News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार १५१ रुपैयाँ जम्मा गरेका छन्।
- पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगलाई प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि प्रशंसनीय र प्रेरणादायी भनेका छन्।
- सापकोटाले परिवारका तर्फबाट सहयोग गरेको बताउँदै विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु ठूलो कुरा भएको उल्लेख गरे।
१८ भदौ, लिस्बन (पोर्चुगल) । पोर्चुगलमा चर्चित नेपाली सेफ टङ्क सापकोटाले भोटेकोशी बाढी पीडितले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग गरेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उक्त सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए।
‘सङ्कटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,’ राजदूत पौडेलले भने।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताए।
दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारका तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गरिएको उनले बताए।
‘प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पुर्याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु । हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ,’ उनले भने, ‘विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो।’
विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।
पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आएका सापकोटाले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।
यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय सङ्कटका समयमा सहयोग गर्दै आएका छन्। कोरोना महामारीका समयमा उनले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना पनि खुवाएका थिए। रासस
प्रतिक्रिया 4