+
+
Shares

नुवाकोटमा होल्डिङ सेन्टर जिम्मा लिएर बाढी प्रभावितको भरोसा बन्दै गोल्यान ग्रुप

व्यावसायिक घराना गोल्यान ग्रुपले ११ भदौदेखि नुवाकोटस्थित एउटा होल्डिङ सेन्टर नै जिम्मा लिएर बाढी प्रभावितलाई दिनहुँ खाना तथा राहत वितरण गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्यान ग्रुपले भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि नुवाकोटको चन्द्रज्योति माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर जिम्मा लिएर ११ भदौदेखि खाना र राहत वितरण गरिरहेको छ ।
  • होल्डिङ सेन्टरमा रहेका ६८ परिवारका २ सय १८ जनासहित आसपासका ४ सयभन्दा बढीलाई दैनिक तीन पटक खाना, खाजा र राहत सामग्री उपलब्ध गराइएको छ ।
  • गोल्यान फाउन्डेसनमार्फत ३० जना स्वयंसेवक तथा कर्मचारीले सामान्य स्वास्थ्य सेवा, बाल मनोपरामर्श र अस्थायी शौचालयसहित सरसफाइ तथा खानेपानीको व्यवस्था पनि गरिरहेका छन् ।

१८ भदौ, काठमाडौं । सामाजिक उत्तरदायित्वमा आफूलाई अब्बल सावित गर्दै आएको व्यावसायिक घराना गोल्यान ग्रुपले केही दिनयता अर्को सह्रानीय काम गरिरहेको छ ।

१० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि गोल्यान ग्रुपले भोलिपल्ट ११ भदौदेखि नुवाकोटस्थित एउटा होल्डिङ सेन्टर नै जिम्मा लिएर दिनहुँ खाना तथा राहत वितरण गर्दै आएको छ ।

ग्रुपले नुवाकोट विदुर नगरपालिका-३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका देवीघाट क्षेत्रका बाढी प्रभावितलाई खाना तथा राहत वितरण गरिरहेको हो ।

बाढी आएको भोलिपल्टदेखि ग्रुपले थालेको कार्यक्रमले होल्डिङ सेन्टरमा रहेका ६८ परिवारका सदस्यसहित आसपासका ४ सयभन्दा बढी प्रभावितलाई दैनिक तीन पटक खाना तथा खाजा उपलब्ध गराउँदै आएको छ । साथमा, राहत सामग्री पनि वितरण गर्दै आएको छ ।

त्यतिमात्र होइन, खाना र खाजा व्यवस्थापनसँगै प्रभावितका लागि सामान्य स्वास्थ्य सेवा तथा बाल मनोपरामर्श सेवा पनि प्रदान भइरहेको छ । यसका लागि गोल्यान फाउन्डेसन मार्फत ३० जना स्वयंसेवक तथा कर्मचारी परिचालन गरिएको छ ।

‘हामीले होल्डिङ सेन्टर जिम्मा लिँदा १ सय ९० जना प्रभावित हुनुहुन्थ्यो, अहिले बढेर ६८ परिवारका २ सय १८ जना हुनुहुन्छ,’ गोल्यान ग्रुपको कर्पोरेट कम्युनिकेसन म्यानेजर ज्योति गैरेले भनिन्, ‘तिनमा २ महिनाको बच्चादेखि ५ वर्षसम्मका १२ जना छन्, १० वर्षमुनिका समेत गरेर ३८ जना छन्, सुत्केरी पनि छन् ।’

पहिलो प्राथमिकता प्रभावितलाई पहिला स्वस्थ खानाको व्यवस्था गर्नुपर्ने भएकाले होल्डिङ सेन्टर नै जिम्मा लिएको गैरेले बताइन् ।

‘हामीले होल्डिङ सेन्टर जिम्मा लिएको दिनदेखि नै दैनिक ४ सयभन्दा धेरैलाई खाना र खाजा उपलब्ध गराउँदै आएका छौं,’ उनले भनिन्, ‘आज बिहीबार ५ सय ५५ जनाले खाना खानुभयो ।’

गोल्यान ग्रुपले होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितलाई खाना र खाजा उपलब्ध गराउन स्थानीय क्याटरिङसँग सहकार्य गरेको छ । बिहान नास्तामा अन्डा, चना, चिया, बिस्कुट, कुकिज, पाउरोटी एवं दुई छाक खानामा भात, दाल, तरकारी, अचार, सलाद दिने गरिन्छ ।

गैरेको नेतृत्वमा ४० जनाजतिको समूहले बाढी प्रभावितलाई खाना खुवाइरहेको छ । भान्सामा पकाउन ३ जना र सहयोगी २ जना छन् । बाँकी गोल्यान ग्रुपमा आबद्ध स्वयंसेवी छन् ।

‘हामीले जिम्मा लिएको होल्डिङ सेन्टरमा कम्तीमा एक महिनासम्म हामी खानाको व्यवस्था गर्छौं,’ गैरेले भनिन्, ‘सरकारले उद्धारको काम पनि गरिरहेकाले ठ्याक्कै कति दिनसम्म सहयोग उपलब्ध गराउने भन्ने यकिन भएको छैन । ’

गोल्यान ग्रुपले खाना र खाजामात्र होइन, राहत वितरण पनि सँगसँगै गर्दै आएको छ । ‘खानामात्र होइन, हामीले होल्डिङ सेन्टरमा रहेकाहरूको आवश्यकता अनुसार सामग्री वितरण पनि गरिरहेका छौं,’ गैरेले भनिन्, ‘प्रभावितको आवश्यकता अनुसार सामान मगाउँदै बाँडिरहेका छौं ।’

उनका अनुसार बाढी प्रभावितको चाप बढ्दै गएपछि विद्यालयको शौचायले मात्र धान्न सकेन । त्यसपछि अस्थायी शौचालयको व्यवस्था गर्न थालिएको छ ।

‘बधुबार चार वटा अस्थायी शौचालय ल्याइएको छ, अब त्यसलाई व्यवस्थापन गर्दै छौं,’ गैरेले भनिन्, ‘त्यस्तै सरसफाइ, खानेपानीको पनि उचित व्यवस्थापन गरेका छौं ।’

प्रभावित बालबालिकालाई मनोपरामर्श

होल्डिङ सेन्टरमा रहेका भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि गोल्यान ग्रुपले मनोवैज्ञानिक परामर्श पनि उपलब्ध गराउँदै आएको छ ।

सेन्टरमा रहेको बालबालिकाका लागि मनोवैज्ञानिक परामर्श दिन दुई जना परामर्शदाता छन् । सँगै रहेका स्वयंसेवीहरूले दैनिक तीन घण्टा बालबालिकालाई खेलाउने, कुदाउने, नाच्ने, गाउने लगायत क्रियाकलापमा सहभागी गराइरहेका छन् ।

होल्डिङ सेन्टरमा अहिले २ महिनादेखि ५ वर्षसम्मका बालबालिका १२ जना छन् भने १० वर्षमुनिका समेत गरेर ३८ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?