News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्यान ग्रुपले जेन–जी सहिद परिवारका २२ बालबालिकालाई वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँको शैक्षिकवृत्ति प्रदान गरेको छ।
- गोल्यान ग्रुपले २२ सहिदका ४३ आमा–बुवालाई वार्षिक १० लाखसम्मको स्वास्थ्य बीमा दिने सम्झौता गरेको छ।
- गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानले सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिएको बताएका छन्।
२५ वैशाख, काठमाडौं । गोल्यान ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य बीमा सम्बन्धमा गरेको प्रतिवद्धता पूरा गरेको छ।
पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्तिको सम्झौता गरेको ग्रुपले दोस्रो चरणमा बिहीबार थप २२ सहिदका ४३ आमा–बुवालाई वार्षिक १० लाखसम्मको स्वास्थ्य बीमा प्रदान गर्ने सम्झौता गरेको छ ।
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । गोल्याण ग्रुपले असोज २४ गते नै प्रेस विज्ञप्तिमार्फत सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो । सोही अनुसार पहिलो चरणमा २०८२ बाटै लागु हुने गरी बालबालिकालाई शैक्षिकवृत्ति कार्यक्रम प्रदान गरेको ग्रुपले जनाएको छ ।
‘शैक्षिकवृत्तिमा २२ सहिदका ३१ बालबालिका आवद्ध छन् । उनीहरुलाई प्रतिविद्यार्थी मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँको शैक्षिकवृत्ति प्रदान गरिएको छ’ ग्रुपले एक विज्ञप्ति जारी गरी भनेको छ ‘शैक्षिकवृत्ति सम्झौतापछि बालबालिकाहरु काठमाडौंको यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डीएभी सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वर्ल्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेण्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा अध्ययन गरिरहेका छन् ।’
शैक्षिकवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेसनरी खर्च, विद्यालयको पोशाक शुल्क लगायत सम्पूर्ण शुल्कहरू समावेश गरिएको गोल्यान ग्रुपले जनाएको छ ।
‘शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारको लागि स्वास्थ्य बीमा प्रदान गरिएको हो’ ग्रुपले भनेको छ ‘यस अन्तर्गत सहिदका बुवाआमालाई वार्षिक एकमुष्ट १० लाख बराबरको आजीवन स्वास्थ्य बीमा प्रदान गरिएको छ ।’
बिहीबार स्वास्थ्य बीमा कार्यक्रममा सम्झौता सम्पन्न भएपछि गोल्यान ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्यानले सहिदहरुको सम्मानमा उनीहरूका परिवारका सदस्यको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिएको बताए ।
‘सदिहहरुको बलिदानको कुनै मूल्य हुँदैन, हामीले केबल सहिदहरूले आफ्नो परिवार र सन्तानको लागि देखेको सपना पूरा गर्ने जिम्मेवार लिएका हौं’ उनले भने ।
सहिदका सन्तानहरुको शिक्षा र बुवा–आमाको स्वास्थ्यमा गरिएको प्रतिवद्धता दीर्घकालीन भएको उल्लेख गर्दै उनले सबै मिलेर सहिदको सपना पूरा गर्नुपर्ने बताए ।
बीमा सम्झौता कार्यक्रममा जेनजी सहिद परिवार कल्याणकारी समाज अध्यक्षसमेत रहेका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले गोल्यान ग्रुपलृ सहिदको सम्मानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया 4