका थिए ।

रसुवाको सानो भार्खु गाउँमा मंगलबार दिउँसो अनलाइखबरको टोली पुग्दा (गोसाइकुण्ड गाउँपालिका–५) उनले आफ्नो पीडादायी बाध्यता सुनाए । ‘त्यहाँ एउटा छिमेकीले पनि छोरा गुमाएको छ,’ लामो श्वास तान्दै भने, ‘बुहारी रोइरहन्छ, अनि सम्झाएर आ’को…।’

भोटेकोशीमा आएको बाढीले स्याफ्रु बजार बगाउँदा ती छिमेकीका छोरा (जो ड्राइभर थिए) बेपत्ता छन् । घर धान्न थालेका २४ वर्षीय युवक छोरा हराएकी आमालाई सम्झाउन सजिलो छैन, आँशु रोकिएको छैन ।

तर आफ्नो अनुभव र उमेरका आधारमा दावा दिनदिनै सम्झाउन जान्छन् । जबकि दावासँग आफ्नै पीडा अरू भन्दा कम छैन ।

८६ वर्षकी वृद्धा पत्नी चेङ्गा याङ्जेनलाई सम्हाल्दै उनले भने, ‘अरूलाई सम्झाउन हिँड्ने कि आफैंलाई सम्झाउने ?’

000

स्याफ्रुबेसीमा दावाका छोरा फुर्पासाङको होटल थियो, बुद्ध गेष्ट होटल ।

पुर्खौली सम्पत्ति र चार पुस्ताको मेहनतबाट समृद्ध हुँदै गएको होटल व्यवसाय नाती टिन्डु छिरिङले सम्हाल्न थालेका थिए ।

छोराको भन्दा पनि नातिको मेहनतमा दंग थिए, दावा ।

‘मेरो नातिले चिनेका साथीहरू धेरै थिए । मानसरोवर जाने बसहरूले होटल भरिन्थ्यो,’ दावा सम्झन्छन्, ‘काठमाडौंबाट आउनेहरू नातिकै नाम लिएर होटलमा बस्थे ।’ चीन, भारत लगायत देशबाट आउनेहरू पनि त्यही होटलमा बस्थे ।

छोरा र नातिले होटलमै आराम गरेर बस्नु भन्थे दावा र चेङ्गालाई । दुई जना पनाति हुर्कंदै गरेकाले दावा र चेङ्गालाई पनि स्याफ्रुबेसी बस्न आनन्द लाग्थ्यो ।

‘सबैभन्दा ठूलो होटेल मेरै छोराको थियो,’ दावाले भने, ‘पोहोर मात्रै रसुवाभरिकै एक नम्बर होटल भनेर बुहारीले सम्मान पाएको ।’ दावाको अनुमानमा होटलको मूल्य २५ करोड भन्दा कम थिएन ।

स्याफ्रु बजारदेखि माथि (उत्तर तर्फ) भिरालो भार्खु गाउँस्थित पुर्खौली घरबाट करोडौं मूल्यको होटल व्यवसायसम्मको प्रगतिले खुशी नै थिए यो दम्पत्ति ।

बुढ्यौली बढ्दै जाँदा दावाको आँखामा समस्या देखियो । छोरा फुर्पासाङले उपचार गराउन काठमाडौं लगे । पछिल्लोपटक उपचार गरेर ५ भदौमा स्याफ्रु फर्किएका थिए– दावा र पत्नी चेङ्गा ।

त्यही बेला भार्खु गाउँमा ‘मरो’ पर्‍यो (एक नातेदारको मृत्यु भयो) । होटलमा आराम गरेर बस्नुको साटो समवेदना दिन भनेर उनीहरू पुर्ख्यौली घर भार्खु निस्किए । छोरा फुर्पासाङ नै बा–आमालाई छोड्न भार्खुसम्म आएका थिए ।

तर, एक हप्ता नहुँदै १० भदौमा कहिल्यै कल्पना नगरेको घटना भयो । भोटेकोशीमा आँधी आयो, स्याफ्रुबजार बगायो ।

‘हेलिकोप्टर जस्तै आवाज आयो, निस्केर हेर्दा बादल भरिएको देखियो,’ चेङ्गा भन्छिन्, ‘सप्पै लगेछ ।’ )

बाढीपछि हेर्दा स्याफ्रु बजार नै थिएन । यी सबै सम्झनाहरू दृश्यझैं वर्णन गर्दा उनको रुवाइ रोकिने सम्भावना नै थिएन ।

‘छोरा फुर्पासाङ, बुहारी छेटिन, नाति टिन्टु छिरिङ, नातिनी बुहारी याङ्जी, पनाति कल्साङ र एक जना काम गर्ने मान्छे पर्‍यो,’ दावा भन्छन् ।

चार/पाँच दिनसम्म कतै जंगलतिर फसेका छन् कि भन्ने आशा थियो । तर दिनहरू बित्दै जाँदा आशा मर्दै गएको छ ।

चेङ्गा भन्छिन्, ‘फुर्पाले एक हप्तापछि लिन आउँछु भनेको थियो … ।’

यी दुई बुढाबुढीलाई गाउँका युवा केटाकेटीले विनाशपछिको स्याफ्रुको फोटो खिचेर देखाइदिएका थिए । ‘त्यत्रो अग्लो होटल नै छैन,’ चेङ्गाले आश मारिन्, ‘के बाँच्यो होला र !’

एक हप्ता भार्खु बस्ने दावा दम्पत्तिको चाहनाले उनीहरूलाई बचायो । तर सय वर्ष नजिकको उमेरमा आफूहरू बाँचेर आफ्नै तीन पुस्ता गुमाउनुको पीडा सहिनसक्नु छ ।

उनका दुई छोराहरू (एक जना बेलायत र अर्को अस्ट्रेलिया बस्छन्) नेपाल फर्कने तयारीमा छन् । काठमाडौंमा पढ्ने कान्छो पनातिलाई यो खबर दिन पनि सकिएको छैन ।

यसपटक घम्बल आयो

१५ पुस्तादेखि भार्खु बस्न थालेका दावाका पुर्खाहरूले यस्तो संकट कहिल्यै भोग्न परेको थिएन । आफैं ९१ वर्षका दावाकै सम्झनामा पनि भोटेकोशी यसरी बौलाएको थिएन ।

‘हाम्रो पुर्खा १५ पुस्ता पहिले नुवाकोटबाट यहाँ आएको हो,’ दावा भन्छन्, ‘यदि यस्तो संकट हुन्थ्यो भने यहाँ छोडिहाल्थ्यौ नि ।’ उनकै सम्झनामा पनि २०१८ सालमा ठूलो बाढी आएको थियो । त्यसपछि गत साल आयो । तर दुवै बाढीले स्याफ्रु बगाएको थिएन ।

यद्यपि हिमताल फुट्यो भने पुल, गाउँ, बाटो बगाउनेगरी बाढी आउँछ भन्ने पुर्खाहरूले सुनाउने गर्थे । ‘एउटा कुरा सुनेको थिएँ– घम्बल (हिमताल फुट्दा आउने बाढी) पुलमाथिबाट जान्छ भनेर । यसपाली त्यस्तै भयो,’ उनी भन्छन् ।

भोटेकोशीको बाढीले सानो भार्खुका हरेक परिवारका को न कोहीलाई लगेको छ । दावाले जस्तै उनका छिमेकीहरू मेवाङ तामाङ र गङ्ध्रम ल्हमोले आफ्ना छोरा हराएका छन् । ‘हाम्रो यो सानो गाउँ भार्केमा मात्र ३५ जना हराएको छ,’ मेवाङले भने ।

सानो भार्खुमा तामाङ समुदायको बसोबास रहेकाले बाढीमा हराएकाहरूको गणना उनीहरूले निकालेका हुन् । उद्धारमा निस्कन नसकेपनि उनीहरूले सम्पर्कमा नआउने सदस्यहरूलाई बेपत्ताको सूचीमा गणना गरेका छन् ।

‘खोज्न कहाँ जानु ? कसरी जानु ?,’ मेवाङ भन्छन्, ‘भोटेकोशी कराएको आवाज आउदा पनि घरका मान्छेहरू डराउँछन् ।’

अनलाइनखबरको टोली मेवाङको घरबाट फर्कदा उनीहरू एकोहोरो भोटेकोशीतिर हेरिरहेका थिए ।

शोकमग्न स्याफ्रु

भार्खुका दावा फिन्जो, मेवाङ तामाङ र गङध्रम ल्हमोकै जस्तो पीडामा सिंगो स्याफ्रु गाउँ छ । स्याफ्रुका वडाध्यक्ष (गोसाइकुण्ड गाउँपालिका–५ का) दावा मिङ्मार तामाङ बेपत्ता छन् । गोसाइकुण्ड पालिकाका उपाध्यक्ष (स्याफ्रुकै स्थानीय) प्रतिमा तामाङ हराएकी छन् ।

अरू को कति हराए ? कति जीवित र मृत भेटिए भन्ने तथ्याङ्क राख्न सकिएको छैन । हराएका आफन्तहरूको हिसाब आ–आफ्नै ढंगले राखिएका छन् ।

‘धन्न म बाँचे, तर सबै आफन्त हराएको छ,’ स्याफ्रु किनारबाट थोरै माथि घर भएका थार्जेन डोल्मो तामाङ रुँदै आफ्नो व्यथा सुनाउँछिन् ।

चिलिमे जलविद्युत् आयोजनाको प्रशासन सहायक रहेकी उनी बाढी आउनुअघि अफिस जाने तयारीमा थिइन् । तर भाग्न सफल भइन् । ‘मेरो घर लेदोले पुरिएको छ । त्यो दिन सम्झन पनि सक्दिनँ,’ थार्जेन भन्छिन्, ‘अफिसका ६ जना सरहरू पावर हाउसभित्रै थुनिनु भएको छ ।’

नेपाली सेना र विद्युत् प्राधिकरणको अनेक प्रयासबीच पावर हाउसभित्र थुनिएकाहरूको उद्धार हुन सकेको छैन । ‘अफिसका, घरका सबै हराए । हेर्दाहेर्दै हाम्रो बस्ती, बजार सबै बग्यो,’ उनी भन्छन्, ‘अहिले बगर भएको ठाउँमा बजार थियो, ठूल्ठूलो होटल र घरहरू थियो ।’

थार्जेनका दिदीको छोरा, नन्द र नन्दको पति स्याफ्रुमै पुरिएका छन् । ‘अब आश मरिसक्यो । यतिका दिन भइसक्यो,’ उनी भन्छन् ।

गोसाईंकुण्ड गाउँपालिकाको तथ्याङ्क अनुसार, स्याफ्रुको जनसंख्या २,४६२ जना हो । उनीहरूमध्ये ४५० जना वृद्धवृद्धा थिए । त्यसमध्ये कति जोगिए भन्ने प्रारम्भिक अनुमान गर्न सकिएको छैन ।

बाढीले स्याफ्रुलाई भौगोलिक रुपमै चार टुक्रा बनाएको छ । भोटेकोशीको वारीपारी आउजाउ गर्न सकिने कुरै भएन । बाढीले स्याफ्रु बजार दोभानको भार्खु खोला पुल पनि बगाएकाले अर्को थप दुई भागमा स्याफ्रु बाँडिएको छ । अर्थात् हिंडेर कतै पुग्न सकिंदैन ।

टेलिफोन, सडक, पुल जस्ता कनेक्टिभिटी बिच्छेद हुँदा जीवितै रहेका सदस्यहरूबीच पनि भेटघाट हुन सकिरहेको छैन । ‘झोलुङ्गे भए पनि पुल, कच्ची नै भए पनि सडक र फोन लाग्ने वातावरण भए बाँचेकाहरूले श्वास फेर्न पाउँथे,’ मेवाङ भन्छन् ।

जबकि चीनसँग नेपाललाई जोड्ने प्रमुख मध्येका एक सडक (पासाङ ल्हामु राजमार्ग) स्याफ्रु भएर चल्ने हुँदा यहाँका स्थानीय यस्तो संकट कहिल्यै कल्पना गरेका थिएनन् ।

उनीहरूमध्ये धेरैजसो होटल व्यवसायमा संलग्न थिए । त्यसपछि यातायात मजदुरी र कृषिमा आश्रित थिए । भोटेकोशी किनारको स्याफ्रु भन्दा माथिका भिरालो जमिनमा खेतीकिसान गर्नेहरूकै परिवारका सदस्यहरू पनि होटल, यातायात मजदुरी र जलविद्युत् आयोजनामा काम गर्थे । यिनै तीन क्षेत्रमा काम गर्नेहरू बाढीमा परेर बगेका छन् ।

तस्वीर/भिडियो: कमल प्रसाईं/अनलाइनखबर

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?